बैंक तथा वित्तीय संस्था डुब्दै छन् भन्ने निराधार हल्ला



नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र लिएर बैंक तथा वित्तीय संस्थाहरुको जन्म हुन्छ । नेपाल राष्ट्र बैंकले इजाजतपत्र ४ प्रकारमा वर्ग विभाजन गरेको छ ।

‘क’ वर्गमा वाणिज्य बैंकहरु, ‘ख’ वर्गमा विकास बैंकहरु, ‘ग’ वर्गमा वित्त कम्पनी र ‘घ’ वर्गमा लघु वित्त विकास बैंक गरी विभाजन गरेको छ ।

यी चारै वर्गका आ-आफ्नै नियामक निकायहरु छन् । ती निकायहरुले नियमित रुपमा निरीक्षण गरेका हुन्छन् । नेपाल राष्ट्र बैंकले दिएका नीति नियम र निर्देशनहरुभित्र बैंक तथा वित्तीय संस्थाहरु रहनुपर्ने हुन्छ ।

यदि नीति नियमभन्दा बाहिर गएर बैंक तथा वित्तीय संस्था चलेको खण्डमा सम्बन्धित संस्थालाई सचेत गराउने र कारबाही गर्ने कार्य हुन्छ । नियामक संस्थाले सुक्ष्म रुपमा निगरानी राखेको हुन्छ ।

नेपाल राष्ट्र बैंकले दिएको नीति नियमभित्र बसेर त्रैमासिक रुपमा वित्तीय विवरणहरु सार्वजनिक गर्दै आएका छन् । बैंकिङ क्षेत्र पारदर्शी मात्र नभएर सुपरीवेक्षणीय दृष्टीकोणले पनि अब्वल रहेका छन् भने कसरी बैंक तथा वित्तीय संस्था डुब्ने सम्भावना हुन्छ ? कदापी हुँदैन ।

बैंक तथा वित्तीय क्षेत्र अर्थव्यवस्थाको अभिन्न अंग हो । बैंक तथा वित्तीय संस्थाहरुले अर्थिक विकासमा खेलेको भूमिकाहरु हामी सबै बीच छर्लङ्ग छ । यस क्षेत्रमा ८२ हजार कर्मचारीहरुले प्रत्यक्ष रोजगार लिएको देखिन्छ ।

आर्थिक वर्ष २०७९/८० मा बैंक तथा वित्तीय संस्थाहरुले सरकारलाई ३१ अर्ब रुपैयाँ राजस्व बुझाएको पाइन्छ । नेपाल राष्ट्र बैंकको मिति २०८० साल मंसिर महिनाको मेजर फाइनान्सिएल इण्डिकेटरअनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाहरुको जम्मा संख्या ५४, शाखा संख्या ६,४४४, निक्षेप खाता ५३,३०३,३७८ कर्जा खाता १,८५८,३५५ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाप्रति अफबाह फैलाउने जो कोहीलाई सरकारले सजक गराउनु आजको आवश्यकता हो । प्रकृतिक विपतबाट एक कदम अघि बढ्दै आफ्नो बाटो लय लिन लागेको बेलामा यस्ता अराजक तरिकाका भाषण, अभिव्यक्तिले डिपोजिटरको मनमा शंका पैदा गर्न सक्छ ।

सबै जनता बैंक तथा वित्तीय संस्थाले भनेको कुरा बुझ्ने नै छन् भन्ने छैन । अहिले नेपालको परिवेश हल्लाकोपछि दौडेको देखिन्छ । यहाँ मै हुँ भन्नेले पनि नेपालको भोलिको परिवेश कस्तो हुन्छ भन्ने आँकलन गर्न कठिन अवस्था रहेको छ ।

केही सहकारी संस्थाले गरेको कमजोरीका कारण निक्षेपकर्ताहरु त्रसित भएको अवस्थामा बैंक तथा वित्तीय संस्था डुब्दै छ भन्ने हल्लाले थप समस्या देखापर्न सक्छ ।

नियोजितरुपमा बैंकविरुद्ध उत्रिएकाहरुका कुरामा विश्वास गरेर डराएका निक्षेपकर्ता बैंकमा लाइन लाग्न बाध्य हुँदैनन् भन्न सकिँदैन । यस्तो अवस्थामा सरकार र नियामक निकायले ध्यान दिनु पर्दछ । भ्रमपूर्वक, नियोजित समाचार दिने, होहल्ला गर्ने, बैंक तथा वित्तीय संस्था जस्तो संस्थाप्रति लान्छना लगाउने काममा तल्लिन हरुलाई कानुनी दायरामा ल्याउनु आजको आवश्यकता हो ।

बैंक तथा वित्तीय संस्थाप्रति भ्रामक अभिव्यक्ति पहिला पनि नभएका भने होइनन् । तर अहिलेको समयमा त्यसको दायरा बढेर गएको आभाष हुन्छ । समयले नेटो काटेर गएपछि यसको औषधि नलाग्न सक्छ । बैलैमा यसलाई उपचारको बाटोमा लानु आजको आवश्यकता रहेको छ । एक दशक अघिको बैंक तथा वित्तीय संस्थामा समस्या नआएका भने होइनन् ।

नेपाल राष्ट्र बैंकले ब्यवस्थापन आफूले लिएर चलाएको पनि थियो । जो कुरा हामीमाझ जग जाहेर नै छ । त्यस बेलाको अवस्थालाई अध्ययन गरी त्यसको कारण हेरी भोलिका दिनमा यो प्रकारको अवस्था नरहोस् भनी सरकारले एवं नियामक निकायले त्यो गल्ति नदोहोरिनको लागि विभिन्न नीति नियम परिवर्तन गरी आएको छ । अबका दिनमा पहिलाको जस्तो समस्या आउने अवस्था देखिँदैन । नियामक निकायले सुक्ष्म निगरानी गर्नु, बैंक तथा वित्तीय संस्थाले नीति नियमको पालना अक्षरस गर्नुले बैंक तथा वित्तीय संस्था सवल रहेको पुष्टि गर्छ ।

निकर्ष: बैंक तथा वित्तीय संस्थाहरुका छाता संगठनहरुले आफ्ना धारणहरु राख्दै प्रेस विज्ञप्ति निकालेका छन् । नियामक नेपाल राष्ट्र बैंकले पनि बैंकहरुमा निक्षेप सुरक्षित रहेको र ढुक्कसँग कारोबार गर्न भनेको छ । यसले गर्दा कुनै पनि बैंक तथा वित्तीय संस्था समस्यामा परेका हुन् कि भन्ने डर बनेकोहरुलाई राहत दिएको छ ।

नेपालमा बैंक तथा वित्तीय संस्था डुब्ने अवस्थामा आउनुअघि नै त्यसको उपचार हुने गर्छ । नियामक नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाप्रति सूक्ष्म तरिकाले निगरानी गरिरहेको हुन्छ ।

कुनै बैंक तथा वित्तीय संस्था कमजोर भएको अवस्था आएमा केन्द्रीय बैंकले अग्रिम जानकारी दिएर ब्यवस्थापन आफ्नो हातमा लिने गर्दछ । अहिले केही अराजक व्यक्ति तथा समूहले दिएका भ्रामक अभिव्यक्तिप्रति कुनै सत्यता छैन । बैंक तथा वित्तीय संस्था सवल रहेका छन् । यस्ता अभिव्यक्तिका पछाडी लाग्नु ठूलो भ्रम हो । यी सबै हल्ला गलत मनशाय र व्यक्तिगत कुन्ठाबाट आएका हुनाले यस्ता कुराहरुको पछाडि लाग्नु गल्ती हुनेछ । यी सबै हल्ला निराधार हुन् ।

( हेमजङ्ग कार्की डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालमा आवद्ध छन् )


क्लिकमान्डु