राम र सीताको विवाह भएको जनकपुरमा ‘वैवाहिक पर्यटन’ विकास गर्न लगानी खोज्दै सरकार



काठमाडौं । राम र सीताको विहे भएको ठाउँ जनकपुरधाममा वैवाहिक पर्यटनको विकास गर्ने योजना अघि सारिएको छ ।

‘दि जानकी हेरिटेज होटेल एण्ड कल्चरल भिलेज’ प्रोजेक्ट नाम दिइएको उक्त आयोजना बनाउन अढाई अर्ब रुपैयाँ लाग्ने छ ।

राम र सीताको विवाह ऐतिहासिक महत्वको विवाह हो, त्यसैले जनकपुरमा विवाह पर्यटनको विकास गर्न यो आयोजना तयार पारिएको हो ।

विश्वभर नै विवाह पर्यटनको कारोबार बढिरहेको छ । भारतमा मात्रै प्रत्येक वर्ष १ खर्ब रुपैयाँ बराबरको विवाह पर्यटनको कारोबार हुन्छ ।

हिन्दू धर्म मान्नेहरु खासगरी भारतीयहरु राम र सीताको विवाह भएको ठाउँमा आएर विहे गर्न चाहन्छन् । जनकपुरमा विवाह गराउने स्तरीय र सुविधासम्पन्न होटेल बनाउने हो भने भारतीयहरुको ठूलो आकर्षण हुने बताइएको छ ।

नेपालको धर्म संस्कृतिलाई ब्राण्डिङ गर्दै पर्यटकलाई आकर्षित गर्नका लागि यस्तो आयोजनाको परिकल्पना गरिएको हो । आदिम युगमा भवगान राम र राजा जनककी छोरी सीताबीच जनकपुरको जानकी मन्दिर भएको ठाउँमा विवाह भएको धार्मिक मान्यता छ । त्यसैले जनकपुरलाई हिन्दु धर्मावलम्बीहरुले विवाहका लागि पवित्रस्थलको रुपमा लिने गरेका छन् । जनकपुरधाम र जानकी मन्दिर नेपालको महत्वपूर्ण सांस्कृतिक पर्यटकीय क्षेत्र पनि हो ।

नेपालमा हालसम्म साँस्कृति महत्व झल्किने म्यारिज डिस्टिनेशन पर्यटकीय गन्तव्य (गन्तव्य विवाह पर्यटन) क्षेत्र छैन ।

‘म्यारिज डिस्टिनेशन’ पर्यटकीय गन्तव्य क्षेत्रको माध्यमबाट स्वदेशी तथा विदेशी पाहुनाहरु भित्र्याएर उक्त स्थानमा मौलिक परम्परागत साँस्कृतिक धरोहरहरुको अनुभूति गराउनुका साथै कलात्मक वैवाहिक समारोहको सुविधासमेत उपलब्ध गराउने उद्देश्यले लगानी बोर्डले यो आयोजनालाई शोकेसमा राखेको छ ।

यहि बैशाख १६ र १७ काठमाडौंमा तेश्रो लगानी सम्मेलन हुँदैछ । तेश्रो सम्मेलनमार्फत सरकारले यो आयोजना सम्पन्न गर्न लगानीकर्ता खोजेको छ । यो आयोजना लगानी बोर्डले जानकीको जन्मस्थल प्रदेश २ को राजधानी जनकपुरमा निर्माण गर्ने योजना तयार पारेको छ ।

जनकपुरलाई विश्वभर रामजानकीको पवित्र ऐतिहासिक धार्मिक पर्यटनकीय क्षेत्रको रुपमा हेरिन्छ । । जनकपुर तिर्थाटनका लागि पनि प्रसिद्ध छ ।

बोर्डले ३.३ हेक्टर जग्गामा भौतिक पूर्वाधार निर्माण हुने प्रस्ताव गरेको छ । निर्माण हुने द जानकि हेरिटेज होटेल एन्ड कल्चर भिलेजमा परम्परागत वास्तुकला तथा संस्कृतिमा आधारित अत्याधुनिक विवाह स्थलहरु निर्माण गरिनेछ ।

यसमा लक्जरी होटल, पम्परागत स्थानीय सम्पदा र सांस्कृतिक महत्वका धरोहरसहितको गाउँको झलक दिने संग्रहालयका साथै आरामदायी र विलासी आवासको समेत व्यवस्था हुनेछ । १५० वटा हेरिटेज रुमको व्यवस्था गरिनेछ । यसमा मनोरञ्जन सुविधा, अतिथिलाई भोज खुवाउन छुट्टै भोज हल, पार्किङ सुविधा, साँस्कृतिक गाउँ र जातीय संग्रहालयसमेत रहने व्यवस्था गरिएको छ।

साथै संसारभर प्रसिद्ध मानिएका विभिन्न स्वादका खाना, खाजाका साथै स्थानीय परम्परागत र संस्कृति बोकेको खाना समेत उपलब्ध हुने योजनामा उल्लेख गरिएको छ ।

पाँच तारे होटेलले उपलब्ध गराउने विभिन्न सुविधाहरु स्पा, स्वीमिङ पुल, शपिङ सेन्टर, परम्परागत, सांस्कृतिक र आधुनिक नृत्य तथा संगितको व्यवस्था हुने योजनामा उल्लेख छ । यसका साथै रोमाँचक यात्रा र स्थानिय धार्मिक स्थलहरुको प्रत्यक्ष रुपमा अवलोकन गराउने व्यवस्था पनि यो योजनामा समावेश गरिएको छ ।

जनकपुर विमानस्थलबाट १.६ किलोमिटर दूरीमा रहने यो हेरिटेज भिलेज पब्लिक प्राइभेट पार्टनरशिप (पीपीपी) मोडेलमा निर्माण हुने लगानी बोर्डले अवधारणा पत्र तयार गरेको छ । यो योजनाको सन् २०२३ मा सम्भाव्यता अध्ययनसमेत भइसकेको छ। यो योजनाको लागि सरोकारवाला निकायको रुपमा बोर्ड, मधेश प्रदेश तथा जनकपुर उपमहानगरपालिकालाई तोकिएको छ।


क्लिकमान्डु