४० लाख प्रयोगकर्ता जोडिदासमेत नागरिक एपको प्रयोग प्रभावकारी भएन, सीमित सेवामा भुल्दै सरकार



सरकारले लाइनलाई अनलाइन बनाउन र सबै सरकारी सेवा प्रविधिको माध्यमबाटै सहजै दिने उद्देश्यले तीन वर्ष अगाडि नागरिक एपको सुरु गरेको भएपनि अहिलेसम्म यसलाई प्रभावकारि ढंगले प्रयोगमा ल्याउन सरकारले नै जोड दिन सकेको छैन ।

काठमाडौं । प्रविधिको प्रयोगसँगै लाइनमा नबसी अनलाइनबाटै सबै सरकारी सेवा सहजै दिने उद्देश्यले तीन वर्ष अगाडि सुरु भएको ‘नागरिक एप’को सेवा अझै अधुरै छन । आम नागरिकले कार्यालय खोज्दै धाउनुपर्ने अवस्थालाई हटाउने र प्रविधिको प्रयोग गर्दै घर तथा कार्यालयबाटै सरकारी सेवा लिन सकिने गरी ०७७ माघ २ गते नागरिक एपको शुभारम्भ भएको थियो ।

सरकारले नागरिक एपमा स्थायी लेखा नम्बर (प्यान), शैक्षिक विवरण, नागरिक लगानी कोष, संचय कोष, सामाजिक सुरक्षा कोष, नागरिकता, राहदानी, मदताता परिचयपत्रको विवरण हेर्न र हेलो सरकारमा गुनासो गर्ने प्रणाली राखेर यसको शुभारम्भ गरेको थियो ।

सुरुमा ९ वटा सेवा दिएरको उक्त एपमा ६ महिनाभित्रै १०० वटा सेवा दिने र दुई वर्षभित्रै प्रभावकारी कार्यान्वयनमा जाने घोषणा सरकारले गरेको थियो । तर, ३ वर्ष पूरा भइसक्दासमेत नागरिक एपको प्रभावकारी उपयोग हुन सकेको छैन । यसमा सिमित सेवा हेर्न र केहीको मात्रै उपयोग भएको छ ।

नागरिक एपमा जोडिएका सेवा प्रभावकारी हुन नसकेको, आम जनताले दैनिक सरकारी सेवाका लागि सम्बन्धित कार्यालय नै धाउनुपर्ने अवस्थालाई नागरिक एपले सम्बोधन गर्न नसक्दा यसले उद्देश्य अनुसार प्रभावकारी सेवा दिन सकेको छैन । सरकारले नागरिक एपको पहुँच बढाउने घोषणा पछिल्लो तीन वर्षदेखि नियमित रुपमा आर्थिक ऐनबाटै गर्दै आएको छ ।

सरकार परिवर्तन भइरहेको पूर्ववर्ती सरकारले ल्याएको कार्यक्रमलाई नयाँ सरकारले आत्मसाथ नगरेको र सरकारी निकायबीचमै समन्वय अभावका कारण नागरिक एपको प्रभावकारिता नदेखिएको सञ्चार मन्त्रालयकै एक उच्च अधिकारीको भनाइ छ । उनका अनुसार जुन उद्देश्यले यो सेवा आएको थियो त्यो अनुसार काम भएको पाइएन् । जति सेवा र सुविधा छन ति सबै सुस्त अवस्थामा हुनुले पनि यसमा जोडिएकै सरकारी सेवाको प्रभावकारिता अपेक्षा अनुसार हुन नसेको हो ।

९ वटा सेवा दिएरको उक्त एपमा ६ महिनाभित्रै १०० वटा सेवा दिने र दुई वर्षभित्रै प्रभावकारी कार्यान्वयनमा जाने घोषणा सरकारले गरेको थियो । तर, ३ वर्ष पूरा भइसक्दासमेत नागरिक एपको प्रभावकारी उपयोग हुन सकेको छैन ।

सरकारले डिजिटल नेपाल फेमवर्क निर्माणका लागि सरकारी निकायको एप बनाउने काम अन्तर्गत नागरिक एप जोडिएको छ । नागरिक एपले दिने सेवालार्ई पनि डिजिटल नेपालकै एउटा अंग भएकोले यसको सेवा प्रभावकारी बनाउन हरतरहले प्रयास भइरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले बताए ।

उनले भने ‘इन्टरनेटको प्रयोगबाट हुने यो सेवाको प्रभावकारितासँग सरकारी सेवा भएकोले विभिन्न सरकारी निकायबाटै यसको कार्यान्वयमा जोड दिनुपर्ने हुन्छ ।’ यसैका लागि नागरिक एपमा सबै सरकारी सेवा  जोड्न काम भइरहेको पनि सुवेदीको भनाइ छ ।

२ लाखले प्यान सेवाग्राहीलाई प्यान दिन सफल

नागरिक एपबाट हालसम्म २ लाख नेपालीले घरमै बसेर प्यान नम्बर लिएको सरकारी निकायको दाबी छ । मोबाइल चलाएकै भरमा र कही कतै नगइ सहजै प्यान नम्बर लिने सुविधा नागरिक एपबाटै सुरु भएको उल्लेख गरिएको छ ।

‘नागरिक एप’ राष्ट्रिय सूचना प्रविधि केन्द्र मातहत रहेको र सोही कार्यालयले अन्तरसरकारी निकायमा समन्वय गरिरहेको छ । सरकारले हालसम्म नागरिक एपमा २६ आइकन देखिने बनाएको छ । विभिन्न ३० वटा सरकारी निकाय जोडिएको यो सेवाबाट ६२ प्रकारका सूचना र सेवा लिन सकिने व्यवस्था भइसकेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी प्रविन चौहानले बताए । 

चौहानले क्लिकमाण्डुसँग भने ‘हालसम्म ४० लाख ५० हजार प्रयोगकर्ता नागरिक एपमा जोडिएका छन । यसमध्ये प्रमाणित भएका प्रयोगकर्ता १५ लाख पुगेका छन ।’ उनले थपे घरमै बसेर बाहिर नगइ २ लाखले प्याननम्बर लिइसकेका छन् ।

विभिन्न ६ वटा बैंकका खाता खोल्न मिल्छ । नागरिक एपकै प्रयोग गरेर हालसम्म २० हजार नेपालीले बैंक खाता खोलिसकेका छन । कोभिड खोपको नागरिक एपबाटै आवदेन दिएर १ लाख १५ हजारले क्यूआर सर्टिफिकेट लिइसकेको पनि उनले बताए ।

नागरिक एपमा २६ आइकन देखिने बनाएको छ । विभिन्न ३० वटा सरकारी निकाय जोडिएको यो सेवाबाट ६२ प्रकारका सूचना र सेवा लिन सकिने व्यवस्था भइसकेको

वैदेशिक अध्ययन अनुमतिकको एनओ ७ हजारले लिएका छन भने एपबाटै लोकसेवाको फर्म भर्न सकिने सुविधा दिइएको पनि चौहानले बताए ।

पछिल्लो समय नागरिक एपबाट नयाँ सेवा लिने, भएकै सेवाबाट सुविधा प्रयोग गर्ने प्रयोगकर्ता बढीरहेका छन । पछिल्लो समय नागरिक एपबाट सामान्य अवस्थामा ड्राइभिङ लाइसेन्स ट्राफिक प्रहरीलाई देखाउन मिल्ने भएको छ । कसैले गल्ती गरेको र ट्राफिक कारवाही हुने अवस्थामा भने लाइसेन्स नै चाहिन्छ । निकट भविष्यमै ट्राफिक जरीवाना नागरिक एपबाटै तिर्ने सुविधा दिने तयारी भइरहेको पनि उनले बताए ।

कर्मचारी सञ्चक कोष, सामाजिक सुरक्षा कोष, मालतपोतको विवरण हेर्न मिल्ने, स्वास्थ्य बीमा नवीकरण गर्न मिल्ने, ब्ल्युबुक नवीकरण गर्न मिल्छ भने प्रहरी रिपोर्ट बनाउने सुविधा नागरिक एपले दिन थालिसकिएको छ । यी सेवा र सुविधासँगै एपलाई थप आकर्षित बनाउने काम भइरहेको चौहानको भनाइ छ ।

कुनै पनि नागरिकले नागरिकता, मतादाता परिचय वा राहदानीबाट नागरिक एपमा जोडिन सक्छन् । सरकारले नागरिक एपलाई बाध्यकारी बनाउने र अन्तरनिकायको समन्वयलाई बढाउपर्ने हुन्छ ।

एकपछि अर्को सरकारी निकाय, सेवाग्राहीको रुची बढी भएका क्षेत्र र सूचना प्रविधिलाई आत्साथ गर्दै बढीभन्दा बढी प्रभावकारि बनाउने गरी नागरिक एपलाई जोड्ने काम सरकारको प्राथमिकतामै रहेको बुझाइ पनि राष्ट्रिय प्रविधि केन्द्रका सूचना अधिकारी चौहानको छ ।

सरकारी निकायको सिस्टमामा अपग्रेड गर्दै जानुपर्ने भएकोले अपेक्षा अनुसार समयमा नै नागरिक एपको प्रयोग बढाउन नसकिएको उनले स्वीकार गरे ।


राजु बास्कोटा