कृषि उत्पादनको विज्ञानलाई ब्राण्डिङ गर्दै एग्रिडाइरेक्ट: नेपाली प्रोडक्टलाई विश्वबजारमा पुर्याउने सुहृदको कदम
काठमाडौं । गत तिहारमा काठमाडौं महानगरपालिकाको अव्यवस्थित तयारीका कारण उपत्यका बाहिरबाट सयपत्री फूल बेच्न आएकाहरु खाली हात फर्किनु परेको थियो । सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा समेत कृषकको सयपत्री नबिकेको विषयले बहस सिर्जना गरेको थियो । धेरैले यसलाई केही रुपमा व्यवस्थापन गर्न सकिन्छ कि भन्ने प्रश्नहरु सार्वजनिक बृत्तमा राखेका थिए ।
त्यहि बेला सुहृदप्रसाद चापागाईंले भने आम मानिसमा भइरहेको कुरालाई नियालेर मात्रै बस्न सकेनन् । उनले सामाजिक सञ्जालबाट खुला रुपमा नै सयपत्रीको विषयमा अध्ययन र अनुसन्धान गर्ने र यसबाट अत्तरदेखि धुपसम्म बनाउनका लागि काम गर्ने घोषणा गरिदिए । नियमित रुपमा आफूले सयपत्री फूलमाथि गरिरहेको अध्ययनलाई लिएर उनले फेसबुकमा पनि पोस्ट गरेका थिए । अहिले त्यहि सयपत्रीबाट बनेको धुप बजारमा उपलब्ध छ भने अत्तर केही समयमा नै बजारमा आउँदैछ ।
‘एग्रिडाइरेक्ट’का संस्थापक सुहृद समय समयमा यस्ता कामहरु गरिरहन्छन् । सामाजिक सञ्जालमा निकै सक्रिय रहेका उनलाई लाग्छ, ‘हजार दिनसम्म एउटै क्षेत्र वा एउटै काममा लाग्ने हो भने त्यसको प्रतिफल अवश्य देखिन्छ ।’
इन्जिनियरिङ र एमबिएको औपचारिक अध्ययन गरेका सुहृद पेशागत रुपमा लामो समय एनजीओ तथा आईएनजीओमा संलग्न रहेका थिए । पाँच वर्षअघि मात्रै उनले एग्रिडाइरेक्टको कामको सुरुवात गरेका थिए । उद्योग विभागमा घरेलु उद्योगका रुपमा दर्ता भएको तीन वर्ष भयो।
एग्रिडाइरेक्टको सुरुवात गर्दा सुहृदसँग वर्षौंको अनुभव थियो । १५ वर्ष उनले डेभलपमेन्ट सेक्टरमा कन्सलटेन्टका रुपमा काम गरेका थिए । एमबिए र इन्जिनियरिङको अध्ययन गरेका थिए । सायद, उनले कृषिको क्षेत्रमा नौलो प्रयासका साथ प्रवेश पनि गर्ने थिएनन् । तर, कन्सलटेन्टका रुपमा काम गरिरहेका उनलाई जब सुझाव मात्रै दिने भन्दै किसानहरुले भने तब भने उनी आफैंले केही गर्ने जमर्कोका साथ एग्रिडाइरेक्टको सुरुवात गरे ।
‘मेरो ब्याकग्राउन्ड इन्जिनियरिङ र एमबिए हो’, उनी भन्छन्, ‘एमबिए उनले दक्षिण भारतमा पढे छात्रवृत्तिमा । त्यहाँ रुरल इन्टरपेनरसिप भन्ने विषय थियो । ‘नेपालको गाउँठाउँलाई कसरी विकास गरिन्छ भनेर चासो राख्न थालेँ । एकाउन्टिङ, मार्केटिङभन्दा पनि मैले रुरल इन्टरपेनरसिपमा नै काम गर्ने सोचें । मैले नेपालकै लोकल प्रोडक्टलाई नै लिएर काम गर्नतिर चासो राखेको थिएँ’ उनले भने।
७७ मध्ये ७४ जिल्ला डेभलपमेन्ट सेक्टरमा काम गर्दाकै शिलशिलामा घुमेका सुहृदले देखेको एउटा समस्या धेरै किसानहरुमा समान थियो । किसानहरुले बजार नपाउने, उत्पादनको भनेजस्तो मूल्य नहुनेजस्ता समस्याहरु सबै जसो ठाउँमा किसानहरुले भोग्नु परेको उनले देखेका थिए । सुहृद त्यहि बेलाबाटै कुनै न कुनै रुपमा कृषकसँग जोडिन र समस्याको सामाधान खोज्नमा तत्पर देखिन्थे ।
अन्ततः यसको सुरुवात पाँच वर्षअघि भयो । कामकै शिलशिलामा काठमाडौंका कृषकहरुले सुहृदलाई प्रश्न गरे, ‘तपाईंले सल्लाह मात्रै दिने, लु तपाईं बेचेर देखाइदिनुस् ।’ कृषकहरुले चेरी टमाटर (साना लोकल टमाटर)को बिक्री नभएको विषयमा सुहृदलाई यस्तो भनेका थिए । उनी सम्झिन्छन्, ‘तब मलाई कुरै मात्र गर्ने, गफ मात्रै गर्ने र योजना मात्रै गर्ने होइन, आफैं बजारमा उद्यमीका रुपमा आउनुपर्छ भन्ने लाग्यो । त्यसैले मैले निरन्तर पहिलो चरणमा काम गरे ।’
सुहृदले एग्रिडाइरेक्टको सुरुवातबाट नै कामलाई चार चरणमा विभाजन गरेर सुरु गरेका छन् । पहिलो चरणमा किसानबाट उत्पादन लिएर काठमाडौंमा सामाजिक सञ्जालदेखि अन्य विभिन्न माध्यमबाट त्यसलाई मार्केटिङ गरेर बिक्री गर्ने हुन्छ । पहिलो चरणबाट काम गरेका कैयौं उत्पादनले अहिले बजारमा राम्रो मूल्य पाउन थालेको सुहृद सुनाउँछन् । उनी भन्छन्, ‘रामेछाप र सिन्धुलीको जुनार चिनिएको छ । सुदूरपश्चिमा यसलाई माल्टा भन्छ । हामी त्यसमा काम गरिरहेका छौं । किसानबाट नै ल्याएर यहाँ मार्केटिङ गर्दै बिक्री गर्यौं । डडेलधुराको जुनार ल्याएर बिक्री गर्न थालेको तीन वर्ष भयो । पहिले त्यहाँ मूल्य नै हुँदैन थियो रे । ५ रुपैयाँ किलो बिक्थ्यो । अहिले ४०/५० रुपैयाँसम्म पुगेको छ ।’
पहिलो चरणमा किसानबाट कृषिजन्य उत्पादनलाई ल्याएर बिक्री गर्ने क्रममा आफूहरुले किवि, टिमुर, बेसार, अकबरे खुर्सानी, अदुवाजस्ता कैयौं वस्तुहरु ल्याएको सुनाउँछन् सुहृद । दोस्रो चरणमा एग्री डाइरेक्टले किसानबाट उत्पादित वस्तुमा भ्याल्यु एड गर्ने काम गरेको छ । सुहृद भन्छन्, ‘दोस्रो चरणको कुरा गर्दा किसानले ५ सय हजार केजी सामान पठाउँदा कतिपय सामान तयार अवस्थामा हुँदैन । त्यहिअनुसारको मूल्य किसानलाई हामी दिन्छौं । दोस्रो चरणमा हामीले उत्पादनलाई भ्याल्यु थप्ने पक्षमा काम गर्न थाल्यौं ।’
किसानले एग्रिडाइरेक्टलाई बेसार पठाएमा आफूहरुले त्यसलाई सुकाएर वा त्यसलाई धुलोमा परिणत गरेर त्यसको भ्याल्यु थप्ने काम गर्ने गरेको सुहृदले सुनाए । उनी भन्छन्, ‘यसले गर्दा किसानले पनि उचित मूल्य पाए । किसानले पठाएका सामानको पनि हामीले पारदर्शी रुपमा यस्तो छ भन्न थाल्यौं ।’
सुकाएका उत्पादनहरुको काम गर्नका लागि घरेलु उद्योगका रुपमा दर्ता भएर एग्रिडाइरेक्टले काम गर्न थालेको तीन वर्ष भएको सुनाउँछन् सुहृद । अदुवा, बेसारजस्ता मसलाजन्य उत्पादनमा एग्रिडाइरेक्टले काम गरिररहेको उनले बताए ।
इन्जिनियरिङ र मार्केटिङ ब्याकग्राउन्डको मान्छे कृषिको क्षेत्रमा कसरी त ? सुहृदसँग यसको पनि आफ्नै जवाफ छ । १९९६ देखि २००० सम्म इन्जिनियरिङ पढेका उनले त्यसपछि मोरङ अटोवर्कस्मा काम गर्न थालेका थिए । बोल्ने शैलीको विकास हुँदै जाँदा २००३ मा पुनः एमबिए अध्ययन गरे । अहिले एग्रिडाइरेक्टमा विज्ञान र व्यवस्थापन दुवैलाई एक साथ लिएर कृषिमा केही फरक गर्ने गरि आफू काम गरिरहेका छन् सुहृद ।
‘पहिलो चरण र दोस्रो चरणको काम गरिरहँदा हामीलाई खाद्यान्नको विज्ञान थाहा हुन थाल्यो,’ उनले भने, ‘सिक्दै बुझ्दै ज्ञान लिने हो भन्छु म । हाम्रो उत्पादनको कुरा गर्दा बेसारमा कर्कुमिन हुन्छ, चिराइतोमा चिराइतिन हुन्छ । त्यसपछि हामीले के बुझ्यौं भने हाम्रो कृषिभित्र ठूलो विज्ञान छ । विश्वभर नै यो कृषिभित्रको विज्ञानलाई एउटा केमिकल भन्छ, अर्को हाइड्रोकेमिकल भन्छ । हामीले तेस्रो चरणमा त्यहि कुरामा काम गर्न थाल्यौं ।’
सुहृद कृषिका उत्पादनहरुमा विज्ञानको पृष्ठभूमि ख्याल गरिनुपर्ने बताउँछन् । बेरासमा कति प्रतिशत कर्कुमिन छ भन्ने कुराले त्यसको भ्याल्युमा फरक पार्ने उनी बताउँछन् । भन्छन्, ‘२ प्रतिशत हो कि ५ प्रतिशत हो कि? जति धेरै कर्कुमिन भयो त्यत्ति महंगोमा हामी बेच्न सक्छौं । त्यो कुरा हामी नेपाली कसैलाई थाहा छैन । हामीले पूर्वदेखि पश्चिमसम्म बेसारमा काम गरिरहेका छौं।’
त्यस्तै, एग्रिडाइरेक्टले अकबरे खुर्सानीको विषयमा पनि निरन्तर काम गरिरहेको छ । सुहृद भन्छन्, ‘हामीले अकबरे खुर्सानीमा काम गर्यौं । सबैले पिरो छ पिरो छ भन्छ । तर, विज्ञानको पक्षबाट हेर्दा त्यसलाई स्केबल हिट युनिट भन्छ । त्यो कति भएमा पिरोपना हुन्छ भन्ने कुरा हुन्छ ।’
दोस्रो चरणबाट नै कृषि उत्पादन पछाडिको वैज्ञानिक पाटोलाई विश्लेषण गर्दै त्यसको आधारमा उत्पादनको ब्राण्डिङलाई विशेष ध्यानमा राखेको एग्रिडाइरेक्टले पछिल्लो समय मह तथा सिलाजितमा पनि काम गर्न थालेको छ । यसलाई उनी तेस्रो चरणका रुपमा परिभाषित गर्छन् । तेस्रो चरणमा कृषि उत्पादन तथा अन्य प्राकृतिक वस्तुहरुको वैज्ञानिक पक्षलाई विश्लेषण गर्दै त्यसलाई उत्पादनका रुपमा बजारसम्म लैजाने रहेको छ । सुहृद आफैं पनि एग्रि डाइरेक्टका प्रोडक्टहरु लिएर विभिन्न प्रदर्शनी तथा स्टल राख्नका लागि पुगिरहेका छन् ।
यी बाहेक कृषिजन्य उत्पादनहरुमा भने सयभन्दा धेरै वस्तुहरुमा काम गरिरहेको उनी बताउँछन् ।
सुहृदले विज्ञान र व्यवस्थापनलाई कृषिमा जोडेका छन् । उनकै बुझाई इन्जिनियरिङ भनेको विज्ञान थियो । कृषिका उत्पादनहरुमा पनि आफूहरुले सोही विज्ञानलाई लागु गरेको बताउँछन् उनी । भन्छन्, ‘कृषि पढिरहेका साथीहरु र मेन्टरहरुले हामी कृषिभन्दा बाहिरको क्षेत्रको मान्छेले कृषिमा विज्ञानको प्रयोग गरिरहेको छ भनेर एकदमै खुसी हुनुहुन्छ ।’
एग्रिडाइरेक्टको मूलमन्त्र भनेको प्राकृतिक उत्पादनलाई विज्ञानले प्रमाणित गर्ने हो । आफ्ना सम्पूर्ण उत्पादनहरुमा प्राकृतिक उत्पादन भएको बताउँछन् सुहृद । उनी आफ्ना उत्पादनलाई अर्गानिक भन्न चाहदैंनन् ।
किन ?
जवाफमा उनी भन्छन्, ‘यसका लागि तेस्रो पक्षको प्रमाणीकरण चाहिन्छ । अर्गानिकभन्दा पनि हामी खाद्य सुरक्षाको कुरा गर्छौं । केमिकल हाजार्डबाट मुक्त हुनुपर्छ । यसको सामान्य उदाहरण भनेको मिनिमम पेस्टिडाइड रेसिड्यु भन्ने एउटा साधारण इन्डिकेटर हुन्छ । कुनै पनि सामानमा केही न केही पेस्टिसाइड हुन्छ । त्यसको विश्वभर एउटा रेन्ज हुन्छ कुन खानका लागि सुरक्षित छ भनेर । हामीले सधैं ध्यान दिएको कुरा हाम्रा बेसार, अकबरे, अदुवामा त्यो खाद्य सुरक्षाको गुणस्तर कसरी छुन सकिन्छ भनेर काम गरिरहेका छौं । हामी हाम्रा उत्पादन बजारमा ल्याउनुभन्दा पनि अध्ययनमा काम गर्नुपर्छ भन्ने हो ।’
एग्रिडाइरेक्टले चौथो चरणमा पूर्णरुपमा उत्पादनहरुलाई बजारमा ल्याउने योजना छ । आफूहरुसँग अहिले पनि केही उत्पादनहरु भए पनि चौथो चरणमा पूर्ण रुपमा सुपरमार्केटहरुमा उपलब्ध हुने गरि उत्पादनहरुलाई ल्याइने योजना रहेको उनले बताए ।
‘पहिलो चरणमा किसानको उत्पादन उपभोक्तामा पुर्यायौं,’ उनी भन्छन्, ‘त्यसबाट नगदको फ्लो भइरह्यो । त्यसले किसान र हामीबीच विश्वासको सम्बन्ध बनेको छ । त्यसले गर्दा हामीलाई सजिलो भएको छ । हामीले मान्छेहरु आवश्यकताअनुसार जोड्दै काम गरेका छौं । अहिले ९ जना छौं टिममा । तर, काम गरेअनुसार घण्टाको आधारमा हामीले पारिश्रमिक वितरण गरिरहेका छौं । तीन वर्षमा एक पटक हामी नेगेटिभमै गएर काम गरेका थियौं । तर, अहिले हामी ठीक अवस्थामा आएर काम गरिरहेका छौं । तीन वर्षको मिहेनतले हाम्रो प्रोडक्टहरु नै ब्राण्ड बनेका छन् ।’
सुहृदले कुनै पनि क्षेत्रमा लाग्नुअघि पटक पटक भन्ने गरेको कुरा ‘सोही क्षेत्रमा हजार दिनसम्म टिक्न सक्यौं भने त्यसमा अघि बढ्न सकिन्छ’ भन्ने हो । सोही कुरालाई आफू र एग्रिडाइरेक्टमा लागु गर्दै उनी काम गरिरहेका छन् । बानेश्वरस्थित घरमा खाद्यान्नमाथि अनुसन्धान र अध्ययन गर्न उनले ल्याब बनाएका छन् । विभिन्न प्रयोगमा नरहेका प्रयोगशालाहरुसँगको समन्वयमा पनि उनले काम गरिरहेका छन् ।
सुरुवात पाँच लाखबाट गरेका सुहृदले अहिले कैयौं किसानहरुलाई बजारसम्म जोड्न, कृषि उत्पादनलाई वैज्ञानिक कारणसहित ब्राण्डिङ गर्दै विश्वबजारमा पुर्याउन र प्राकृतिक उत्पादनहरुलाई उपभोक्ताका लागि सर्वसुलभ रुपमा उपलब्ध गराउन काम गरिरहेका छन् ।
‘हामीले किसानले जे भन्यो त्यहि मार्केटिङ गरेर पहिलो चरणमा बेच्यौं’, उनी भन्छन्, ‘दोस्रो चरणमा उपभोक्ताले हामीलाई विश्वास गरेकाले हामीले सामानहरु सप्लाई पनि गर्यो । सय/डेढ सय वटा सामानहरु पनि सप्लाई गर्यौं । मुग्लान भन्ने ब्राण्डसँग मिलेर पनि हामीले काम गर्यौं, जुन अस्ट्रेलियामा सुपरमार्केटमा छ । विश्व बजारमा हामीले दुई प्रोडक्टलाई लिएर गएका थियौं ।’
आफूले सुरुवात गर्दाको पुँजी पाँच लाख भए पनि कृषकहरुको विश्वास जित्दै जाँदा अहिले ६० लाखको सामान पठाउने गरेको सुहृदले सुनाए । सिजनको समयमा देशका विभिन्न ठाउँका किसानले एग्रिडाइरेक्टबाट बिक्री गराउनका लागि आफ्ना वस्तुहरु बनाउँछन् । कतिपय वस्तु त काठमाडौंमा आइपुग्न साथै सकिने अवस्था आइदिन्छ ।
सुहृदले भने, ‘विश्वासको आधारमा १५ दिनको सर्कुलेसनमा काम गरेका छौं । कृषिको कुरामा ब्राण्डको इमेज र सञ्चालनको खर्च नै प्रमुख रहेछ । त्यहि कुरालाई ध्यानमा राखेर काम गरिरहेका छौं । ब्राण्डको इमेजकै कारण एग्रिडाइरेक्ट केही फरक बनेर उभिएको छ ।’
फोटो भिडियो: युवराज भट्टराई/क्लिकमान्डु