गहुँ र मकैलाई छैन मल तर सरकार भन्छ- अहिलेलाई मौज्दात पर्याप्त छ, फागुनमा फेरि आउँछ
काठमाडौं । गहुँबाली लगाउने समयमा किसानले मलको चर्को अभाव व्यहोर्ने भएका छन् । गहुँबाली लगाउने समय सुरु भइसक्दा रासायनिक मलको मौज्दात निकै कम रहेकाले किसानले पर्याप्त नपाउने निश्चित भएको हो ।
गहुँ र मकैका लागि युरिया १ लाख ५० हजार, डीएपी ८० हजार र पोटास २० हजार टन गरी २ लाख ५० हजार टन आवश्यक पर्छ । तर, कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमा जम्मा ९२ हजार ७५० टनमात्रै मल छ । यसरी हेर्दा गहुँ र मकैबालीका लागि १ लाख ५७ हजार टनभन्दा बढी रासायनिक मल अभाव हुने देखिन्छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने गहुँबालीका लागि मलको मौज्दात पर्याप्त रहेको दाबी गरिरहेको छ । मन्त्रालयले कृषि सामग्री र साल्ट ट्रेडिङसँग १ लाख २ हजार ११२ टन मल मौज्दात रहेको बताएको छ ।
बर्से धानबालीपछि देशभर गहुँ र हाइब्रिड मकै बाली लगाउने समय सुरु हुन्छ । दुवै बालीलाई पर्याप्त परिमाणमा युरिया, डीएपी र पोटास मल आवश्यक पर्छ । अहिले किसानले गहुँ र हाइब्रिड मकै छर्न सुरु गरिसकेका छन् ।
गहुँको बीउ छरेको २१ दिनमा टप ड्रेसिङ गर्ने बेलामा मलको माग अत्यधिक हुन्छ । कृषि सामग्री कम्पनीका एक अधिकारीका अनुसार गहुँबालीका लागि झन्डै ७० प्रतिशत रासायनिक मल अभाव हुने भएको छ । मल आपूर्ति गर्ने कम्पनीहरुले पनि टेन्डर कवोल गर्दा सस्तोमा गरेको तर आपूर्ति गर्ने क्रममा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेको भन्दै मल आपूर्ति गर्न आनाकानी गर्दै आएको ती अधिकारीले जानकारी दिए ।
‘निर्धारित समयमा मल आपूर्ति नगरेकाले धेरै आपूर्तिकर्ता कम्पनीको ठेक्का नै रद्द गरिसकेका छौं, केही ठेक्काको मल नक्कली कागजात बनाएर इरानबाट ल्याइएकाले त्यस्ता मल अस्वीकार गरी फिर्ता गरेका छौं । अब पाइपलाइनमा रहेका मल पनि वैशाखअघि आउने काँटछाँट छैन,’ ती अधिकारीले भने, ‘हामीसँग पहिलादेखि नै मौज्दात अत्यन्त कम छ । पाइपलाइनबाट आउन पनि कम्तीमा ५ महिना लाग्ने भएकाले गहुँबाली र मकै बालीका लागि मलको चर्को अभाव हुँदैछ ।’
साल्ट ट्रेडिङका सहायक कार्यकारी प्रमुख संकेत भट्टराईले भने गहुँलाई मल अभाव नहुने दाबी गरे । अहिले मौज्दात रहेको मलले सहज रुपमा गहुँको माग धान्ने उनको तर्क छ । भट्टराईले थप मल नआए आगामी चैते धान र असारमा लगाइने बर्से धानबालीका लागि भने अभाव चर्किने बताए ।
कुन निकायसँग कति मल ?
कृषि सामग्रीसँग अहिले ३२ हजार २५० टन रासायनिक मल मौज्दात छ । यसमध्ये १२ हजार टन युरिया, २० हजार टन डीएपी र २५० टन पोटास मौज्दात छ ।
यस्तै साल्टसँग ६५ हजार टन मल मौज्दात छ । यसमध्ये युरिया ४० हजार, डीएपी २० हजार र पोटास ५ सय टन मौज्दात छ । ती दुवै संस्थासँग मौज्दात रहेको मल र माग परिमाणलाई हेर्दा युरिया ९८ हजार, डीएपी ४० हजार र पोटास १९ हजार ५ सय टन अभाव हुने देखिएको छ ।
साल्टले ल्याउन लागेको कति ?
साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक कार्यकारी प्रमुख भट्टराईका अनुसार २५ हजार टन युरिया आपूर्ति गर्न टेन्डर आह्वान गरिएको छ । यसैगरी साल्टले २६ हजार टन डीएपी र ५ हजार टन पोटास आयात गर्न टेन्डर आह्वान गरेको छ । कुनै भवितव्य नआए युरिया वैशाखदेखि, डीएपी र पोटास फागुनको अन्तिम सातादेखि नेपाल भित्रिन सुरु हुने भट्टराईले बताए ।
‘सरकारले हामीलाई अहिल्यै थप बजेट र कोटा प्रदान गरेको अवस्थामा चैतेबाली र बर्से धानबालीका लागि आवश्यक पर्ने मल आपूर्ति गर्न सकिन्छ,’ उनले भने ।
कृषि सामग्री कति ल्याउँदै छ ?
कृषि सामग्री कम्पनीले चालु आर्थिक वर्षमा २ लाख ४० हजार टन युरिया मल आपूर्ति गर्न ८ वटा, १ लाख २० हजार टन डीएपीका लागि ५ र १० हजार टन पोटासका लागि २ गरी १५ वटा टेन्डर आह्वान गरेको थियो । पोटासको टेन्डरमा अहिलेसम्म कसैले सहभागिता जनाएको छैन ।
यो टेन्डरमध्ये अहिलेसम्म एलसी खुलेको युरियातर्फ ३६ हजार ८६२ टन छ । यस्तै डीएपीतर्फ ५० हजार ५० सयको एलसी खुलेको छ । बाँकीको हकमा अहिलेसम्म एलसी पनि खुलेको छैन ।
कतिपयले ठेक्का कवोल गर्दा सस्तो रकम प्रस्ताव गरेको र अहिले आपूर्ति गर्ने समयमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा कवोल गरेको रकममा उपलब्ध गराउन आनाकानी गर्दा त्यस्ता ठेक्का समस्यामा परेका छन् ।
‘एलसी खुलेको मल पनि वैशाखभन्दा पहिले आउने अवस्था छैन,’ कृषि सामग्रीका एक अधिकारीले भने, ‘एलसी नखुलेको टेन्डरको मल कहिलेसम्म आउँछ भन्ने कुनै सुनिश्चितता भएन ।’
वैशाखसम्म कम्पनीमार्फत ३६ हजार ८६२ टन युरिया र २५ हजार टन डीएपी आउनेचाहिँ निश्चित छ । जसअनुसार युरियातर्फ २९ हजार ९३३ टनको टेन्डर नम्बर १४५/०७९/८० र ६ हजार ९२९ टनका लागि टेन्डर नम्बर १४८/०७९/८० को एलसी खोलिएको छ । यस्तै टेन्डर नम्बर १४९/०७९/८० को डीएपीको पनि एलसी खुलेको छ ।
कम्पनी अधिकारीका अनुसार पाइपलाइनमा रहेको उक्त तीनवटै टेन्डर कवोल गरेका आपूर्ति कम्पनीले भर्खरै एलसी खोलेका छन् । एलसी खुलेको १०६ दिनमा मल नेपाल भित्रिन सुरु हुने ती अधिकारीले जानकारी दिए । यसबाहेक टेन्डर नम्बर १४६/०७९/८० को २५ हजार ५ सय टन डीएपीको एलसी खुले पनि कबोल गरेको मूल्यमा आपूर्तिकर्ताले मल आयात गर्न चासो नदिएको कम्पनीले जनाएको छ ।
कृषि सामग्रीको अधिकांश टेन्डर प्रक्रियामै, केही मल फिर्ता
युरियाको ८ वटामध्ये ३०-३० हजार गरी ६० हजार टनको २ वटा टेन्डर भारतको इण्डियन पोटास लिमिटेड (आईपीएल) कवोल गरेको थियो । आईपीएलले युरिया मलतर्फको टेन्डर नम्बर १४७/०७९/८० र १५०/०७९/८० हात पारेको थियो । युरियातर्फको टेन्डर नम्बर १४७/०७९/८० को ३० हजार टन युरिया मल आईपीएलले नक्कली कागजात बनाएर नेपालमा आपूर्ति गर्न खोजेपछि कृषि सामग्री कम्पनीले उक्त मल अस्वीकार गरी गत असोज पहिलो सातातिर कोलकाता बन्दरगाहबाट फिर्ता गरेको थियो ।
आईपीएलले स्विट्जरल्यान्डको जेनेभास्थित विश्वविख्यात अन्तर्राष्ट्रिय सर्वेयर संस्था एसजीएस (सोसाइटी जनरल द सर्भिलिअन्स) को सक्कली प्रतिवेदन र ट्रेडमार्कको हुबहु मिल्ने गरी किर्ते नक्कली कागजात बनाएर फाइनान्सियल एक्सन टास्क फोर्सको (एफएटीएफ) कालोसूची र अमेरिकाको पनि आर्थिक नाकाबन्दीमा (स्याङसन) परेको इरानबाट रासायनिक मल आपूर्ति गर्ने प्रयास गरेको थियो । आईपीएलले साल्ट ट्रेडिङ कर्पोरेसनलाई पनि यस्तै प्रकारको नक्कली कागजातको आधारमा रासायनिक मल आपूर्ति गर्दैआएको क्लिकमान्डुले दस्तावेज प्राप्त गरेको छ ।
‘फिर्ता भएको उक्त परिमाणबापतको युरिया मल अहिलेसम्म प्राप्त भएको छैन,’ कृषि सामग्रीका अधिकारीले भने, ‘हामीले नक्कली कागजातको भरमा ल्याइएको मल फिर्ता गरेपछि त्यसको साटो अर्को युरिया मल उपलब्ध गराइदेऊ भनेर पटक-पटक पत्राचार गरेका छौं । तर हालसम्म उपलब्ध भएको छैन ।’ यस्तै ३० हजार युरियाको टेन्डर नम्बर १५०/०७९/८० हात पारेको आईपीएलले एलसी खोलेर पनि मल उपलब्ध गराएको छैन ।
यसबाहेक आईपीएलले २५ हजार टन डीएपीतर्फ १५१/०७९/८० नम्बरको टेन्डर पनि हात पारेको थियो । यो डीएपी मल आपूर्ति गर्न हालसम्म एलसीसमेत खोलिएको छैन । आईपीएलले हात पारेको यो डीएपीको ठेक्कासहित १० वटा टेन्डरको हालसम्म कुनै प्रक्रिया अघि बढेको छैन । १० वटै टेन्डरको कुनै प्रक्रिया अघि नबढ्दा यसबापतको मल असार-साउनमा पनि भित्रिने टुंगो नभएको कम्पनीका अधिकारीले बताएका छन् ।