कांग्रेस-माओवादीभन्दा राप्रपा र एकीकृत समाजवादीको कमाइ धेरै, एमाले र रास्वपाको कति ?



काठमाडौं । देशमा आर्थिक संकुचन भए पनि नेपालका नयाँ तथा पुराना सबै राजनीतिक दलको वार्षिक आम्दानी राम्रै छ । राजनीतिक दल कुनै उद्योग, व्यवसाय त होइन तर करोडौंमा आम्दानी कसरी हुन्छ ?

राजनीतिक दलको लेखापरीक्षण प्रतिवेदन हेर्दा पार्टी सदस्यता शुल्क, प्रकाशन बिक्री, सदस्यता नवीकरण, लेबी, चन्दा सहयोग बाहेक अन्य आम्दानी पनि राम्रै हुने गरेको देखिन्छ । त्यसबाहेक केही दलको आम्दानी हेर्दा अन्य शीर्षकमा राम्रो आम्दानी भएको देखिए पनि अन्य शीर्षकमा के के पर्छ भनेर कसैले पनि लेखा परीक्षण प्रतिवेदनमा कतै पनि उल्लेख गरेका छैनन् । यस्तै, केहि राजनीतिक दलले आफनो आम्दानीमा अनुदान पनि देखाएका छन् ।

राजनीतिक दलको आम्दानी पारदर्शी हुनुपर्छ । अन्यथा यसले भ्रष्टाचारको मलजलमा पार्टीको योगदान हुनसक्ने आंकलनलाई थप बलियो बनाउँछ ।

प्रमुख दलभन्दा राप्रपा र नयाँ दलको कमाइ धेरै

संसदका ठूला दल नेपाली कांग्रेस, माओवादी केन्द्रभन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र पछिल्लो समय खुलेका राजनीतिक दलहरुको कमाइ धेरै देखिएको पार्टीहरुको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राजावादी पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) को कमाइ गत आर्थिक वर्षमा अन्य राजनीतिक दलहरुको भन्दा धेरै देखिएको छ।

राप्रपाले गत आर्थिक वर्षमा ८ करोड ४९ लाख ६९ हजार ५२७ रुपैयाँ आम्दानी गरेको छ । त्यसमा पार्टी सदस्यता, नवीकरण तथा चन्दा बढी रहेको छ । यस्तै नगदै सहयोग पनि रहेको छ । पार्टीमा नेता पशुपति शमशेर जबराले नै ४८ लाख रुपैयाँ सहयोग गरेका छन् ।

दोस्रो धेरै कमाइ गर्ने पार्टीमा सत्तारुढ दल एकीकृत समाजवादी रहेको छ । नेकपा (एकीकृत समाजवादी) पार्टीले आव २०७९/०८० मा ८ करोड ४ लाख ५६ हजार ७ सय ९ आम्दानी गरेको छ । पार्टीको प्रमुख आयमा सदस्यता, लेबी, चन्दा, प्रकाशन बिक्रीबाट प्राप्त रकम रहेको लेखा प्रतिवेदन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

एकीकृत समाजवादीका लेखा समिति प्रमुख सोमप्रसाद पाण्डेले चुनावी आर्थिक वर्ष भएकोले त्यस समयमा पार्टीलाई प्राप्त भएको चन्दा सहयोग लगायतका कारणले आम्दानी धेरै देखिएको बताए । आम्दानी धेरै भए पनि चुनावी खर्च/प्रकाशन लगायतका कारणले वचत भने न्यून रहेको उनले बताए ।

तेस्रो धेरै कमाइ गर्नेमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । गत आवमा राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) ले ६ करोड ५० लाख १७ हजार ७८ रुपैयाँ आम्दानी गरेको छ ।

पार्टीको आम्दानीको प्रमुख स्रोत सदस्यता, लेबी, नवीकरण शुल्क नै रहेको छ । रास्वपाले लेबी सदस्यता र नवीकरण शुल्क बापत ४ करोड ६२ लाख ३१ हजार ९९३ रुपैयाँ आम्दानी गरेको छ । यस्तै विभिन्न संस्थाले १ करोड ८६ लाख २५ हजार ८३५ रुपैयाँ, प्रकाशन बिक्री गरेर ५८ हजार ९९० रुपैयाँ, अनुदान बापत ७७ हजार ८१० रुपैयाँ र सानातिना विविध आय २२ हजार ४५० रुपैयाँ आम्दानी रास्वपाको रहेको छ ।

कांग्रेसकै हाराहारीमा माओवादीको कमाइ, एमालेको कति?

ठूला दलहरुको वार्षिक आम्दानी राम्रो रहेको छ । तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र मध्ये एमालेले सबैभन्दा धेरै आम्दानी गरेको छ । देशमा रहेका पार्टीहरुमा सबैभन्दा धेरै आम्दानी गर्नेमा एमाले रहँदा देशकै ठूलो दलको हाराहारीमा तेस्रो दल नेकपा माओवादी केन्द्रको कमाइ रहेको ति दलहरुको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ ।

तीन ठूला दलमध्ये एमालेको आम्दानी धेरै रहेको छ । एमाले गत आर्थिक वर्षमा ८ करोड ९७ लाख २२ हजार ६५ रुपैयाँ आम्दानी गरेको छ । पार्टीको आम्दानीको मुख्य स्रोत विशेष आर्थिक सहयोग रहेको छ । विशेष आर्थिक सहयोग भनेको के भनेर नखुलाए पनि विशेष चन्दा भन्ने अनुमान गर्न सकिन्छ । पार्टीहरुले प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका जनप्रतिनिधिसँग मासिक रुपमा लेबी लिने गरेका छन् ।

एमालेले गत आवमा ५ करोड ६ लाख ६८ हजार १७८ रुपैयाँ विशेष आर्थिक सहयोग पाएको थियो । यस्तै एमालेले लेबी बापत १ करोड ३७ लाख २२ हजार ८६९ रुपैयाँ, सदस्यता शुल्क बापत १ करोड २१ लाख १६ हजार ४१८ रुपैयाँ, प्रकाशन बिक्री गरेर २ लाख ३८ हजार ७०० रुपैयाँ, सम्पत्ति परिचालन गरेर ९३ लाख ८० हजार ७९३ रुपैयाँ, अन्य आम्दानी ३५ लाख ९५ हजार १०७ रुपैयाँ रहेको छ ।

तर, कांग्रेसको भने आम्दानी भन्दा धेरै खर्च रहेको उल्लेख गरिएको छ । अहिले सत्तामा रहेको नेपाली कांग्रेसले आर्थिक वर्ष २०७९/०८० मा ३ करोड ६४ लाख ७६ हजार २ सय ९७ रुपैयाँ आम्दानी गरेको लेखा परीक्षणमा देखिन्छ ।

सदस्यता, लेभी र नवीकरण शुल्क वापत ५७ लाख ६० हजार ८ सय रुपैयाँ, चन्दा तथा सहयोग वापत २ करोड ६५ लाख ६४ हजार ५ सय ७७ रुपैयाँ, प्रकाशन बिक्रीबाट ९४ हजार ६५० रुपैयाँ, लिलाम बिक्री बापत २ लाख २५ हजार रुपैयाँ र व्याज आम्दानी बापत ३८ लाख ३१ हजार २ सय ७० रुपैयाँ आम्दानी गरेको कांग्रेसको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।

पार्टीको महाधिवेशन, महासमिति बैठक, स्थानीय निकाय तथा प्रतिनिधि सभाको चुनावमा लाग्ने खर्चको लागि विभिन्न व्यक्ति, निकाय, नेपाली जनसम्पर्क समिति तथा पार्टीका शुभेच्छुकहरुद्वारा स्वतस्फुर्त रुपमा चन्दा सहयोग हुँदै आएको प्रतिवेदनमा जनाइएको छ ।

तर, नेपाली कांग्रेसको गत साता भएको महासमितिको बैठकमा केन्द्रीय लेखा समिति संयोजक श्यामकुमार घिमिरेद्वारा प्रस्तुत प्रतिवेदनअनुसार पार्टीको आम्दानीभन्दा खर्च धेरै छ ।

आर्थिक वर्ष २०७९/८० मा ३ करोड ६४ लाख ७६ हजार १९७ आम्दानी हुँदा ७ करोड ९९ लाख ९५ हजार १२१ खर्च भएको घिमिरेद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

नेपाली कांग्रेस यस अघिको आर्थिक वर्षमा पनि घाटामा रहेको देखिन्छ । किनकि आर्थिक वर्ष २०७८/७९ मा पार्टीको १४ करोड ८९ लाख ९४ हजार ८७ आम्दानी हुँदा १७ करोड ९० लाख ७८ हजार २२२ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

मुख्यतः सदस्यता नवीकरण, लेवी शुल्क र चन्दा सहयोग नै प्रमुख आम्दानी भएकोमा नेपाली कांग्रेसलाई प्राप्त हुने चन्दा घटेको देखिन्छ ।

प्रतिवेदन अनुसार २०७८/७९ मा ६ करोड ६८ लाख २४ हजार चन्दा सहयोग भएकोमा आर्थिक वर्ष २०७९/८० मा घटेर २ करोड ६५ लाख ६४ हजार ५७७ चन्दा मात्रै संकलन भएको छ ।

यसैगरि, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आम्दानी ३ करोड ४८ लाख ४४ हजार ८४३ रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ९ करोड १ लाख ३६ हजार ६४ रुपैयाँ रहेको थियो ।

माओवादीले पनि पार्टी सदस्यता वितरण गरेर, लेभी र सदस्यता नवीकरण गरेर ३ करोड ४३ लाख ८५ हजार ३०४ रुपैयाँ आम्दानी गरेको छ भने विभिन्न संस्थाहरुले १० हजार, प्रकाशन बिक्री गरेर २ लाख ९९ हजार ६८० रुपैयाँ, बैंकमा राखेको पैसाबाट १ लाख ४९ हजार ८५९ रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

यस्तै, जनता समाजवादी पार्टीको आय असार मसान्तसम्म ६२ लाख १६ हजार ७७९ रुपैयाँ रहेको छ । पार्टीले सदस्यता शुल्क र सदस्यता नवीकरण गरेर ६५ हजार ५००, मासिक लेबीबापत १३ लाख ३७ हजार ५००, कार्यगत लेबीबापत १९ लाख ९५ हजार र पार्टी प्रवेश शुल्क तथा अन्य सदस्यता शुल्क बापत ८ लाख १ हजार २०० रुपैयाँ आम्दानी गरेको छ ।

जनता समाजवादीले अन्य शीर्षकमा १७ लाख २७ हजार ८५५ रुपैयाँ, क्यान्टिन भाडाबापत १ लाख ८० हजार र बैंक ब्याज बापत १ लाख ९ हजार ७२४ रुपैयाँ आय गरेको छ । पार्टीले अनुदान भने पाएको छैन ।


क्लिकमान्डु