पाँचतारे होटल हाँक्ने २४ वर्षीया अश्लेषा



काठमाडौं । डेढ दशक अघिसम्म पढाइको शिलशिलामा भारतमा बसिरहेकी अश्लेषा कार्की बिरलै नेपाल आउँथिन् । उनी घर आउँदा बुबा पवित्रकुमार कागजात वरिपरि छरेर त्यसैमा एकोहोरी रहेका हुन्थे । उनलाई चाडपर्व वा सन्तानको नजिकपनभन्दा बढी व्यवसायका अनेकन कुराहरुले पिरोलिरहेको हुन्थ्यो सायद ।

बुबाको बिजनेशप्रतिको लगावलाई अश्लेषा सहजै अनुभव गर्न सक्थिन् । बुबा पवित्रको डाँफे ट्राभल एजेन्सी, एयर डाइनाष्टी, होटल मेची क्राउन लगायतका कम्पनीहरु छन् । व्यवसायिक पृष्ठभूमीमा नहुर्किए पनि जतिसक्दो धेरै व्यवसायमा हात हालेर उनी त्यसबेला व्यवसायिक बिरासत तयार पार्दै थिए ।

बुबाको व्यस्तताले कहिले अश्लेषालाई खिन्न बनाउँथ्यो त कहिले उत्सुक । बुबाको समय धरैजसो व्यवसायका कामले लिँदा उनी खिन्न बन्थिन् तर वरिपरी छरिएका कागजातले भने उनलाई सँधै उत्सकु बनाउँथ्यो ।

‘के छ यो कागजमा ? म हरेपल्ट घर आउँदा उहाँको डकुमेन्ट हेर्दै सोध्थेँ, उहाँका फाइलहरु नबुझे पनि हेरी बस्थेँ,’ उनी सम्झन्छिन् ।

अश्लेषा सानैदेखि बुबाको प्रिय थिइन् । स्कुल बिदामा घर आउँदा उनलाई हरबखत बुबाकै अघिपछि लागिरहनुपर्ने । उनी घन्टौसम्म पनि बुबाको टेवलमा छरिएका कागज उल्ट्याई पोल्ट्याइ गरेर नियाल्थिन् । त्यहाँ व्यवसायका सम्झौतापत्र, योजनाहरु हुन्थे त कहिले बिलबिजकहरु । उनलाई यी सब हेर्न रमाइलो लाग्थ्यो ।

बुबा छोरीको उत्सुकतालाई टेको दिँदै भन्ने गर्थे, ‘अहिले पढ पछि यो तिम्रै काम हो ।’

डेढ दशक पछि…

अश्लेषा बुबाको उहीँ कुर्सीमा बसेर हामीसँग गफिँदै छिन् । बुबाले सम्हालेको कम्पनीहरुलाई आफूले डेढ दशक अघिको कागजात नियाले जसरी नै उत्सुकताका साथ नियाल्दै पनि छिन् ।

‘बुबाले काम गरेको हेर्दाहेर्दै म उहाँकै कामलाई आफ्नो सपना बनाउन थालेकी रहेछु,’ उनी सम्झन्छिन् ।

झापाको धुलाबारीमा रहेको होटल मेचीक्राउन प्लाजाकी डेपुटी म्यानेजिङ डाइरेक्टर अश्लेषा होटल हाँक्ने कान्छी होटल व्यवसायीमा पर्छिन् । २४ वर्ष लाग्दैगर्दा बुबाले कोरेको बाटोमा अश्लेषाले आफूलाई अगाडि बढाइरहेकी हुन् ।

बुबा पवित्र होटल व्यवसायीमात्रै होइनन् । उनको ट्राभल एजेन्सीदेखि हेलिकप्टर सर्भिसम्मका व्यवसाय छन् । व्यवसायिक पृष्ठभूमि नभए पनि व्यवसायिक बिरासत बनाउन उनी धेरै कम्पनीका सञ्चालक बन्न लागिपरिरहेका छन् । त्यही सपनालाई पछ्याउँदै उनको दोस्रो पुस्ताको रुपमा अश्लेषा पनि व्यवसायमा आएकी हुन् ।

अश्लेषा व्यवसायलाई नयाँ रुप दिन चाहन्छिन् । उनलाई थाह छ, कर्मचारी र मालिक बीचको खाडल नपुरिएसम्म व्यवसायले उडान भर्न सक्दैन । पूर्वको एकमात्र पाँचतारे होटल अहिले उनै २४ वर्षीया छोरी अश्लेषालाई जिम्मा लगाएर पवित्र जलविद्युततर्फ मोडिएका छन् ।

२०७८ सालबाट झापा धुलाबारीमा सञ्चालमा आएको होटल मेची क्राउन प्लाजा पूर्वकै पहिलो पाँचतारे होटल हो । भारतीय पर्यटकलाई लक्षित गर्दै पवित्रले बलराम सापकोटा, रामबहादुर गौतम, सुरेशमान श्रेष्ठ र होम बहादुर बस्नेतलाई व्यवसायिक साझेदार बनाएर डेढ अर्बको लगानीमा लक्जरियस होटल सञ्चालनमा ल्याएका हुन् ।

भारतीय सीमा नजिकै रहेको यस होटल भारतको बागडोरा बिमानस्थलबाट २५ किलोमिटरको दूरीमा छ । नेपालको भद्रपुर विमानस्थलबाट भने १७ किलोमिटरको दूरीमा छ ।

कुल ८.५ बिघा क्षेत्रफलमा फैलिएको होटलमा २ सय ५ वटा कोठाहरु रहेका छन्। १ सय ५ वटा कोठाबाट सुरु गरेको होटलले अहिले थप एक सय कोठा बिस्तार गरिरहेको हो । झण्डै ४ हजार जना रहन सक्ने गरी क्षमता बिस्तार गरिरहेको होटलमा १ सय ५० जनासम्म एकैपटक खेल्न सक्ने भव्य क्यासिनो समेत सञ्चालनमा छ।

अश्लेषाका अनुसार होटलमा डिलक्स, मेची क्लब, एक्जुकेटिभ, मेची स्विट रुम र भिल्ला गरेर पाँच प्रकारका बिलासी व्यवस्थाहरु उपलब्ध छन् । जहाँ एक बसाईमा ग्राहकले न्यूनतम १३ हजारदेखि १ लाख ३० हजार रुपैयाँसम्म शुल्क तिर्नु पर्छ ।
खानपिनका लागि तीनवटा रेस्टुरेन्ट छन्। स्वीमिङ पुल, जिमहल, स्पा, पार्लर सुविधा पनि छ। होटलमा हेलिकप्टर अवतरण गर्ने हेलिप्याड बनाइएको छ भने अब वेडिङ डेस्टिनेशनका लागि विभिन्न संरचना निर्माण भइरहेको अश्लेषा बताउँछिन् ।

१ सय ४४ कर्मचारीको व्यवस्थापन गर्दै होटलको वित्तीय पाटो सम्हाल्दै आएकी अश्लेषा परम्परागत रुपमा अब व्यवसाय गर्न नसकिनेमा प्रस्ट छिन् । उनी होटललाई नयाँ रुप दिन तल्लिन छिन् ।

वेडिङ डेस्टिनेस हब बनाउने योजना

अश्लेषाले ७ कक्षादेखि १२ कक्षासम्म भारतको उत्तराखण्डमा पढिन् । भारतमा विवाह समारोह भब्य हुन्थे । बिहेका लागि बेहुला बेहुलीका दुवै परिवार पाहुनासहित हप्तादिनसम्म बिहेमा रमाउँथे । उनी साथीहरुसँग कैयौँ पटक त्यस्ता विवाहमा सरिक भएकी छिन् ।

उनीहरु घरमा नभएर विवाह कुनै पर रहेको होटल वा समुन्द्र किनारमा गर्थे । नेपालमा दुई दिनमा सकिने विवाह भारतमा भने धुमधामसँग हप्तादिनसम्म चल्थ्यो । ‘त्यो डेस्टिनेशन विवाह रहेछ । नेपालमा त्यस किसिमको विवाह बिरलै देखिन्छ । मलाई त्यस्ता विवाहले लोभ्याएको थियो,’ उनी सम्झन्छिन् ।

बिजनेशमा आएपछि भने उनले पहिलो काम गरिन् ‘होटललाई वेडिङ डेस्टिनेशको रुपमा ब्राण्डिङ गर्ने ।’

नेपालमा डेस्टिनेशन वेडिङको प्रचलन थिएन । अश्लेषा आफुले देखेको जस्तै डेस्टिनेशन विवाह गर्ने हबको रुपमा होटललाई विकास गर्न चाहन्थिन् । व्यवसायमा नयाँ रहेकी उनलाई नेपालका पूर्वी नाकासँग जोडिएका भारतीय ग्राहक तान्नु थियो ।

लकडाउनको समय पारेर उनले झापामै बसेर वेडिङ डेस्टिनेसन बनाउने योजना पनि तयार पारिन् । होटल २०७८ साल वैशाखबाट सञ्चालनमा आएपछि भने उनको योजनाले मूर्तरुप लियो । अन्तर्राष्ट्रिय स्तरमा चर्चा कमाएको बिग ड्यायी कम्पनीले क्यासिनो चलाउने भएपछि अश्लेषा वेडिङ डेस्टिनेशनको रुपमा होटल सञ्चालनमा लागिन् ।

कार्यकारी भूमिकामा रहेपछिको उनको पहिलो सफलता यही बन्यो । पहिलो वर्ष मुस्किलले ४ वटा मात्रै बुकिङ भएकोमा दोस्रो वर्ष १४ वटासम्म बुकिङ आयो । एकै पटक सय/दुई सयको हाराहारीमा ग्राहक हप्तादिनसम्म बस्न आउने भएपछि होटलको व्यवसाय पनि बढ्यो । नयाँ आइडियाले होटललाई टेको दिन थालेपछि उनी फुरुङ्ग पर्थिन् ।

साना पाइलाले बुबाको ठूलो पाइला पछ्याउन थालेकी उनी अब होटल सेवा विस्तारमा जुटिरहेकी छिन् । ‘सानो सानो सफलताले मलाई बुबाको पाइला पछ्याउन सजिलो भएको छ’ उनी भन्छिन् ।

बुबा पवित्रकुमारसँग अश्लेषा

भारतीय ग्राहकले विवाह खर्चिलो तवरले गर्ने तथा तीन दिनदेखि हप्तादिनसम्म होटलमा बिताउने हुनाले पनि नेपाललाई वेडिङ डेस्टिनेशनको हब बनाउनुपर्ने उनको तर्क छ । यसैलाई लक्षित गर्दै होटलले १ सय ५ वटा रुमलाई २०५ वटा रुममा विकास गरेको छ।

होटलले स्विट, डिलक्स, एक्जुकेटिभ, क्लब र भिल्ला गरेर पाँच प्रकारका रुमबाट सेवा दिइरहेको छ । यस्तै पार्टीभेन्युदेखि हलहरुको क्षमता पनि बिस्तार भइरहेको छ।

होटलमा एक रात बस्नका लागि डिलक्सलाई १३ हजार २ सय रुपैयाँ, मेचीक्लब रुमलाई १९ हजार ८ सय, एक्जिुकेटिभ रुमलाई २६ हजार ४ सय र स्विट रुमलाई ६६ हजार रुपैयाँसम्म शुल्क पर्छ । यो सँगै होटलमा छुट्टै भिल्ला पनि लिन सकिने व्यवस्था छ । भिल्ला लिनेहरुले भने न्यूनतम १ लाख ३२ हजार रुपैयाँसम्म तिर्नु पर्छ।

होटलमा विवाहलाई लक्षित गरेर छुट्टै हल बनाइएको छ । होटलको पहिलो र दोस्रो तला बिशेषगरी विवाह पार्टीका लागि तयार गरिएको छ भने रुफटफ बिजनेस मिटिङका लागि तयार गरिएको छ ।

अश्लेषा ग्राहकले खोजेजस्तै सुविधा दिनेहो भने तराइ क्षेत्रमा पनि मनग्य पर्यटक भित्र्याउन सकिने धारणा राख्छिन् ।

संसयकाबीच उद्घाटन

सञ्चालनमा आउँदै गर्दा सबैमा होटल चल्छ/चल्दैन भन्ने संशय थियो । कारण कोभिडपछि अधिकांश होटलहरुको आर्थिक स्थिति खस्किएको थियो । पर्यटकीय चहलपहल पनि ठप्प थिए भने नाकाहरु पनि बन्द थिए । पुनः चलायमान हुन समय लाग्नेवाला थियो ।

यस्तो अवस्थामा होटल नै नभएको स्थानमा पाँचतारे होटल सञ्चालन गर्ने अठोटका साथ कार्कीसहित ५ जना लगानीकर्ताले २०७८ वैशाखमा होटल मेची क्राउन प्लाजाको उद्घाटन गरे ।

पहिलो वर्ष होटलले सञ्चालन खर्च समते जुटाउन सकेन । सञ्चालन आम्दानी जम्मा ३ करोड रुपैयाँ थियो । होटल बुकिङ खास्सै थिएन । तर जहाँ होटलहरु नै छैनन् त्यहाँ पाँचतारे होटलले बजार नै गुल्जार बनाउँछ भन्नेमा पवित्र ढुक्क थिए ।

उनको आशालाई भरोसा दिनकै लागि अश्लेषा २०७८ साल अगाडिको डेढ वर्ष होटलमै बसिन् । उनले होटलका लागि स्थानीय कर्मचारी जुटाउनेदेखि होटललाई लिएर स्थानीयको अपेक्षाहरुलाई समेत नियालिन् ।

‘डेढ वर्ष जति झापामा नै बसेर त्यहाँको कल्चर, स्थानीयवासीको मनोविज्ञान, बजारको अवस्था लगायतको अध्ययन गर्न पाएँ, हामी परिवार जस्तै भएर बन्द होटलमा बस्थ्यौँ । सबै मिलेर गार्डेनिङदेखि सरसफाइसम्मका कामहरु गर्थ्यौं । यो बीचमा कर्मचारीसँग घुलमिल भएँ’ उनी सम्झन्छिन् ।

पहिलो वर्ष खर्च जुटाउनै धौ-धौ परेको होटलले दोस्रो वर्ष भने सुधार गर्‍यो । २०७८ मा तीन करोड मात्रै सञ्चालन आम्दानी गरेको होटलले २०७९ मा १८ करोड ७१ लाख बराबरको आम्दानी गर्दा खुद नाफा भने ९ करोड रुपैयाँ कमाउन सफल भयो ।

भेगास सिटी इन्टरटेन्मेन्टले सञ्चालन गरेको मेची क्राउन प्लाजाको क्यासिनो भेगास भने भारतीय कम्पनी बिग ड्याडीले हेरिरहेको छ । होटलको क्यासिनो चलायमान हुँदा नाफामा पनि उल्लेख्य वृद्धि अश्लेषा वताउँछिन् ।

९० प्रतिशत ग्राहक भारतीय

भारतीय ग्राहकहरु स्वाद पनि उतैको चाहन्छन् । अधिकांश भारतीयहरु क्यासिनोका लागि होटलमा आउँछन् । क्यासिनोमा रमाएर उनीहरु २ देखि ३ दिनसम्म होटलमा बस्ने गर्छन् ।

भारतीय ग्राहक नेपाली खाना वा अरु नयाँ स्वाद लिन उति उत्सुक नहुँदा अधिकांश समय इन्डियन परिकार नै बनाउनु परेको बताउँछिन् अश्लेषा ।

नेपालीहरु भने उति होटल पुग्दैनन् । ९० प्रतिशत ग्राहक भारतकै हुने गरेको उनको भनाइ छ। कमै आउने नेपाली ग्राहकले भारतीय जसरी होटलमा बस्ने र खर्च नगर्ने उनी बताउँछिन्। बरु नयाँ ठाउँ घुम्ने योजना सहित आएका उनीहरु औषत एक देखि दुई दिनमात्र होटलमा बस्ने गर्छन् । यसले गर्दा होटल पूर्ण भारतीय ग्राहक मैत्री बनाइएको छ ।

९० प्रतिशतसम्म ग्राहक भारतीय हुने भएकाले होटलले सम्पूर्ण सेवा सुविधा उनीहरुलाई नै लक्षित गरेर ल्याएको अश्लेषा बताउँछिन् । जसमा ५० प्रतिशत ग्राहक क्यासिनो खेल्न होटलमा आइपुग्छन् ।

‘क्यासिनो खेल्न आउनेहरु अक्सर स्पा गर्न रुचाउँछन्, उनीहरु दिनभर सुतेर स्पामा रमाउँछन् । जसरी हुन्छ रिल्याक्स हुनपर्यो तर नेपालीमा भने यस्तो रुचि खास्सै भेटिँदैन,’ उनी भन्छिन् ।

सडक सुधार भए पर्यटकीय क्षेत्र गुल्जार हुने थियो …

पूर्वमा घुम्ने स्थानहरु प्रसस्तै छन् । छोटो दूरीमा इलामका कन्याम, फिकल, श्रीअन्तुहरु छन् भने नजिकै तिर्थस्थल अर्जुनधारा, सानो पाथिभरा पनि छ । अश्लेषा भारतीय पर्यटकलाई यी क्षेत्रमा पुर्‍याउन सडकमा सुधार गर्नुपर्ने बताउँछिन् ।

‘हामीकहाँ आउने पर्यटकलाई यो स्थानसम्म पुगौँ न भन्ने वातावरण नबनेसम्म होटलसँगै अन्य व्यवसाय चलायमान हुन सक्दैन’ उनी भन्छिन् ।

उनका अनुसार इलामसम्मको बाटो राम्रो भएकै कारण पर्यटक त्यहीँसम्म पुग्छन् तर त्यस माथिका क्षेत्रमा भने पर्यटक उति जान रुचाउँदैनन् । पाँचथरमा रहेको ठूलो पाथिभरा क्षेत्र मात्र नभएर कञ्चनजंघा हिमाल क्षेत्रमा ट्रेकिङ गर्न सक्ने गरि भौतिक संरचना निर्माण गर्दा पदयात्रीको चहलपहल बढ्ने उनको धारणा छ । जस अनुरुप कञ्चनजंघा हिमाल पदयात्रामा जाने पर्यटकको बिश्रामस्थल झापालाई बनाउन सके बजार थप गुल्जार हुने उनी बताउँछिन् ।

ट्रेकिङ जाने ग्राहकलाई तान्ने योजना

अश्लेषा क्यासिनो र वेडिङ डेस्टिनेशन बाहेक पदयात्रामा रमाउने ग्राहकलाई पनि तान्ने योजना आगडि सारेको बताउँछिन्। कञ्चनजंघा पदयात्रामा जान चाहने पर्यटकको विश्रामस्थल होटललाई बनाउन सकिने उनको तर्क छ। त्यसका लागि पदयात्राको रुटमा टिसपहरु खोल्नका लागि प्रयास भइरहेको उनी बताउँछिन्।

यो बाहेक होटल कर्पोरेट रिट्रिटमा पनि फोकस भइरहेको छ । यसका लागि कलकत्ता र सिलगुडीका ठूला कर्पोरेट हाउसहरुलाई यहाँसम्म ल्याउने योजना अनुरुप होटलका सिंगो टिम लागिपरिरहेको उनी बताउँछिन् ।

‘कर्मचारी रिफ्रेस कार्यक्रमदेखि सेमिनारसम्म गर्न सक्ने गरी हामी कर्पोरेट रिट्रिटहब बनाउन लागि परिरहेका छौ’, उनले भनिन्।

भारतमै पनि अन्तर्राष्ट्रिय क्यासिनो टुर्नामेन्ट हुनेगर्छ नेपालमा यस्ता खालका अभ्यास कमै हुन्छन् । उनी यस्ता टुर्नामेन्ट पनि भित्र्याउने योजनामा छिन् ।

वर्क फोकस्ड वर्कर

अश्लेषा नेपालमा मालिक र कर्मचारी बीचको बढ्दो दूरीले वर्क फोकस्ड वर्कर पाउनै गाह्रो भएको बताउँछिन् । उनलाइ लाग्छ, कर्मचारी र मालिक बीचको दूरी घटाउन सके जुनसुकै व्यवसाय पनि सहज रुपमा सञ्चालन गर्न सकिन्छ ।

अध्ययनका क्रममा अष्ट्रेलिया पुग्दा उनले कर्मचारी र मालिक बीचको आत्मिय सम्बन्धलाई नियाल्न पाइन् । उनी आफैं काम गर्दा कर्मचारी भएको अनुभव गर्नुपरेन । ‘म काम गर्ने ठाउँको म्यानेजरले मलाई नै खाना बोकेर ल्याइदिन्थे त्यसले मलाई काम गर्न थप हौस्याउँथ्यो’ उनी थप्छिन्,‘यहीँ वातवारण मलाई यहाँ पनि विकास गर्नुछ।’

कर्मचारीसँग घुलमिल हुन उनी अधिकांश समय झापामा नै बिताउँछिन् । सबेरै उनी होटल पुग्दा कर्मचारीको हाँसो सहितको आत्मियताले उनलाई फुरुङ्ग बनाउँछ । स्थानीयवासीसँग जोडिरहन होटलमा अधिकांश कर्मचारी झापाकै राखिएको छ । जम्मा १ सय ४४ कर्मचारी मध्ये अधिकांश मोरङ, सुनसरी र झापा जिल्लाका छन् ।

स्थानीयलाई नै रोजगारी दिएपछि उनीहरुको होटलप्रतिको माया थप बढ्ने तर्क गर्छिन् उनी ।

यति हुँदा हुँदै पनि उनी कर्मचारीसँगै साथी भने अझै बन्न नसकेको गुनासो गर्छिन् । मर्यादाक्रमले कर्मचारी र आफूबीचको दूरीलाई छोट्याउन उनलाई धेरै कुरा गर्नुपर्नेछ ।

उनलाई लाग्छ, बुबाबाट पद पाए पनि सक्षमता भने आफैंले देखाउनुपर्नेछ ।

‘अध्यक्षको छोरी हुनु मेरो भाग्य हो, तर पदमा बसेर काम गर्नका लागि मैले आँफै काम देखाउनु पर्थ्यो, कर्मचारीले अगाडि ठिक्क पारे पनि कतिपयले मेरो निर्णय नै मान्दैन थिए’, उनी गुनासो गर्छिन् ।

अष्ट्रेलियाको मेलवर्न युनिभर्सिटीबाट व्यवस्थापन शंकायमा स्नातक सकेकी अश्लेषा नेपालमा पनि वर्क ट्रेण्ड बदलिनुपर्ने तर्क गर्छिन् । भारत र अष्ट्रेलिया बसाइमा उनले कर्मचारी र मालिक बीचको सुमधुर सम्बन्धमात्रै देखिनन् समय र कामको महत्व पनि बुझिन् ।

उनी होटल मेची क्राउनको डेपुटी म्यानेजिङ डाइरेक्टर भएर झापा आएको तीन वर्ष पुग्न लाग्यो । यो अवधिमा कर्मचारीको मन जित्दै मालिक र कर्मचारी बीचको दूरीलाई घटाउने उनको प्रयासले पनि रफ्तारमै यात्रा गर्दैछ ।


सम्झना घिमिरे