१६ बैंकको नाफा घट्दा ४ वटाको मात्रै कसरी बढ्यो ?



काठमाडौं । नेपालको अर्थतन्त्रमा देखिएको संकुचनको असर बैंकहरुको वासलातमा देखिएको छ । पछिल्लो समय अर्थतन्त्र संकटोन्मुख रहँदा त्यसको प्रत्यक्ष असर बैंकको नाफामा देखिएको हो । २०७९ पुसको तुलनामा ०८० पुसमा वाणिज्य बैंकहरुको औषत नाफा ९.९४ प्रतिशतले घटेको छ भने खराब कर्जा ४७.१२ प्रतिशतले बढेर औषतमा ३.३६ प्रतिशत पुगेको छ ।

बैंकहरुको घट्दो नाफा र बढ्दो खराब कर्जाले आगामी दिनहरुमा अर्थतन्त्र थप संकटमा जाने सहजै अनुमान गर्न सकिन्छ । किनभने, सबैभन्दा बढी कर्पोरेट ट्याक्स तिर्ने बैंकिङ क्षेत्रकै नाफा नराम्रोसँग प्रभावित भएपछि सरकारले असुल गर्ने कर पनि घट्ने देखिएको छ ।

लक्ष्यभन्दा निकै कम मात्रै राजस्व संकलन भइरहेको अवस्थामा सरकार थप दबाबमा पर्ने देखिन्छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कर्जा खासै बढ्न सकेको छैन भने प्रवाह भएको कर्जा असुलीमा समस्या छ।

तर, यस्तो अवस्थामा पनि ४ बैंकले भने नाफा बढाएका छन् ।

आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमास (पुस मसान्त) सम्ममा सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये १६ वटाको नाफा घट्दा ४ वटाको भने बढेको छ । आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसँगको तुलनामा यो वर्ष अधिकांश बैंकको नाफा घटे पनि हिमालयन बैंक, प्राइम बैंक, एभरेष्ट बैंक र कृषि विकास बैंकको नाफा बढेको हो ।

वाणिज्य बैंकहरुको औषत नाफा ९.९४ प्रतिशतले घट्दा पनि यी ४ बैंक भने कसरी नाफा बढाउन सफल भए ? बैंकहरुले प्रकाशन गरेको वित्तीय अवस्थाको विश्लेषण गरेर यो आलेख तयार पारिएको हो ।

हिमालयन बैंक: २०७९ पुसको तुलनामा २०८० पुसमा सबैभन्दा बढी नाफा बढाउनेमा हिमालयन बैंक रहेको छ । २०७९ पुसमा ९५ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको बैंकले २०८० पुसमा ५७.५३ प्रतिशतले बढाएर १ अर्ब ५० करोड ३९ लाख रुपैयाँ पुर्‍याएको छ ।

हिमालयन बैंकको नाफा बढ्नुको प्रमुख कारण खुद ब्याज आम्दानी ५९.५० प्रतिशतले बढेर ५ अर्ब ८२ करोड ९ लाख रुपैयाँ पुग्नु हो । यो बैंकले १८ अर्ब ३४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ भने १२ अर्ब ५२ करोड रुपैयाँ ब्याज खर्च गरेको छ । गत वर्षको पुसमा बैंकले ११ अर्ब ३२ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो भने ७ अर्ब ६७ करोड रुपैयाँ ब्याज खर्च गरेको थियो।

चालु आर्थिक वर्षको ६ महिनामा हिमालयन बैंकले २३ अर्ब रुपैयाँले निक्षेप बढाउँदा ९ अर्ब रुपैयाँले मात्रै कर्जा बढाएको छ । ०८० पुस मसान्तसम्ममा बैंकले २ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

अघिल्लो पुसमा ८७.१२ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) यो पुसमा ८०.८६ प्रतिशतमा खुम्चिएको छ ।निक्षेपको तुलनामा कर्जाको वृद्धिदर निकै कम रहे पनि बैंकले स्प्रेड दर (निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको अन्तर) बढाएर ब्याज आम्दानी बढाएको देखिन्छ । ०७९ पुसमा ४.१६ प्रतिशत रहेको स्पेड दर ०८० पुसमा बढाएर ४.६२ प्रतिशत पुर्‍याएको छ । बैंकले नाफा बढाउन स्प्रेड दरको सहायता लिएको देखिन्छ । स्प्रेड दर बढाउँदा ऋणको ब्याजदर बढ्छ ।

बैंकको आधार दर १.१० प्रतिशत बिन्दूले घटे पनि कष्ट अफ फन्ड (लागत) भने ०.४८ प्रतिशत बिन्दूले मात्रै घटेको छ । गत वर्षको पुसमा ९.९७ प्रतिशत रहेको आधार दर यो पुसमा ८.८७ प्रतिशतमा झर्दा पनि बैंकको कष्ट अफ फन्ड भने ८.८२ प्रतिशतबाट ८.३४ प्रतिशतमा मात्रै झरेको छ ।

हिमालयनले नाफा बढाउनुको अर्को कारण नेट फि एण्ड कमिसन आय बढ्नु पनि हो । यस्तो आय २०७९ पुसको तुलनामा २०८० पुसमा ९ करोड ७२ लाख रुपैयाँले बढेको छ । गत वर्षको पुस सम्ममा बैंकको नेट फि एण्ड कमिसन ४२ करोड ८७ लाखबाट बढेर यो वर्षको पुससम्ममा आइपुग्दा ५२ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको सञ्चालन नाफा पनि उल्लेख्य मात्रामा बढेको छ । २०७९ पुसमा १ अर्ब ३८ करोड ९२ लाख रुपैयाँ रहेको सञ्चालन नाफा ०८० पुसमा २ अर्ब २१ करोड १७ लाख रुपैयाँ पुगेको छ ।

बैंकको नाफा बढ्नुको कारण अन्य संचालन आम्दानी बढ्नु पनि हो । यस्तो आय ३ करोड ६८ लाखबाट १ करोड ४८ लाख रुपैयाँले बढेर ५ करोड १६ लाख रुपैयाँ पुगेको छ ।

बैंकले गत वर्षको पुसमा नै खराब कर्जाका लागि उल्लेख्य मात्रामा प्रोभिजन (संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम) गरेका कारण यो पुसमा अन्य बैंकको जस्तो प्रोभिजन बढेको छैन । जसले पनि बैंकलाई यो पुसमा बैंक नाफामा सहयोग गरेको हो ।

०७९ पुसमा १ अर्ब ४९ करोड रहेको प्रोभिजन (इम्पेरिमेन्टल चार्ज) ०८० पुसमा बढेर १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । खराब कर्जा बढेका कारण प्रोभिजन बढेको हो । ०७९ पुसमा ३.७७ प्रतिशत रहेको खराब कर्जा बढेर ०८० पुसमा ४.९५ प्रतिशत पुगेको छ । सिभिल बैंकको ठूलो कर्जा बिग्रिएका कारण मर्जपछि हिमालयनको वित्तीय विवरण थप बिग्रिएको हो ।

राष्ट्र बैंकले कर्जा पुनर्तालिकिकरण र कर्जा पुनसंरचनामा दिएको छुटका कारण बैंकको नाफा देखिए पनि नगद प्रवाहका आधारमा हेर्ने हो भने बैंक नोक्सानमै छ । ०८० पुससम्ममा बैंकले प्रवाह गरेको कर्जाको १ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ ब्याज उठ्न सकेको छैन । जबकी, ०७९ पुसमा उठ्न नसकेको ब्याज ७६ करोड ६४ लाख रुपैयाँ मात्रै थियो । उठ्न बाँकी ब्याजको बढ्दो अवस्थाले बैंकलाई कर्जा असुलीमा चरम दबाब रहेको प्रष्ट संकेत गर्छ ।

साथै, गत वर्षको पुसमा जम्मा ३५ लाख रुपैयाँ रहेको गैरबैंकिङ सम्पत्तिको प्रोभिजन यो पुसमा बढेर १५ करोड रुपैयाँ पुगेको छ। बैंकको रिटेन अर्निङ पनि ३ अर्ब २४ करोड २६ लाख रुपैयाँले ऋणात्मक छ ।

मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनमा लाग्ने कर तिर्न बैंकले मोटो रकम तिर्नुपरेको छ । सरकारको निर्णयलाई गत मंसिर अन्तिममा सर्वोच्च अदालतले अनुमोदन गरेपछि हिमालयन बैंकले सरकारलाई ३२ करोड ८० लाख रुपैयाँ कर तिरेको छ ।

बैंक नाफामा देखिए पनि सेयरधनीलाई लाभांश बाँड्न सक्ने अवस्थामा छैन । ०७९ पुसमा ८७ करोड २६ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेको बैंक ०८० पुसमा ४५ करोड २३ लाख रुपैयाँले ऋणात्मक छ ।

प्राइम बैंक: चालु आर्थिक वर्षको पहिलो ६ महिनामा हिमालयन बैंकपछि दोस्रो धेरै नाफा बढाउनेमा पर्छ प्राइम बैंक । ०७९ पुसको तुलनामा ०८० पुसमा प्राइम बैंकले ३२.१३ प्रतिशत अर्थात् ५३ करोड ८ लाख रुपैयाँले नाफा बढाएको छ । प्राइमले चालु आवको ६ महिनामा २ अर्ब १८ करोड २९ लाख २७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

०७९ पुसको तुलनामा ०८० पुसमा आइपुग्दा बैंकको ब्याज आम्दानी ९.५३ प्रतिशत अर्थात् ३३ करोड ३७ लाख रुपैयाँले बढेको छ । गत वर्षको पुससम्ममा ३ अर्ब ५३ करोड ७० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यो पुससम्ममा ३ अर्ब ८७ करोड ४४ लाख ९९ हजार ब्याज आम्दानी गरेको छ ।

यो बैंकले फि एण्ड कमिसन आम्दानी ५५ करोड ९५ लाखबाट बढेर ८० करोड ३६ लाख रुपैयाँ पुगेको छ ।

०७९ पुसमा ५८ करोड ३१ लाख रुपैयाँ रहेको प्रोभिजन अर्थात् इम्पेरिमेन्टल चार्च ०८० पुसमा घटेर २८ करोड ११ लाख रुपैयाँमा खुम्चिएको छ । अन्य आम्दानी खासै नबढे पनि संभावित प्रोभिजन घट्दा बैंक नाफामा देखिएको हो ।

त्यस्तै, बैंकले उठ्नबाँकी ब्याजमा पनि राम्रो सुधार गरेको छ । गत वर्षको पुसमा १ अर्ब १६ करोड ५४ लाख रुपैयाँ रहेको उठ्न बाँकी ब्याज यो वर्षको पुसमा ७२ करोड १५ लाख रुपैयाँमा झार्न सफल भएको छ ।

चालु आवको ६ महिनामा २ अर्ब १८ करोड रुपैयाँ नाफा कमाए पनि उक्त नाफाबाट प्राइम बैंकले सेयरधनीलाई ६ करोड ४१ लाख रुपैयाँ मात्रै लाभांश बाँड्न मिल्छ ।

यो वर्षको ६ महिनामा बैंकले ३२ अर्ब रुपैयाँले निक्षेप बढाए पनि कर्जा भने १७ अर्ब रुपैयाँले मात्रै बढाएको छ । जसकारण गत वर्षको पुसमा ८८.८९ प्रतिशत रहेको कर्जा निक्षेप अनुपात यो वर्षको पुसमा ८३.९२ प्रतिशतमा खुम्चिएको छ ।

प्रोभिजनका कारण प्राइम बैंकको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको तल्लो सीमामै झरिसकेको थियो । पुँजीकोष अनुपात टाइट भएपछि बैंकले कर्जा बढाउन नसकेको हो ।

त्यस्तै, बैंकको गैरबैंकिङ सम्पत्तिको प्रोभिजन पनि दोब्बरभन्दा धेरैले बढेको छ । गत वर्षको पुसमा १९ करोड ८२ लाख रुपैयाँ रहेको गैरबैंकिङ सम्पत्तिको प्रोभिजन यो वर्षको पुसमा बढेर ४१ करोड ९४ लाख रुपैयाँ बढेको छ । बैंकको खराब कर्जा २.८१ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ ।

बैंकले ब्याजदर सस्तो बनाउन स्पेड दर घटाएको छ । ०७९ पुसमा ४.३३ प्रतिशत रहेको स्प्रेड दर घटाएर ०८० पुसमा ३.९९ प्रतिशतमा झारेको छ । बैंकले लागत र आधार दर दुबै घटाएका छे । लाग ९.२५ प्रतिशतबाट घटाएर ८.५८ प्रतिशतमा झारेको छ भने आधार दर ११.३४ प्रतिशतबाट घटाएर १०.३८ प्रतिशतमा झारेको छ । यद्यपि, अझै पनि यो बैंक उच्च आधार दर हुने बैंकमा पर्छ । आधार दर उच्च हुँदा ऋणीले बढी ब्याजदर तिर्नुपर्छ । यसको अर्थ के हो भने आगामी दिनमा बैंकलाई लागत, स्प्रेड दर र आधार दर घटाएर अरु बैंकसाग प्रतिस्पर्धामा उत्रिनुपर्ने चुनौति अझ बढी छ ।

प्राइम बैंकले मर्जर तथा एक्विजिशनको बार्गेन पर्चेज गेनमा लाग्ने कर तिर्न २८ करोड ९६ लाख ९६६ रुपैयाँ गत मंसिरमा खर्च भएको छ । जसले पनि बैंकको वित्तीय अवस्थामा प्रभाव पारेको हो ।

कृषि विकास बैंक: सरकारी लगानी रहेको कृषि विकासले गत वर्ष २०७९ पुसमा ऋणात्मक रहेको नाफालाई यो वर्ष धनात्मक बनाउन सफल भएको छ । यो बैंकको नाफा गत वर्ष १२ करोड ८९ लाख रुपैयाँले ऋणात्मक थियो भने यो वर्षको पुसमा १ अर्ब ३५ करोड ५२ लाख रुपैयाँले धनात्मक छ ।

कर्जा असुलीमा बैंक आक्रामक हुँदा प्रोभिजन घटेको छ । ०७९ पुसमा २ अर्ब १७ करोड रुपैयाँ प्रोभिजन गर्नुपरेको बैंकले ०८० पुसमा १ अर्ब ९ करोड रुपैयाँ मात्रै प्रोभिजन गर्नु परेको छ । सम्भावित जोखिम व्यवस्थाका लागि छुट्याएको रकम १ अर्ब ८ करोड रुपैयाँले फिर्ता आएपछि बैंक नाफा कमाउन सफल भएको हो । यो अवधिमा बैंकले केही गैरबैंकिङ सम्पत्ति बिक्री पनि गरेको छ । जसकारण गैरबैंकिङ सम्पत्तिका लागि साढे ३७ लाख रुपैयाँ बराबरको मात्रै प्रोभिजन गरेको छ ।

कृषि विकासले २०७९ पुसको तुलनामा २०८० पुसमा ७५ करोड ८१ लाख रुपैयाँले खुद ब्याज आम्दानी बढाएर ४ अर्ब ४८ करोड रुपैयाँ पुर्याएको छ । साथै, बैंकले फि एण्ड कमिसन आय बढाएको छ । यस्तो आय २०७९ पुसमा ४ अर्ब २७ करोड थियो भने २०८० पुसमा ५ अर्ब ३ करोड बनाएको छ । यसले गत वर्षको तुलनामा यो वर्ष स्पे्रडदर बढाएका कारण ब्याज आम्दानी बढेको देखिएको छ । यस्तो स्पेडदर २०७९ पुसमा ३.७४ प्रतिशत थियो भने २०८० पुसमा ३.९७ प्रतिशत पुर्याएको छ ।

बैंकले ट्रेडिङबाट हुने आम्दानी ४ करोड २२ लाखबाट बढाएर १२ करोड ६५ लाख रुपैयाँ बनाउन सफल भएको छ । अन्य सञ्चालन आय पनि ८ करोड रुपैयाँ २७ लाख रुपैयाँबाट बढेर ३० करोड ५६ लाख पुगेको छ ।

यो अवधिमा बैंकको कस्ट अफ फण्ड पनि ८.५३ प्रतिशतबाट घटेर ७.५५ प्रतिशतमा झरेको छ । बैंकको खराब कर्जा केही उठेका कारण यसको खराब कर्जा अनुपात समेत ४.५२ प्रतिशतबाट घटेर ३.०२ प्रतिशतमा झरेको छ ।

यो बैंकले चालू आवको ६ महिनामा १ अर्ब ३५ करोड खुद नाफा कमाएको भएपनि उड्न बाँकी १ अर्ब १५ करोड ब्याजका कारण नाफा वितरण गर्न भने पाउँदैन । यही पैसा नउठेका कारण कृषि विकास बैंकले वितरणयोग्य नाफा ३२ करोड ६८ लाख रुपैयाँ ऋणात्मकमा देखाएको छ ।

यो आर्थिक वर्षको ६ महिनामा बैंकले ३० अर्ब रुपैयाँले निक्षेप बढाएर २ खर्ब २९ अर्ब रुपैयाँ पुर्याएको छ भने कर्जा ११ अर्ब रुपैयाँले बढाएर १ खर्ब ८७ अर्ब रुपैयाँ पुर्याएको छ ।

गत वर्षको पुसमा स्रोतको भरपूर उपयोग गरेको बैंकले यो वर्ष पुँजीकोष अनुपातका कारण आक्रामकरुपमा कर्जा विस्तार गर्न नसक्दा ७६.४६ प्रतिशतको कर्जा निक्षेप अनुपात राखेर बसेको छ । जबकी, गत वर्षको पुसमा कर्जा निक्षेप अनुपात ८७.५४ प्रतिशत थियो ।

एभरेष्ट बैंक: चालु आर्थिक वर्षको ६ महिनामा एभरेष्ट बैंकले १ अर्ब ७१ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको नाफा ७.८८ प्रतिशतले बढेको हो । एभरेष्टले गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ५८ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

ब्याज आम्दानी घटे पनि यो बैंकको सञ्चालन आम्दानी बढ्दा यसको सकारात्मक असार नाफामा देखिएको छ । बैंकको खुद ब्याज आम्दानी भने १.२७ प्रतिशतले घटेर ३ अर्ब ६२ करोड रुपैयाँमा खुम्चिएको छ । तर, सञ्चालन नाफा भने १८ करोड रुपैयाँले बढेर २ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरी, यो बैंकको नेट फि एण्ड कमिसन वापतको आम्दानी ४ अर्ब १५ करोड रुपैयाँबाट बढेर ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ । यो बैंकको ट्रेडिङ आय ७ करोड ४० लाख रुपैयाँबाट बढेर १५ करोड ४१ लाख रुपैयाँ पुगेको छ । यसको अन्य सञ्चालन आय पनि ३ करोड ३६ लाख रुपैयाँबाट बढेर ५ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा बैंकले १५ अर्ब रुपैयाँले निक्षेप बढाएर २ खर्ब १३ अर्ब रुपैयाँ पुर्याएको छ । यो अवधिमा बैंकले कर्जा पनि ९ अर्ब रुपैयाँले बढाएर १ खर्ब ६८ अर्ब रुपैयाँ पुर्याएको छ ।

ऋणीलाई राहत दिन बैंकले स्प्रेड दर घटाउँदा ब्याज आम्दानी पनि थोरै घटेको हो । बैंकले ०७९ पुसमा ४.३८ प्रतिशत रहेको स्प्रेड दरलाई घटाएर ०८० पुसमा ४ प्रतिशतमा खुम्च्याएको छ । बैंकले कस्ट अफ फन्ड (लागत) र आधार दर पनि घटाएको छ। जसकारण यो बैंकबाट ऋण लिन निकै सस्तो पर्छ । बैंकले ८.१५ प्रतिशत रहेको लागत घटाएर ६.९९ प्रतिशतमा झरेको छ भने ९.९७ प्रतिशत रहेको आधार दरलाई घटाएर ८.८७ प्रतिशतमा झार्न सपल भएको छ । एभरेष्ट बैंक अत्यन्तै कम खराब कर्जा हुने बैंकमा पर्छ । ०७९ पुसमा ०.५५ प्रतिशत रहेको खराब कर्जा ०८० पुसमा केही बढेर ०.७७ प्रतिशत पुगेको छ ।

खराब कर्जा बढ्दा बैंकको प्रोभिजन पनि केही बढेको छ भने ब्याज उठाउन बाँकी रकम पनि केही बढेको छ । ०७९ पुसा ३२ करोड रुपैयाँ उठाउन बाँकी रहेको ब्याज ०८० पुसमा ४ करोडले बढेर ३६ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ६ महिनाको नाफाबाट बैंकले सेयरधनीलाई ४९ करोड रुपैयाँ लाभांश बाँड्न सक्छ । यस्तो अवस्थामा पनि बैंकको पुँजीमा १३.२६ प्रतिशतको प्रतिफल (आरओई) छ ।

आक्रामक नभइ संयम तरिकाले बैंकिङ गरिरहेको एभरेष्ट बैंकले अरु बैंकको तुलनमा राम्रो प्रफर्मेन्स देखाएको छ । समग्र तथ्यांकका आधारमा भन्दा एभरेष्ट बैंक निकै सुरक्षित छ । आगामी दिनमा यो बैंकले व्यवसाय विस्तार गरेर सेयरधनीलाई अझ राम्रो प्रतिफल दिनसक्ने विश्लेषण गर्न सकिन्छ ।


राजु बास्कोटा