५ फाइनान्स कम्पनी घाटामा, कस्तो छ अरुको अवस्था ?



काठमाडौं । आर्थिक संकुचनले वाणिज्य बैंकहरुको नाफा घट्दा ‘ग’ वर्गका फाइनान्स कम्पनी भने घाटामै गएका छन् ।
गत पुसको तुलनामा चालु आर्थिक वर्षको पुस मसान्तसम्म चार फाइनान्स कम्पनी घाटामा गएका छन् भने एउटाको घाटा घटे पनि अझै वासलात ऋणात्मक नै छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्म राष्ट्रिय स्तरका १३, प्रदेशस्तरको एउटा र ५-जिल्ले एउटा गरि १५ वटा फाइनान्स कम्पनीले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेकोमा ५ फाइनान्स घाटामा रहेका छन् ।

गत पुस मसान्तको तुलनामा नाफा बढाउने फाइनान्स कम्पनीहरुमा गोर्खाज फाइनान्स, आईसीएफसी फाइनान्स, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स, बेष्ट फाइनान्स र ५ जिल्ला कार्यक्षेत्र रहेको मल्टिपर्पाेज फाइनान्स रहेका छन् ।

गोर्खाजको नाफा ८१.६२ प्रतिशत, आईसीएफसीको नाफा ४९.११ प्रतिशत, श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सको नाफा २३.६९ प्रतिशत, मल्टिपर्पाेज ३८६.९५ प्रतिशत र ११.३४ प्रतिशतले बढेको हो ।

यी बाहेक मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स, गुडवील फाइनान्स, नेपाल फाइनान्स र मधेश प्रदेश कार्यक्षेत्र रहेको प्रदेशस्तरको जानकी फाइनान्सको भने गत वर्षको तुलनामा नाफा घटे पनि ऋणात्मक भएका छैनन् ।

तर, सम्वृद्धि फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स र प्रोग्रेसिभ फाइनान्सको वासलात भने घाटामा छ ।

जसका कारण चालु आर्थिक वर्षको ६ महिनामा ५ जिल्ले एउटा, प्रदेशस्तरको एउटा गरि कुल १५ फाइनान्सको गत आर्थिक वर्षको पुस मसान्तको तुलनामा ५३.०५ प्रतिशतले नाफा घटेर १४ करोड ५६ लाखमात्र कमाउन सफल भएका छन् । गत आर्थिक वर्षको पुस मसान्तमा उनीहरुले कुल ३१ करोड २ लाख नाफा कमाएका थिए ।

नाफामा गोर्खाज पहिलो, अरुको कति ?

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार फाइनान्स कम्पनीमध्ये सबैभन्दा धेरै नाफा गोर्खाज फाइनान्सको छ ।

गतवर्ष ९ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको गोर्खाजले यस वर्षको पुस मसान्तसम्ममा ८१.६२ प्रतिशतले नाफा बढाउँदै १७ करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

नाफा कमाउनेमा मन्जुश्री फाइनान्स दोस्रोमा छ । मन्जुश्रीले गत पुस मसान्तसम्ममा १३ करोड ६५ लाख नाफा कमाएकोमा यस वर्षको पुसमसान्तमा १० करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । तुलनात्मक रुपमा मन्जुश्रीको नाफामा कमी आएको भए पनि फाइनान्स कम्पनी मध्ये सबैभन्दा धेरै नाफा कमाउनेमा मंजुश्री दोस्रो नम्बरमा परेको छ ।

यस्तै, पुस मसान्तसम्म आइसिएफसी फाइनान्सले ५ करोड ८९ लाख रुपैयाँ नाफा कमाउँदा पोखरा फाइनान्सले २ करोड ५ लाख, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले २ करोड ५६ लाख र गुडवील फाइनान्सले ३ करोड २४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

गत पुसमा आईसीएफसीले ३ करोड ९५ लाख, पोखरा फाइनान्सले ३ करोड ५६ लाख, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले २ करोड ७ लाख र गुडवील फाइनान्सले ६ करोड ७० लाख नाफा गरेका थिए ।

यस्तै, बेष्ट फाइनान्सले ११.७५ प्रतिशतले नाफा बढाएर पुस मसान्तमा १ करोड ८ लाख रुपैँया नाफा कमाएको छ । तर, नेपाल फाइनान्सकोे नाफा ८३.०९ प्रतिशतले घटेर ८ लाखमा मात्रै सीमित भएको छ ।

मधेश प्रदेशमात्र कार्यक्षेत्र रहेको प्रदेशस्तरीय जानकी फाइनान्सले गत पुसमा १ करोड ४६ लाख नाफा गरेकोमा यस आवको पुसमा ८६.४३ प्रतिशतले नाफा घटेर २० लाखमात्र नाफा गरेको छ ।

यी बाहेक सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहि कार्यक्षेत्र रहेको ५ जिल्ले मल्टीपर्पोज फाइनान्सले गत पुसको दाँजोमा ३८२.४० प्रतिशतले नाफा बढाएर १ करोड १२ लाख रुपैयाँ कमाएको छ ।

५ फाइनान्स कम्पनीको वासलात घाटामा

फाइनान्स कम्पनीमध्ये पाँच वटाको नाफा भने पुसमसान्तमा ऋणात्मक रहेको छ । गत पुसमसान्तमा १ करोड ३० लाख घाटामा रहेको प्रोग्रेसिभ फाइनान्स यस आवको पुस मसान्तमा १० करोड ५७ लाख घाटामा पुगेको छ ।

प्रोग्रेसिभ फाइनान्सका प्रमुख सूचना अधिकारी प्रमोद भट्टराईकाअनुसार प्रोभिजन बढेका कारण फाइनान्सको वासलात घाटामा गएको हो ।

यसैगरि, गुहेश्वरी फाइनान्स ६ करोड ७० लाख, रिलायन्स फाइनान्स ५ करोड ४८ लाख, सेन्ट्रल फाइनान्स ४ करोड ७६ लाख र सम्वृद्धि फाइनान्स २ करोड १३ लाख रुपैयाँले घाटामा देखिएका हुन् ।

यसमध्ये सम्वृद्धि फाइनान्स गत पुसमा ७ करोड ७४ लाख घाटामा रहेकोमा यस पुसमा घाटा घटाउन सफल भएको छ भने गत पुसमा ३ करोड ८५ लाख घाटामा रहेको रिलायन्स फाइनान्सको घाटा यस पुस मसान्तमा बढेको छ ।

खराबकर्जा कसको कति ?

चालु आर्थिक वर्षको पुस मसान्तसम्म सबैभन्दा धेरै खराब कर्जा जानकी फाइनान्सको छ । गत वर्ष पुस मसान्तसम्ममा खराबकर्जा ११.१८ प्रतिशतमा रहेको जानकीको यस वर्षको पुस मसान्तमा खराब कर्जा ७८.८ प्रतिशतले बढेर १९.९९ प्रतिशतमा पुगेको छ ।

यस्तै खराबकर्जा धेरै हुनेमा दोस्रोमा गोर्खाज फाइनान्स देखिएको छ । गत पुसको तुलनामा यो पुसमा खराब कर्जा १०३.१ प्रतिशतले बढेर १३.७३ प्रतिशतमा आइपुगेको छ । गत पुसमा गोर्खाजको खराब कर्जा ६.७६ प्रतिशतमात्र थियो ।

यस्तै प्रोग्रेसिभ फाइनान्सको पनि खराबकर्जा ११.४५ प्रतिशत पुगेको छ । गत पुसमा ४.९१ प्रतिशतमा सिमित रहेको प्रोग्रेसिभको खराब कर्जा चालु पुसमसान्तसम्म आइपुग्दा १३३.१९ प्रतिशतले बढ्न पुगेको छ ।

यस बाहेक नेपाल फाइनान्सको खराब कर्जा १०.५२ प्रतिशत छ । नेपाल फाइनान्सले गत पुसको तुलनामा यस पुसमा खराब कर्जा २५.८६ प्रतिशतले घटाएको छ । गत पुसमा नेपाल फाइनान्सको खराबकर्जा १४.१९ प्रतिशत थियो ।

त्यसैगरी रिलायन्स फाइनान्स र सेन्ट्रल फाइनान्सको पनि खराबकर्जा क्रमशः ९.६७ र ९.४४ प्रतिशत रहेको छ । गत वर्ष सेन्ट्रल फाइनान्सको खरावकर्जा ७.६३ प्रतिशत रहेकोमा यस वर्ष २३.७२ प्रतिशतले बढेको हो । रिलायन्स फाइनान्सको भने गत पुसमा ४.८९ प्रतिशत खराबकर्जा रहेकोमा यस पुसमा ९७.७५ प्रतिशतले बढोत्तरी भएको हो ।

यस्तै गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्सको खराब कर्जा गत पुसको तुलनामा १००.९३ प्रतिशतले बृद्धि भएर ६.४५ प्रतिशत पुग्दा गुडवील फाइनान्सको ५.२३ प्रतिशत पुगेको छ । गत पुसमा गुडवीलको खराबकर्जा ३.७१ प्रतिशत रहेकोमा यस पुुससम्ममा ४०.९७ प्रतिशतले बढेर ५.२३ प्रतिशतमा पुगेको छ ।

यस्तै, पोखरा फाइनान्सको ४.७६ प्रतिशत, सम्बृद्धि फाइनान्सको ४.६८ प्रतिशत, मन्जुश्री फाइनान्सको ३.५ प्रतिशत, बेष्ट फाइनान्सको ३.३२ प्रतिशत खराबकर्जा रहेको छ ।

आईसीएफसी फाइनान्सको २.२१ प्रतिशत, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको १.९४ प्रतिशत र मल्टिपर्पाेज फाइनान्सको १.४८ प्रतिशतमा खराबकर्जा सीमित रहेको छ ।

समग्रमा पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेका १५ फाइनान्स कम्पनी मध्ये आईसीएफसी, बेष्ट, नेपाल फाइनान्स र सम्वृद्धि फाइनान्सले गत पुसको तुलनामा यस पुसमा खराबकर्जालाई घटाउन सफल भएका छन् भने बाँकी ११ वटाको खराबकर्जा तुलनात्मक रुपमा बढेको छ ।

पुस मसान्तसम्म नाफामा सामान्य बृद्धि गर्ने फाइनान्सको समेत खराबकर्जा सुधारिन सकेको छैन । वित्तीय विवरण प्रकाशन गर्ने १५ कम्पनी मध्ये ६ कम्पनीको खराबकर्जा औसतभन्दा बढी रहेको छ ।


सम्झना घिमिरे