पुँजीवादविरुद्धका आरोपहरुको चिरफार गर्ने पुस्तक ‘पुँजीवादः भ्रम, वास्तविकता र तथ्य’



काठमाडौं । इतिहासकार र समाजशास्त्री राइनर जिटलम्यानद्वारा लिखित दुई पुस्तक, ‘सेट योरसेल्फ बिगर गोल्स’ र ‘इन डिफेन्स अफ क्यापिटलिज्म’को नेपाली अनुवाद ‘पुँजीवाद भ्रम, वास्तविकता र तथ्य’ विमोचन भएको छ।

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा, सोधकर्ता तथा समृद्धि फाउन्डेसनकी निर्देशक अर्पिता नेपाल र लेखक राइनर जिटलम्यानको उपस्थितीमा उक्त दुई पुस्तकहरुको विमोचन भएको हो। पुस्तकका अनुवादकहरु सकुन कुमार जोशी, टेक नारायण ढकाल, र नरेन्द्र विक्रम जि सी हुन् ।

जर्मन लेखक जिटलम्यानका २७ ओटा किताबहरु ३० देशहरुमा अनुवाद भइ प्रकाशित भैसकेका छन् ।

उक्त अवसरमा जिटलम्यानले आफुले “पुँजीवाद: भ्रम, वास्तविकता र तथ्य” मा पुँजीवादका सम्बन्धि संसारभरी व्याप्त भ्रमहरुको तथ्यपरक चिरफार गर्न खोजेको बताए ।

लेखकले पुँजीवादलाई लाग्ने १० किसिमका आरोपहरुको मिहिन छानबिन गरी ऐतिहासिक प्रमाणहरुको सहयोगले तथ्यका साथ भ्रम चिरेका छन् । “सन् १८२० देखि २०२२ सम्मको अवधिमा संसारभरी गरिबीको रेखामुनी जीवन बिताउने जनसंख्याको अनुपात ९० प्रतिशतबाट ९ प्रतिशत भन्दा कममा घटेको तथा अर्बपतिहरुको संख्या पनि बढेको छ। यसले पुँजीवादले आर्थिक समृद्धि लिएर आएको स्पष्ट हुन्छ,,” उनले भने ।

त्यस्तै लेखकले बीसौं शताब्दीमा भोकमरीबाट भएका मृत्युहरु ८० प्रतिशत चीन र सोभियत संघमा भएको पनि बताए । “चीनमा माओको समयमा ४ करोड ५० लाख मानिसको मृत्यु भयो तर म भ्रमण गर्ने अधिकांश मुलुकहरुमा यसबारे विद्यालयमा कतै पढाई नहुने गरेको पाएँ,” उनले भने ।

त्यस्तै उनले आर्थिक स्वतन्त्रता र वातावणीय गुणस्तरको सकारात्मक सम्बन्ध हुने तथ्य औंल्याउँदै जुन देशहरुले आर्थिक स्वतन्त्रतालाई अङ्गीकार गर्छन् ती देशहरु नै वातवरणीय गुणस्तरको मानकहरुमा तुलनात्मक रुपमा राम्रो प्रदर्शन गर्ने बताए ।

तत्कालीन पूर्व र पश्चिम जर्मनीको समाज नजिकबाट नियाल्न पाएका लेखक जिटलम्यानले समाजवाद र पुँजीवाद अंगालेका यी दुई देशहरुमा रहेका तत्कालीन खाडलहरुबारे पनि चर्चा गरे । उनले पूर्व जर्मनीको तुलनामा पश्चिम जर्मनी वायुको गुणस्तर धेरै सफा रहने गरको पनि स्मरण गरे ।

लेखक जिटलम्यानले आफुले नेपाल सहित ३५ देशहरुमा पुँजीवादको छविसम्बन्धि अहिलेसम्मकै सबैभन्दा ठुलो आर्थिक सर्वेक्षण गरेको बारे पनि चर्चा गरे । उक्त सर्वेक्षणमा नेपालीहरुको पुँजीवादप्रतिको दृष्टिकोण सर्वेक्षणमा सम्मिलित अरु देशहरुको तुलनामा तटस्थ रहेको बताए ।

यस्तै, सोधकर्ता अर्पिता नेपालले उक्त किताबबारे केहि टिप्पणी गर्दै “पुँजीवाद: भ्रम, वास्तविकता र तथ्य” ले जटिल अर्थशास्त्रिय अवधारणाहरुलाई सरल तरिकाले बुझाउन खोजेको बताइन । “संसारको सबै देशजस्तै नेपालको पनि आफ्नै विशिष्टता छ र यस मौलिक वास्तविकतासँग मेल खाने धेरै उदाहरणहरु किताबमा पाएँ,” उनले भनिन् । उनले उक्त किताबले जटिल आर्थिक अवाधारणाहरूबारे जान्न इच्छुक पाठकहरु र विशेष गरी आर्थिक पत्रकारितामा संलग्न पेशाकर्मीहरुलाई सान्दर्भिक हुन सक्ने बताइन् ।

उनले संसारका अधिकांश असमानताहरु बजारले आँफै निर्माण गर्ने भन्दा राज्यको बेतुकको नियमहरुले जन्माउने गरेको तर्फ इंगित गर्दै नेपालले केहि हदसम्म निजीकरणलाई आत्मसात गरे पनि पुँजीवाद भनेको खुला प्रतिस्पर्धा र स्वच्छ बजारको विकास हो भन्ने बिर्सिन नहुने बताइन् । आर्थिक वृत्तका वहसहरुमा सरकारको मात्र दायित्व खोज्न नहुने र सरकारसँग सबै प्रश्नहरुको उत्तर हुँदैन भन्ने याद गर्नु पर्ने पनि उनको भनाइ थियो ।

सांसद् मनिष झाले देशमा आर्थिक पुन:संरचनाको बहस चलिरहेका बेला “पुँजीवाद: भ्रम, वास्तविकता र तथ्य”ले त्यस सम्बन्धि नविन प्रश्नहरु गर्न सहयोग गर्ने बताए । नेपालमा कानुनसम्मत पुँजी उपयोग गरेर धनआर्जन गर्ने कामलाई नकारात्मक दृष्टिले हेर्ने समस्या व्याप्त रहेकाले समग्र देशको सम्मुनतिका लागि समाजका सबै वर्गको समृद्धि आवश्यक रहेको बिर्सनु नहुने बताए ।

हरेक नागरिकको आफ्नो इच्छाको जीवनशैली जिउने स्वतन्त्रता हुने र राज्यले त्यसमा अनावश्यक हस्तक्षेप गर्न नहुने पनि उनको तर्क थियो ।

लेखक जिटलम्यानले १५ देशहरुमा अनुवाद भैसकेको पुस्तक “सेट योरसेल्फ बिगर गोल्स” मा ५० सफल व्यक्तित्वहरुको आत्मकथा अध्ययन गरी ती सबै जीवनीमा रहेका समान रेशाहरु केलाएका छन। अर्नोल्ड स्वार्जनेगरजस्ता विश्व प्रसिद्ध हस्तीहरुको उदाहरण दिँदै विभिन्न कठिनाई, कष्ट र दुख सहेर पनि ठुलो सपना र दृढ संकल्प बिकास गर्न सके सफलता हात लाग्ने निश्चित रहेको कुरा किताबद्वारा पाठकहरुलाई बुझाउन खोजेको उनको भनाइ थियो । बिशेषगरी युवा पुस्तालाई यो किताब उपयोगी हुने र हरेक युवाले ठुला सपना देख्न जरुरि भएको उनको विचार छ ।

वी रिड प्रकाशनघरबाट प्रकाशित “पुँजीवाद: भ्रम, वास्तविकता र तथ्य” को मूल्य ९५० रहेको छ भने “सेट योरसेल्फ बिगर गोल्स”को मूल्य ९०० रहेको छ।


क्लिकमान्डु