आयातले नधानेपछि १००० मेगावाट सोलारका आयोजनासँग पीपीए गर्दै प्राधिकरण, टेण्डर खोल्यो



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आयातित बिजुलीले हिउँदको माग पूरा गर्न सक्ने स्थिति नरहेपछि १००० मेगावाटका सोलारको आयोजनासँग बिजुली किन्ने भएको छ ।

प्राधिकरणले देशभरका १५० स्थानबाट सोलारका आयोजनाबाट बिजुली खरिद गर्न लागेको हो । बुधबार  प्राधिकरणले ठेक्का निकालेको छ ।

‘हामीले २२०० मेगावाटको सोलारका आयोजनासँग आवेदन मागेका छौं, ‘ नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले क्लिकमान्डुसँग भने, ‘त्यसमध्ये प्रतिस्पर्धा गरेर ८०० मेगावाट लिन्छौं । २० प्रतिशत बढाउन मिल्ने निर्णय भएको छ। सबै गरेर १००० मेगावाट खरिदको सम्झौता गर्छौं ।’

नेपालका अधिकांश जलविद्युत् आयोजनाहरु नदी प्रवाहमा आधारित छन् । जसको उत्पादन हिउँदमा ३० प्रतिशतभन्दा तल झर्छ । सोही कारण जडित क्षमता ३००० मेगावाट पुगेको भएपनि १५०० मेगावाटको माग पूरा गर्न भारतबाट ६०० मेगावाटसम्म आयात भइरहेको छ ।

भारतले प्रतिस्पर्धी दरबाट सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म ) मात्रै खरिद गर्न अनुमति दिएको छ । भारतले दिउँसो मात्रै बिजुली दिएपछि प्राधिकरणलाई  व्यवस्थापनमा हम्मे-हम्मे परेको छ । सोही कारण पीक आवरमा औद्योगिक क्षेत्रको लोड काटिदिएको छ ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ

प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले जलवायु परिवर्तनको असर जलविद्युत् क्षेत्रमा पर्न थालेको छ । केहि जलविद्युत आयोजनाहरु १० प्रतिशत क्षमतामा मात्रै चलेका छन् ।

‘अघिल्लो वर्ष उत्पादन धेरै घट्यो भन्ने लागेको थियो । यो वर्ष त झन् धेरै घट्यो,’ घिसिङले भने,’यसरी त भविष्यमा अझ समस्या हुन सक्छ । हामीले सोलारको हिस्सा बढाउन लागेका हौं । ‘

उनका अनुसार जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्नका लागि ७/८ वर्ष लाग्ने अवस्था छ । तर बिजुलीको माग अहिले नै पूरा गर्नुपर्ने अवस्था छ । सोलारका आयोजना निर्माण थाले १ देखि २ वर्षमा प्रणालीमा बिजुली आइपुग्छ । ‘दिउँसो हुने माग हामी सोलाबाट पुरा गर्छौ । बिहान साँझ हामी अर्ध जलाशय र जलाशययुक्त जलविद्युत आयोजना चलाउन सक्छौं,’ उनले भने ‘भारतबाट ल्याउनुभन्दा यहि बनाउने हो ।’

नेपालमा १०० मेगावाटको कुलेखानी बाहेक जलाशययुक्त जलविद्युत् आयोजना छैन । १४० मेगावाटको तनहु जलाशययुक्त जलविद्युत् आयोजना निर्माणाधीन अवस्था छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी अर्ध-जलाशयुक्त जलविद्युत् आयोजनामा समेत पानी सतह घटेर १५ मेगावाट उत्पादन भइरहेको छ ।  ऊर्जा सुरक्षाका लागि सम्झिश्रणमा परिवर्तन गरेर प्राधिकरणले सोलारको हिस्सा बढाउन लागेको हो ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको हेडवर्क्स एरिया

१००० मेगावाटभन्दा ठूलो क्षमताको जलाशययुक्त जलविद्युत् आयोजना निर्माण नभएसम्म नेपाल विद्युतमा आत्मनिर्भर हुन सक्दैन । यसकारण अझै नेपालले ७/८ वर्ष सुक्खायाँमको माग भारतबाट आयात गरेर व्यवस्थापन गर्नुपर्ने बाध्यता छ । भने बर्खामा सरप्लस हुने बिजुली भारतले किन्न मान्दैन । सोही कारण खेर फाल्नुपर्ने अवस्था छ । गएको वर्ष ५०० मेगावाट बिजुली खेर फाल्नुपर्ने अवस्था छ ।

प्राधिकरणले २५ वर्षसम्मका लागि सोलारका आयोजनासंग सम्झौता गर्ने तयारी छ । यसमा नेपाली कम्पनीहरु मात्रै सहभागी हुन पाउछन् । १० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरुले पीपीए भएको १८ महिनाभित्र उत्पादन गर्नुपर्छ । १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरुले पीपीए भएको २४ महिनाभित्र उत्पादन गर्नुपर्ने प्रावधान ठेक्कामा राखिएको छ ।

प्राधिकरणले २२० केभी,१३२ केभी र ३३ केभी प्रसारणलाइन वरिपरिबाट सोलारका आयोजनाको बिजुली खरिद गर्न लागेको हो। ऊर्जामन्त्री तथा प्राधिकरण सञ्चालक समितिका अध्यक्ष शक्तिबहादुर बस्नेतको संयोजकत्वमा बसेको ९६३औं बैठकले सोलारका आयोजनासंग पीपीए गर्ने निर्णय गरेको थियो ।

प्राधिकरणले अहिले सोलारका आयोजनाका लागि ५.९४ रुपैयाँ प्रतियुनिट दर तोकेको छ । यो दरमा प्रतिस्पर्धा गरेर खरिद गरिरहेको छ । १७५ आयोजनाबाट १०६ मेगावाट बिजुली किनिरहेको छ ।


दिनेश खड्का