कतारी राजाको नेपाल भ्रमण: कतारसँगको श्रम सम्झौता पुनरावलोकन प्राथमिकतामा परेन



काठमाडौं । कतारको अमिर(राजा) शेख तमिम बिन हमाद अल थानी दुई दिने भ्रमणका लागि आज नेपाल आइपुगेका छन् । कतारी राजाको नेपाल भ्रमणका क्रममा विभिन्न क्षेत्रमा सहकार्य गरी अगाडि बढ्ने समझदारीपत्रहरुमा हस्ताक्षर हुने कार्यक्रम रहेको छ।

मन्त्रिपरिषद्को यही वैशाख ६ गतेको बैठकले अमिर शेख थानीको नेपालको राजकीय भ्रमण कार्यक्रम स्वीकृत गर्ने, कतारी पक्षसँग हुने वार्ताको नेतृत्व प्रधानमन्त्रीले गर्ने तथा विभिन्न द्विपक्षीय सम्झौताका लागि सहकार्यसम्बन्धी समझदारीपत्रलाई स्वीकृत गरेको थियो ।

कतारमा हाल झण्डै ४ लाख नेपाली कामदार विभिन्न क्षेत्रमा कार्यरत रहेकाले पनि कतारसँगको सम्झौतालाई चासोका साथ हेरिएको छ ।

सन् २००५ मार्च २१ मा नेपालले कतारसँग श्रम सम्झौता गरेको थियो । सन् २०२१ डिसेम्बर २ र ३ मा काठमाडौँमा सम्पन्न भएको दुई देशका श्रममन्त्रीस्तरीय संयुक्त कमिटीको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौतालाई पुनरावलोकन गर्ने सहमति जुटाएको थियो । तर हालसम्म उक्त सम्झौता पुनरावलोकन हुन सकेको छैन ।

कतारी अमिरको नेपाल भ्रमणका क्रममा नेपालसँगको श्रम सम्झौता पुनरवलोकन हुने अपेक्षा गरिएको भए पनि त्यो प्राथमिकतामा परेको छैन ।

नेपालले विगत लामो समयदेखि कतारसँग श्रम सम्झौता पुनरावलोकन गर्ने कार्यलाई जोड दिँदै आएको छ । तर कतारले श्रम सम्झौता पुनरावलोकन गर्ने कार्यलाई बेवास्ता गर्दै आएको छ । नेपालले पटक-पटक श्रम सम्झौता पुनरावलोकन गर्न आग्रह गरे पनि कतारले आनाकानी गर्दै आएका छन् ।

यसअघि संयुक्त अरब इमिरेट्स (युएई) मा भएको एक बैठकमा नेपालले कतारसँग श्रम सम्झौताको प्रस्ताव राखेको थियो । त्यसबेला कतारले राजा थानीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर हुने बताइएको थियो । तर श्रम सम्झौताको विषयमा कुनै छलफल नभएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

अमिर नेपाल आए पनि कतारले श्रम सम्झौता पुनरावलोकन गर्नेबारे जानकारी नदिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले परराष्ट्रमन्त्रालयमार्फत् श्रम सम्झौता पुनरावलोकन गर्न प्रस्ताव पेस गरेको थियो । तर हालसम्म कुनै जानकारी आउन नसकेको मन्त्रालयको भनाइ छ ।

सम्झौता भएको १९ वर्षसम्म पनि श्रम सम्झौता पुनरवलोकन हुन नसकेको हो ।

नेपालले कतारको श्रम सम्झौतामा श्रमिकको भर्ना शुल्कदेखि समयअनुसार पारिश्रमिक, सेवा सुविधा, बीमा, सामाजिक सुरक्षालगायत श्रमिकले पाउनुपर्ने सुविधा समेट्ने गरी व्यवस्था गर्न प्रस्ताव गर्दै आएको छ । नेपाल सरकारले श्रमिकले पाउनुपर्ने सुविधासहित पुनरावलोकन गर्नपर्ने जोड दिँदै आएपनि कतार सरकारले भने पुनरावलोकनमा चासो देखाएको छैन ।

कतारमा कार्यरत नेपाली कामदारको हकहितका लागि भ्रमणका क्रममा छलफल हुने तय भए पनि नयाँ सम्झौता गर्ने सम्बन्धमा भने अझै टुङ्गो लागिसकेको छैन । श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले श्रमसम्बन्धी विद्यमान सम्झौतामा परिमार्जन तथा संशोधनका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ ।

मन्त्रालयले नयाँ सम्झौता गर्ने विषयका सम्बन्धमा विवरणसहित सन्देश पठाएको तर हालसम्म कतारबाट औपचारिक प्रतिक्रियासहित जानकारी आइनसकेको जनाएको छ ।

नेपालको वैदेशिक रोजगारीमा ठूलो हिस्सा ओगटेको कतारमा गत आर्थिक वर्ष मात्रै १ लाख ३३ हजारले श्रम स्वीकृति लिई विदेशिएका थिए । वार्षिक लाखौंलाई रोजगारी दिँदै आएको कतारमा भने श्रमिकको सुरक्षाबारे विभिन्न संघसंस्थाले प्रश्न उठाउँदै आएका छन् । साथै श्रमिकको सुरक्षाको सम्बोधन कतारले नगरेको भन्दै आलोचनासमेत हुँदै आएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार नेपाल र कतारबीच युवा तथा खेलकुद क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र र शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा हुने सहकार्यसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।


क्लिकमान्डु