एक महिनापछि सुचारु भयो नागढुङ्गा सुरुङ्गमार्गको काम, स्थानीयका माग बजेटमार्फत सम्बोधन गरिने

एक महिना काम बन्द रहँदा ३० करोडको क्षति, ठेकेदार कम्पनीले क्षतिपूर्ति माग्न सक्ने



काठमाडौं । पछिल्लो एक महिनादेखि निर्माण कार्य अवरुद्ध रहेको नागढुङ्गा सुरुङ्गमार्गको काम मंगलबार बिहानदेखि सुचारु भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशबकुमार शर्माका अनुसार सोमबार उपप्रधान तथा विभागीय मन्त्री रघुवीर महासेठको अध्यक्षतामा बैठक बसेको थियो ।

बैठकमा आन्दोलनकारी स्थानीयबासीलाई पनि सहभागी गराइएको थियो । बैठकमा स्थानीयबासीहरुले उठाएका मागहरुको बारेमा मन्त्री महासेठले सम्बोधन गर्ने मौखिक सहमति जनाएपछि स्थानीयले तत्कालको लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।

स्थानीयले तत्कालका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि मंगलबार बिहानदेखि नै सुरुङ्गमार्गको निर्माण कार्य सुचारु भएको सचिव शर्माले जानकारी दिए ।

‘स्थानीयले उठाएका जायज मागहरु दुई महिनाभित्र सम्बोधन गर्ने सहमति जनाएपछि उनीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्,’ सचिव शर्माले क्लिकमाण्डुलाई भने, ‘आन्दोलनका कार्यक्रम फिर्ता भएपछि मंगलबार बिहानदेखि नै पूर्ववत् रुपमा निर्माणको कार्य सुचारु भएको छ ।’

उनका अनुसार सुरुङ्गमार्गका निर्माणका कारण स्थानीयको घरसमेत चर्केकाले उक्त चर्केको घरको बिषयमा समेत अध्ययन गर्ने काम भइरहेको छ । घर चर्केको प्रतिवेदन आइसकेपछि स्थानीयले उठाएको मागहरु सम्बोधन गर्न सहज हुने सचिव शर्माले जानकारी दिए ।

नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनाका प्रमुख नविनमान श्रेष्ठका अनुसार स्थानीयले उठाएका मागहरुमध्ये सम्बोधन गर्न सकिने बिषयको बारेमा अध्ययन गरि बजेट अगावै मन्त्रालयलाई सिफारिश गर्ने सहमति भएको छ ।

‘स्थानीयले उठाएका मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि उहाँहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि मंगलबारदेखि सुरुङ्गमार्गको निर्माण कार्य सुचारु गरेका छौं,’ श्रेष्ठले भने ।

स्रोतका अनुसार मन्त्रालयको सीमाभन्दा बाहिरको मागको बिषयमा लिखित रुपमा मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराइनेछ ।

‘प्रधानमन्त्री तहबाटै त्यस्ता माग सम्बोधनका लागि आगामी बर्षको बजेट तथा कार्यक्रममा समावेश गराइने आन्तरिक तयारी भएको छ,’ स्रोतले भन्यो ।

स्थानीय बासिन्दाले सुरुङ्गमार्ग निर्माण क्षेत्रमा असर परेकाले उक्त क्षेत्रलाई प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने, डिप बोरिङ्गसहितको पर्याप्त परिमाणमा खानेपानीको व्यवस्था गर्नुपर्ने, खेतीयोग्य जमिनमा सिंचाईको व्यवस्था गर्नुपर्ने, चर्केका घरहरुको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग अघि सारेका छन् ।

यस्तै सुरुङ्गमार्ग माथिको जमिनको उचित सम्बोधन गर्नुपर्ने र प्रभावित क्षेत्रको बासिन्दालाई रोजगारीे सुनिश्चितता गर्नुपर्नेलगायतका माग राखेर गत फागुन ६ गतेदेखि निर्माण स्थल अवरुद्ध गरी चरणवद्ध आन्दोलन गरिरहेका थिए । यो आन्दोलनका कारण एक महिनादेखि सुरुङ्गमार्गको सम्पूर्ण काम अवरुद्ध भएको थियो ।

स्थानीयले नागढुङ्गा सिस्नेखोला सुरुङ्ग मार्ग प्रभावित खानेपानी उपभोक्ता समिति गठन गरि आन्दोलन गर्दै आएका थिए ।
स्थानीयको आन्दोलनका कारण फागुन २३ गते गर्ने भनिएको सुरुङ्गमार्गको अन्तिम ‘ब्रेक थ्रु’ पनि रोकिएको थियो । कूल २ हजार ६ सय ८८ मिटरको मूल सुरुङ्ग मार्गमध्ये हालसम्म २ हजार ६ सय ७४ मिटर खन्ने काम सम्पन्न भइसकेको थियो ।

फागुन २२ गतेभित्रमा खन्न बाँकी रहेको जम्मा १४ मिटर खनेर २३ गते ब्रेक थ्रु गर्ने लक्ष्य निर्धारण गरिएको थियो । स्थानीयको आन्दोलनका कारण १४ मिटर खन्ने काम अवरुद्ध भएपछि उक्त निर्धारित मितिमा बे्रेक थु्र हुन सकेन् ।

सन् २०१९ सेप्टेम्वर २३ मा जापानको हाजमा एण्डो कर्पोरेशनसँग भएको सम्झौताअनुसार निर्माण सुरु भएको ४२ महिनामा यसको निर्माण सम्पन्न हुनुपर्ने थियो ।

त्रिभुवन राजमार्गको धादिङ्गको सिस्ने खोलादेखि सुरु भएको उक्त सुरुङ्गमार्ग काठमाडौंको चन्द्रागिरी वडा नम्बर २ को किसिपिडिसम्म अवस्थित छ ।

सुरुङ्ग खन्ने क्रममा स्थानीय बासिन्दाको घरहरु चर्किएको छ । स्टोटलमाथि खाल्डो सिंक होलसमेत भएको छ । सुरुङ्गमार्ग खन्ने क्रममा स्थानीय बासिन्दाको घर चर्केकाले प्रभावित भएका घर, कृषि योग्य जग्गा, पानीको श्रोत सुकेको र सिंचाई सुविधासमेत बन्द हुँदा स्थानीयको कृषि कर्म पनि रोकिएको छ ।

हालसम्म ९३ वटा घर चर्केको अवस्थामा भेटिएका छन् । थप केही संख्यामा पनि घरहरु चर्केका छन् ।

यस्ता बिषयमा अहिले परामर्शदाताको सहयोगमा जिओ टेक्नीकल्ली स्टडीसमेत सुरु भइसकेको बताउँदै आयोजनाका उपनिर्देशक दुमरुले भने, ‘यो अध्ययन सकेपछि कुन क्षेत्रमा के कस्तो आर्थिक प्रभाव परेको छ भनेर यकिन जानकारी प्राप्त हुन्छ, अहिले नै यसै के कस्तो प्रभाव पारेको छ भनेर भन्न सक्ने अवस्था छैन् ।’

यो अध्ययनको प्रतिवेदन आउन अझै २ महिना लाग्ने आयोजनाले जनाएको छ । सुरुङ्गमार्ग खनिएको स्थान वरिपरी घर बनाएर बस्न लायक छ वा छैन भनेर पनि अध्ययन भइरहेको छ ।

आयोजनाका अनुसार सन् २०१६ मा जापान सरकारसँग १६ अर्ब ८ करोड रुपैयाँ ऋण सहयोग लिएर सरकारले यो आयोजना सुरु भएको थियो । यसको कूल लागत भने २२ अर्ब छ । अहिलेसम्म मुआब्जामा ६ अर्ब रुपैयाँ रुपैयाँ खर्च भइसकेको आयोजनाले जनाएको छ ।

आयोजनाले माघसम्ममा ७२ प्रतिशत भौतिक प्रगति र ६५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । विभिन्न अवरोधका कारण म्याद थपपछि अहिले निर्माण सम्पन्न गर्ने अवधी २०२४ अप्रिल २५ तारिख तोकिएको छ ।

प्रतिदिन १ करोडका दरले ३० करोड क्षतिपूर्तिको क्लेम

स्थानीयको अवरोधका कारण गत फागुनदेखि चैत ५ गते गरी एक महिना पूर्ण रुपमा काम अवरुद्ध हुँदा ठेकेदार कम्पनी जापानको हाजमा एण्डो कर्पोरेशनले दैनिक १ करोड रुपैयाँबराबरको क्षति व्यहोर्नुपरेको बताउँदै नागढुङ्गा सुरुङ्गमार्ग निर्माण आयोजनामा एक महिनाबराबरको ३० करोड रुपैयाँ हाराहारीमा क्षतिपूर्तिको लागि क्लेम गर्न सक्ने पत्र पठाएको छ ।

‘स्थानीयको आन्दोलनका कारण निर्माण कार्य प्रभावित हुँदा ठेकेदार कम्पनीले पत्र नै पठाएर दैनिक १ करोड रुपैयाँबराबरको क्षति भएको उल्लेख गरेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘दैनिक एक करोड रुपैयाँको दरले अवरुद्ध भएको अवधीसम्मको रकम क्षतिपूर्तिका लागि क्लेम गर्न सक्ने आशयसहितको पत्र पठाएको छ ।’

अब कहिले अन्तिम ‘ब्रेक थ्रु’ ?

मंगलबार बिहानदेखि सुरुङ्गमार्गको काम सुचारु भएपनि अन्तिम ब्रेक थु्र कहिले गर्ने बिषयमा अहिले कुनै टुङ्गो लागेको छैन ।
स्थानीयले उठाएका माग राज्यपक्षबाट भरपर्दो तबरबाट सम्बोधन नभएकाले पुनः स्थानीयबासीले कुनै पनि बहानामा आन्दोलन गर्न सक्ने भएकाले तत्कालका लागि ब्रेक थु्रको अवधी तोकिएको छैन ।

‘अहिलेसम्म हामी हाम्रो मन्त्रालयमार्फत मात्रै उनीहरुको माग सम्बोधन गर्न भनेका छौं, धेरै मागहरु हाम्रो सीमाभन्दा बाहिरका छन् । ती मागहरु हामीले चाहेर पनि पूरा गर्न सक्ने अवस्थामा हामी छैनौं,’ मन्त्रालय स्रोतले भन्यो, ‘तत्कालका लागि मन्त्रीज्युको आश्वासनमा उनीहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएपनि भरपर्दो रुपमा माग सम्बोधन नभएकाले फेरी उनीहरु आन्दोलन गर्न सक्ने आशंका पनि उव्जिएको छ । त्यहि भएर अहिलेलाई अन्तिम ब्रेक थु्रको अवधी तोकिएको छैन । अहिले जसरी पनि दु्रतगतिमा काम गर्ने हो ।’

मन्त्रालय स्रोतका कारण काम सकेपछि मात्रै ब्रेक थ्रु (वारपार छेड्ने) को अवधी तोकिने तयारी आन्तरिक रुपमा भएको छ ।

अब कति काम गर्न बाँकी ?

आयोजनाका उपनिर्देशक गोविन्द दुुमरुका अनुसार स्थानीयको आन्दोलनका कारण अन्तिम सुरुङ्गमार्गको १४ मिटर सुरुङ्ग खन्ने काम बाँकी छ ।

त्यो बाहेक सुरुङ्गमार्गसँगै ३ सय मिटरमा गर्ने भनिएको लाइनिङ्ग कंक्रिट फिनिसिङ्ग, फ्लाई ओभरको निर्माण, सडक कालोपत्रे, पश्चिमतर्फ रहेको ल्याण्ड स्लाइड नियन्त्रण, भेन्टिलेसन, नली, बाटो, बत्तीलगायतका सम्पूर्ण काम अवरुद्ध भएको थियो ।

हालसम्म सुरुङ्गमार्ग अन्तर्गत आपतकालीन उद्दारमा प्रयोग हुने २ हजार ५ सय ५७ मिटर लामो सहायक सुरुङ्गमार्ग (इभाक्युसन टनेल) को सन् २०२३ को अगस्त ७ तारिखमा ब्रेक थ्रु गर्ने काम सम्पन्न भइसकेको छ ।

यो संँगै वर्किङ्ग अडिट, क्रस प्यासेजको काम सतप्रतिशत सम्पन्न भइसकेको छ । यस्तै लक्ष्यअनुसार ३ वटा अन्डरपास, ४ वटा वक्स कल्भर्ट, १ ओभरपास, ३ ब्रीजको निर्माण सम्पन्न भइसकेको छ ।

एउटा रहेको फ्लाईओभरको काम निर्माणको क्रममा छ । यस्तैे लाइनिङ्ग कंक्रिट फिनिसिङ्गको काम फागुन २३ गतेसम्म ३ सय ४० मिटर सम्पन्न हुनुपर्ने थियो । दैनिक २० मिटरका दरले १७ दिनमा यो परिमाण हाराहारीमा उक्त लाइनिङ्ग कंक्रिट फिनिसिङ्गको काम सम्पन्न हुनुपर्ने थियो ।

तर आन्दोलनका कारण ती काम पनि अलपत्र परेको थियो । समयमै सुरुङ्गमार्गको अन्तिम ब्रेक थ्रु हुन नपाउँदा अब यस्ता काम सम्पन्न गर्नका लागि अतिरिक्त ८–९ महिना जति लाग्ने आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार धुनिवेशी नगरपालिकातर्फ पश्चिमतर्फ ठूलो ल्याण्ड स्लाइड (पहिरो) को जोखिम छ । यो समस्या बर्षायाम अगावै समाधान गर्नुपर्ने थियो । तर आन्दोलनका कारण यो काम पनि अवरुद्ध भएको छ ।

२ हजार ६ सय ८८ मिटर लम्बाईको यो सुरुङ्गमार्ग ३.५ मिटर चौडाई भएको दुई लेनको निर्माण भइरहेको छ । यो मार्गमा आपतकालिन उद्दार प्रणाली समेत निर्माण हुनेछ ।


राजेश बर्मा