चार्जिङमा राखिएको एमजी जेडएसमा आगलागी, के विद्युतीय गाडीमा आगो लाग्नु सामान्य हो ?



तस्बिर स्रोत: टेकपाना

काठमाडौं । गत साता काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा चार्जिङमा राखिएको एक विद्युतीय गाडीमा आगलागी भएको छ ।

एमजी मोटर्स कम्पनीको जेडएस इभीमा चार्जिङका क्रममा आगलागी भएको थियो । बूढानीलकण्ठ नगरपालिकाको देउवा चोकनजिकै चौरमा चार्जिङमा राखिएको उक्त गाडीमा अचानक आगलागी भएको थियो ।

साँझ ६ बजे चार्जमा राखिएको उक्त गाडीमा राति १ बजे आगलागी भएको हो ।

बागमती प्रदेश ०१ ०२७ च १५८१ नम्बरको उक्त गाडीमा आगलागी भएको प्रहरीले जनाएको छ । गाडीमा आगलागी भए पनि धनजनको क्षति हुन नपाएको काठमाडौंको प्रहरी प्रभाग बुढानीलकण्ठले जनाएको छ ।

गोरखाका सुदीप लामिछानेको उक्त गाडीमा कसरी आगलागी भयो भन्ने विषयमा भने हाल प्रहरी तथा गाडीको नेपालका लागि बिक्रेता कम्पनीले अनुसन्धान गरिरहेको बताइएको छ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो ।

के विद्युतीय गाडीमा आगलागी हुनु सामान्य हो ?

विद्युतीय गाडीमा आगो लाग्ने घटना निकै दूलर्भ मानिन्छ भने यसलाई निभाउनकै लागि पनि अरु किसिमको आगलागीभन्दा बढी समय लाग्ने गरेको अध्ययनहरुले देखाएका छन् ।

हालै अमेरिकाको अल्बामाको राजमार्गमा टेस्लाको मोडल वाईमा आगलागी भएको थियो । उक्त आगो निभाउनका लागि १ लाख ३६ हजार लिटर पानी प्रयोग भएको थियो ।

गत डिसेम्बर ३१ मा मलेसियाको जोहोर क्षेत्रमा मर्सिडिज बेन्जको विद्युतीय गाडी ईक्युबि ३५० मा आगलागी भएको थियो । उक्त गाडीलाई डीसी फास्ट चार्जरमा चार्जिङमा राखेको बेला आगलागी भएको थियो । उक्त आगलागीको घटनामा गाडीको ९० प्रतिशत भाग जलेको थियो भने चार्जिङ स्टेसनमा २० प्रतिशत क्षति पुगेको थियो ।

यसअघि मलेसियामा नै अक्टोबरमा टेस्ला मोडल वाईमा आगलागी भएको थियो ।

भारतमा गत अक्टोबरमा नै बैंगलुरुको डाल्मिया सर्कल क्षेत्रमा महिन्द्रा ई २० मा आगलागी भएको थियो । सडकमा कुदिरहेको बेलामा नै उक्त गाडीमा आगलागी भएको थियो ।

अन्य विभिन्न ब्राण्डका गाडीहरुमा आगलागी भएका यस्ता कैयौं घटनाहरु छन् । काठमाडौंको बूढानीलकण्ठमा आगलागी भएको विद्युतीय गाडी एमजी जेडएसमै अन्य देशमा पनि आगलागीको घटना सार्वजनिक भएको छ ।

गत सेप्टेम्बरमा अष्ट्रेलियाको सिड्नी एयरपोर्टको पार्किङमा राखिएका दुई विद्युतीय गाडीमा आगलागी भएको थियो । एक लिथियम ब्याट्रीमा आगलागी सुरु भएसँगै भएको यो घटनामा कुल पाँच वटा गाडीहरुमा क्षति पुगेको थियो । यो घटनामा एमजी जेडएस विद्युतीय गाडीकै लिथियम आयोन ब्याट्रीबाट आगलागी सुरु भएको थियो । उक्त गाडीमा बिग्रिएको आशंकामा निकालिएको ब्याट्रीबाट आगलागी सुरु भएको थियो ।

सामान्यतयः सञ्चार माध्यममा आउने खबर तथा सामाजिक सञ्जालमा देखिएका कुराहरुको आधारमा विद्युतीय गाडीहरुमा आगलागीको घटना नौलो जस्तो लाग्दैन । तर, विद्युतीय गाडीमा आगलागी हुने घटना भने दुलर्भमध्येमा पर्छ । जोखिमपूर्ण हिसाबले बढी जोखिमको भए पनि यी घटनाहरु निकै दुलर्भ हुने गरेको अध्ययनले देखाएको छ ।

स्वीडिस सिभिल कन्टिजेन्सीज एजेन्सीले २०२२ मा गरेको एक सर्वेक्षणमा एक लाखमध्येमा ३.८ वटा विद्युतीय वा हाइब्रिड गाडीमा आगलागी भएको पाइएको जनाएको थियो भने अन्य किसिमका पेट्रोलियम गाडीहरुमा १ लाखमध्ये ६८ वटामा आगलागी भएको पाइएको थियो ।

अष्ट्रेलियाको डिपार्टमेन्ट अफ डिफेन्सले गरेको इभी फाइरसेफ नामको अध्ययनले यात्रुबाहक विद्युतीय गाडीहरुमा ०.००१२ प्रतिशत मात्रै विद्युतीय गाडीमा आगलागी हुने जोखिम रहेको पाइएको थियो । अन्य किसिमका इन्टरनल कम्बुस्टन इन्जिनका गाडीहरुमा यो जोखिम ०.१ प्रतिशत रहेको छ ।

विश्वकै चर्चित र सबैभन्दा धेरै विद्युतीय गाडी निर्माण गर्ने कम्पनी टेस्लाकाअनुसार सन् २०१२ देखि सन् २०११ सम्ममा अन्य गाडीहरुको तुलनामा प्रतिमाइलमा ११ गुणाले आगलागीको जोखिम कम रहेको छ । इभी फाइरसेफकै रिपोर्टकाअनुसार सन् २०१० देखि २०२३ सम्ममा ३९३ वटा विद्युतीय गाडीमा आगलागीका घटना प्रमाणित भएका छन् । जबकि अहिले विश्वभर सडकमा ३ करोडभन्दा धेरै विद्युतीय गाडी रहेको बताइन्छ ।

द कन्जरभेसनकाअनुसार विद्युतीय गाडीहरुमा प्रयोग हुनेमध्ये ९५ प्रतिशत ब्याट्रीहरुले एउटा दिशातर्फ निर्देशित रहेको आगोका लप्काहरु (डिरेक्सनल फ्लेम्स) हुने किसिमका हुन्छन् भने ५ प्रतिशत चाहिँ बिस्फोट हुने किसिमका रहेका छन् ।

ब्याट्रीमा आगलागी किन हुन्छ भन्ने कुरामा भने विभिन्न कारणहरु रहेका छन् । दुर्घटना हुँदा, उत्पादनका क्रममा भएको गल्ती, ब्याट्रीमै भएका समस्या, बाहिरी तापक्रम वा आगोका कारणलगायतले विद्युतीय गाडीमा आगलागी हुने समस्या उत्पन्न हुने गरेको छ ।

इभी फायरसेफको डेटाबेसकाअनुसार १८ प्रतिशत गाडीहरुमा चार्जिङका क्रममा आगलागी भएका छन् भने २ प्रतिशत चार्जिङबाट निकालिएको एक घण्टाभित्रमा भएका छन् । त्यस्तै, २ प्रतिशत घण्टाहरु अन्डरग्राउन्डमा, ३१ प्रतिशत बाहिर पार्क गरिएको अवस्था र २९ प्रतिशत चलाइरहेको अवस्थामा भएको छ ।

विद्युतीय गाडीमा आगो लाग्ने घटना दूलर्भ र पेट्रोलियम गाडीहरुको तुलनामा कम भए पनि यसको जोखिमको हिसाबले भने धेरै हुने देखिन्छ । मुख्यतः विद्युतीय गाडीको ब्याट्रीमा लाग्ने आगोलाई निभाउन असहज हुने विभिन्न घटनामा देखिएको छ ।

विद्युतीय गाडीमा आगलागी हुँदा अरु बेलाजस्तै पानी हालेर निभाउन सकिँदैन । विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्रीमा आगोले ‘थर्मल रनवे’ को प्रक्रिया सुरु गर्न सक्ने र एउटा ब्याट्रीमा लागेको आगोले अन्य ब्याट्री सेलहरुमा पनि आगलागी हुने जोखिम रहन्छ । आगलागीलाई नियन्त्रण गर्न सफल भए पनि ब्याट्रीमा रहने उच्च तापक्रमका कारण पुनः आगलागी हुने जोखिम रहन्छ । केही मिनेट वा केही घण्टापछि पनि पुनः आगलागी हुने जोखिम रहने गरेको अध्ययनहरुले देखाएका छन् ।


क्लिकमान्डु