पेटिएम पेमेन्ट्स बैंकलाई आरबीआईले दियो १५ मार्चसम्मको म्याद, त्यसपछि के हुन्छ ?



काठमाडौं । भारतीय रिजर्भ बैंक (आरबीआई)ले पेटिएम पेमेन्ट्स बैंकलाई कारबाही गर्दै फेब्रुअरी अन्तिमबाट कारोबारलाई बन्द गर्ने निर्णयमा म्याद थप गरिदिएको छ ।

१६ फेब्रुअरीमा भारतको केन्द्रीय बैंक आरबीआईले एक सर्कुलर जारी गर्दै पेटिएम पेमेन्ट्स बैंकमा डिपोटिज तथा अन्य कारोबारहरुका लागि अन्तिम म्याद बढाएर १५ मार्चसम्म पुर्याएको जानकारी दिएको छ । यसअघि २९ फेब्रुअरीमा पेटिएम पेमेन्ट बैंकको कारोबारलाई बन्द गर्ने गरि आरबीआईले कारबाही गरेको थियो ।

आरबीआईले केन्द्रीय बैंकहरुको नियमलाई पालना नगरेको भन्दै पेटिएम पेमेन्ट्स बैंकलाई कारबाही गरेको थियो । बिजनेस आउटलुक इन्डियाकाअनुसार केवाईसी आरबीआईले पेटिएम पेमेन्ट्स बैंकलाई केवाईसी (नो योर कस्टुमर)का नियमहरुलाई पालना गर्न असफल भएको थियो ।

आरबीआईले पेटिएम पेमेन्ट्स बैंकलाई अनुपालना (कम्प्लाइन्स)मा समस्या देखिएको तथा नियामकिय समस्या भएको भन्दै बैंकलाई कारबाही गरेको थियो ।

अब पेटिएम पेमेन्ट्स बैंकमा खाता भएकाहरुले १५ मार्चपछि पैसा जम्मा गर्ने लगायतका कारोबारहरु गर्न पाउँदैनन् भने बैंकमा रहेको रकम भने झिक्न चाहिँ पाउने आरबीआईले जनाएको छ ।

सन् २०१० मा सुरु भएको भारतीय पेमेन्ट वालेट पेटिएमले सन् २०१७ मा बैंकका रुपमा पेटिएम पेमेन्ट्स बैंकको सुरुवात गरेको थियो । उक्त बैंकमा पेटिएमकै संस्थापक विजय शेखर शर्माको ५१ प्रतिशत र वान ९७ कम्युनिकेसनको ४९ प्रतिशत सेयर लगानी रहेको छ ।


क्लिकमान्डु