सेटिङमा ‘किर्ते’ कागजात खडा गरी अर्बौंको मल आयात, ‘एसजीएस’ प्रतिवेदन नै नक्कली

नक्कली कागजात भेटिएपछि जहाज फिर्ता



फाइनान्सियल एक्सन टास्क फोर्सको (एफएटीएफ) कालोसूची र अमेरिकाको पनि आर्थिक नाकाबन्दीमा परेको इरानबाट किर्ते र नक्कली कागजातको भरमा नेपालमा रासायनिक मल आपूर्ति भइरहेको तथ्य फेला परेको हो ।

काठमाडौं । आर्थिक चलखेल र ‘माफिया’ को मिलेमतोमा नक्कली र किर्ते कागजात खडा गरी आपूर्तिकर्ता कम्पनीले प्रतिबन्धित मुलुकबाट नेपालमा रासायनिक मल निर्यात गर्दै आएको रहस्य खुलेको छ ।

फाइनान्सियल एक्सन टास्क फोर्सको (एफएटीएफ) कालोसूची र अमेरिकाको पनि आर्थिक नाकाबन्दीमा (स्याङसन) परेको इरानबाट किर्ते र नक्कली कागजातको भरमा नेपालमा रासायनिक मल आपूर्ति भइरहेको तथ्य फेला परेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारी, ठूला व्यवसायिक घराना र मल आपूर्तिसम्बन्धी ठूलो माफियाको ‘सेटिङ’ को भरमा अवैद्य रुपमा मल आपूर्ति भइरहेको स्रोतले जनाएको छ ।

नेपालमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनले रासायनिक मलको कारोबार गर्दैआएका छन् । यी दुई कम्पनीलाई सरकारले मलको खरिदमा अनुदान उपलब्ध गराउँदै आएको छ । सोहि रकमबाट खरिद हुने मल ती दुवै संस्थाले किसानलाई उपलब्ध गराउँदै आएका छन् ।

पछिल्लो समयमा ती दुवै कम्पनीलाई रासायनिक मल आपूर्ति गर्ने निकायको नाममा मल ‘माफिया’को मिलेमतोमा नक्कली र किर्ते कागजात खडा गरिएको प्रमाण क्लिकमान्डुले फेला पारेको हो ।

क्लिकमान्डुले फेला पारेको कागजातको आधारमा नेपालमा पछिल्लो समयमा गुणस्तरहीन रासायनिक मल आयात भइरहेको फेला परेको हो ।

स्वीट्जरल्याण्डको जेनेभास्थित विश्वविख्यात अन्तर्राष्ट्रिय सर्वेयर संस्था एसजीएस (सोसाइटी जनरल दी सर्भिलिअन्स) को सक्कली प्रतिवेदन र ट्रेडमार्कको हुवहु मिल्ने गरि किर्ते नक्कली कागजात बनाएर मल माफियाको मिलेमतोमा रासायनिक मल आयात भइरहेको हो ।

‘एसजीएस’ ले खाद्य पदार्थ, पेयजन्य पदार्थ, पेट्रोलियम पदार्थ, खनिज, औद्योगिक क्षेत्रबाट उत्पादन हुने सम्पूर्ण प्रकारको उत्पादन, रसायन, रासायनिक मललगायतको गुणस्तर परीक्षण गर्ने र भेरिफिकेसन गर्ने काम गर्दछ । परीक्षणको आधारमा यसले भेरिफिकेसन प्रमाणपत्र जारि गर्छ ।

यो संस्थाबाट जारी भएको प्रमाणपत्रलाई विश्वभरका राष्ट्रहरुले मान्यता प्रदान गर्नुका साथै विश्वास पनि गर्दै आएका छन् । विश्वभरका ९३ वटा मुलुकमा यसको शाखा कार्यालय छ । यसले जेनेभास्थित केन्द्रीय कार्यालयसहित आफ्ना शाखा कार्यालयमार्फत हरेक बस्तुको गुणस्तर प्रमाणीकरण, भेरिफिकेसन र परीक्षण गरी ती वस्तुहरुको हकमा प्रमाणपत्र जारी गर्दैआएको छ ।

एसजीएसको नाममा जारी नक्कली प्रमाणपत्रहरु

पछिल्लो समय नेपालमा कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनलाई भारतको इण्डियन पोटास लिमिटेड (आईपीएल) ले युरिया मल उपलब्ध गराउँदै आएको छ । कम तौल र गुणस्तरहीन रासायनिक मल उपलब्ध गराउने आईपीएल नेपालमा बदनाम आपूर्तिकर्ता कम्पनी हो ।

किर्ते र नक्कली कागजातको भरमा आईपीएलले नेपाललाई मल उपलब्ध गराउँदै आएको रहस्य खुलेपछि कृषि सामग्री कम्पनीले उक्त मल नबुझेर फिर्ता पठाएको छ । तर सोही आईपीएलले फेरि साल्ट ट्रेडिङ कर्पोरेशनको ४४ हजार टनको दुई ठेक्का हात पारेको छ ।

यसमध्ये आईपीएलले रुसबाट २० हजारको लट आपूर्ति गरिसकेको छ भने २४ हजार टन आउने क्रममा रहेको छ । साल्टले भेरिफिकेसन बिना उक्त परिमाणमा ल्याउन लागेको मलसमेत नक्कली कागजातकै भरमा आएको हुन सक्ने आशंका गरिएको छ ।

प्रधानमन्त्री कार्यालयमातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयका निर्देशक कृष्णराज पन्तले कुनै संस्थाको नाममा नक्कली कागजात बनाएर सामान आयात गर्नु आफैंमा भ्रष्टाचारजन्य काम भएको बताए ।

‘यो धेरै ठूलो भ्रष्टाचारजन्य काम हो, यो निक्कै संवेदनशील र डरलाग्दो विषय हो, नक्कली कागजात खडा गरि सामान आयात गर्दा धेरै प्रकारको भ्रष्टाचार भएको हुन्छ । पहिलो त कागजात खडा गर्दा नै ठूलो भ्रष्टाचार हुने भयो,’ निर्देशक पन्तले भने, ‘दोश्रो भनिएको एउटा र आउँदा अर्को गुणस्तरको आउँदा त्यहाँ पनि भ्रष्टाचार भयो, तेस्रो ढुवानीस्थल भनेको एउटा र गर्दा अर्को स्थान पर्दा पनि भ्रष्टाचार हुने नै भयो । अर्को कन्ट्रि अफ ओरिजन एउटा उल्लेख गर्ने तर अर्को स्थानबाट ल्याउँदा पनि ठूलो भ्रष्टाचार भएको हुनुपर्छ ।’

यो विषयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गहन र सुक्ष्मरुपमा छानबिन गर्नुपर्ने पन्तले बताए । एफएटीएफको कालोसूची र अमेरिकाको स्याङसनको सूचीमा परेको मुलुकबाट किर्ते कागजातको आधारमा सामान ल्याउँदा यो विषय झनै डरलाग्दो भएको उनको कथन छ ।

यसरी खुल्यो रहस्य

माफियाहरुको मिलेमतोमा कसरी किर्ते र नक्कली कागजात तयार गरी नेपालमा गुणस्तरहीन रासायनिक मल आपूर्ति हुन्छ भन्ने बारेमा यर्थाथ बुझ्न केही महिनाअघि फर्किनुपर्छ ।

कृषि सामग्री कम्पनीले २०७९ फागुन २२ गते ३० हजार टन युरिया मल आयात गर्न ग्लोबल टेण्डर आह्वान गरेको थियो । आउनै लागेको धानवालीको समयको माग धान्नका लागि उक्त टेण्डर आह्वान गरिएको थियो । टेण्डर भारतको आईपीएलले पायो । आईपीएलले प्रतिटन ४ सय ३७ अमेरिकी डलरमा उक्त ठेक्का हात पारेको थियो । ठेक्का पाएको आईपीएलसँग गत जेठमा कृषि सामग्री कम्पनीले मल आयातको लागि सम्झौता गर्‍यो । सम्झौताअनुसार उक्त मल साउन महिनामा आइपुग्नु पर्ने थियो ।

‘तर निर्धारित समयभन्दा एक महिना कटेपछि बल्ल उक्त मल बन्दरगाहमा आइपुग्यो,’ कृषि सामग्री कम्पनीका एक अधिकारीले भने । यो मल आउनुभन्दा अघि नै अन्तर्राष्ट्रिय क्षेत्रमा नक्कली कागजातको आधारमा मल आयात निर्यात भइरहेको जानकारी आफूले पाएको उनले बताए ।

‘मलाई पनि शंका लागेर आयो । त्यसपछि मैले यो विषयमा गोप्य रुपमा अध्ययन गरें,’ ती अधिकारीले क्लिकमान्डुलाई भने, ‘सरोकारवाला निकायमा सम्पर्क गरी अध्ययन गर्दा किर्ते र नक्कली कागजातकै आधारमा मल आपूर्ति भइरहेको रहस्य फेला पर्‍यो ।’

उनकाअनुसार मलको गुणस्तरको बारेमा भेरिफिकेसन गर्ने र प्रमाणीकरण गर्ने विश्वविख्यात संस्था एसजीएसको सम्पूर्ण कागजात नै किर्ते र नक्कली भएको फेला पारियो । आईपीएलले कृषि सामग्रीलाई पठाएको सर्टिफिकेट नम्बर ‘१८०८२३०८६ डी’, ‘१८०८२३०८६ ई’ र ‘१८०८२३०८६ एफ’ सम्बन्धी एसजीएसले जारी गरेको भनिएको प्रमाणपत्रको परीक्षण ती अधिकारीले गरेका थिए ।

‘आईपीएलले उपलब्ध गराएको सर्टिफिकेट नम्बर र कोड नम्बर एसजीएसको मुख्यालयमा ईमेलमार्फत पठाएर भेरिफिकेसन गर्न मैले आग्रह गरेको थिए,’ ती अधिकारीले भने, ‘जवाफमा एसजीएसले उक्त नम्बरको प्रमाणपत्रहरु नक्कली बनाइएको र अनाधिकृत रुपमा पुनरुत्पादन गरिएकाले उक्त प्रमाणपत्रमाथि भर नपर्न आग्रह गर्दै पत्र पठायो ।’

एसजीएसबाट आधिकारिक रुपमा उक्त कागजातहरु किर्ते गरी नक्कली बनाइएको पुष्टि जवाफ आएपछि कृषि सामग्री कम्पनीका अधिकारीहरु झस्किए।

ती अधिकारीकाअनुसार कागजात अध्ययन गर्ने क्रममै पनामाको झण्डासहितको ‘समिर’ नामको मदर भेसल पानीजहाज ओमानको सोहरभन्ने पोर्टबाट नेपालको लागि ३० हजार टन युरिया मल बोकेर भदौ १७ गते भारतको कोलकातास्थित हल्दिया बन्दरगाहमा आइपुगेको थियो । यो मल आईपीएलले आयात गरेको थियो ।

उता कृषि सामग्री कम्पनीका उच्च अधिकारीहरुले नक्कली कागजातको आधारमा मल आएको विषयमा जानकारी प्राप्त गरिसकेका थिए । यो जानकारी प्राप्त गर्नासाथ कृषि सामग्री कम्पनीका अधिकारीहरुले आईपीएललाई उक्त मल अनलोड नगर्न र उक्त मल नबुझ्ने भन्दै ३ वटा पत्र पठाएको थियो ।

पत्र पठाउँदा पठाउँदै पनि बन्दरगाहमा आइपुगेको मलमध्ये ७ हजार टन (१ लाख ४० हजार बोरा) सानो जहाजमा सारेर कृषि सामग्री कम्पनीको बोरामा प्याकेजिङ गरि पोर्टमा कृषि सामग्री कम्पनीलाई भिडाउन खोजियो ।

‘उक्त मल बुझ्न ठूलो दबाब आयो, बुझ्न नमान्दा करोडौं रुपैयाँ उपलब्ध गराउनेदेखि ज्यान नै मार्नेसम्मको दबाब आयो,’ स्रोतले भन्यो, ‘तर हामी उक्त मल स्वीकार्न तयार भएनौं । अन्ततः हामी त्यो मल फिर्ता गर्न सफल भयौं ।’

नक्कली र किर्ते कागजातको आधारमा भित्र्याइएको उक्त मल बुझ्न नसक्ने भन्दै करिब ३ साताअघि कृषि सामग्री कम्पनीले उक्त मल फिर्ता पठाएको थियो । यसरी फिर्ता पठाइएको मल भारतको डिर्पाटमेन्ट अफ फर्टिलाइजरको सहमतिमा पुनः भारतीय बोरामा प्याकेजिङ गरि स्थानीय बजारमा पठाइएको छ ।

यस्तो छ, एसजीएसको जवाफ

‘तपाईंले पठाउनु भएको पत्रको लागि धन्यवाद ।

सर्टिफिकेट/टेस्ट रिपोर्टको रेफरेन्स नम्बर ‘१८०८२३०८६ डी’, ‘१८०८२३०८६ ई’ र ‘१८०८२३०८६ एफ’ सम्बन्धी प्रमाणपत्रसहितको पत्र १८ अगस्त २०२३ मा प्राप्त भयो । तपाईंले पठाएको डकुमेन्टहरु सक्कली होइनन् । यी डकुमेन्टहरु एसजीएसको अनाधिकृत पुनरुत्पादन हो । त्यसैले यस्तो डकुमेन्टमा विश्वास नगर्न र यो डकुमेन्टको कुनै भ्यालु नहुने जानकारी गराउँछौं । एसजीएसको ट्रेडमार्कको दुरुपयोग र अपव्याख्या भएको यो डकुमेन्ट बाहिर नल्याउन आग्रह गर्छौं । तपाईंलाई हामीले पठाएको यो पत्रको प्रतिलिपि, यो नक्कली डकुमेन्ट तयार पार्ने पक्षदेखि अन्य कुनै तेस्रव पक्षका साथै बैंकलाई समेत प्रदान गर्नुहोला । तपाईंलाई थाहा भएअनुसार एसजीएसले कुनै पनि किसिमको पत्र वा कागजातको नक्कल बनाउने वा त्यसलाई फरक पार्ने किसिमको कामलाई गम्भीरतापूर्वक लिन्छ र हामी यस्ता नक्कली डकुमेन्टको स्रोत ट्र्याक गर्नमा तपाईंको सहायताको पनि आशा गर्दछौं ।’

एसजीएसको जवाफीपत्र
एसजीएसको पत्र

यसबीचमा आफ्नो नाममा किर्ते र नक्कली कागजात बनाएर अवैध रुपमा मलको कारोबार गरेको विषयमा ध्यानाकर्षण भएको भन्दै एसजीएसले सन् २०११ देखि सप्लायरको नाममा जारि गरेको सम्पूर्ण प्रमाणपत्र संस्थाको केन्द्रिय मुख्यालयमा उपलब्ध गराउन सप्लायरहरुलाई परिपत्र गरेको छ । एसजीएसले उक्त घटना छानविन गर्नका लागि सम्पूर्ण प्रमाणपत्रहरु उपलब्ध गराउन परिपत्र गरेको हो ।

यस्तो छ आईपीएलको विगतको बदमासी

प्रतिबोरा २ देखि ५ किलो कम परिमाणमा गुणस्तरहीन मल प्याकेजिङ गरी कृषि सामग्री कम्पनीबाट विगतमा पूर्ण तौल (५० किलो) को रकम असुल गर्ने आईपीएलको बदमासी पटक पटक फेला परेको थियो । २०७५ भदौतिर कृषि सामग्री कम्पनीले आईपीएलबाट ३० हजार टन युरिया मल खरिद गरेको थियो । उक्त लटको मलको बोरामा ५ किलोसम्म कम तौल भेटिएको थियो ।

यसअघि कम्पनीले भारतको आसामको ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनीबाट जीटुजी (गभर्मेन्ट टु गभर्मेन्ट) सुविधा अन्तर्गत खरिद गरेको मलमा प्रतिबोरा १० किलो कम परिमाणमा भेटिएको थियो ।

यसैगरी २०६७/६८ तिर पनि आईपीएलले आपूर्ति गरेको मल कम तौलको भेटिएको थियो । तत्कालिन समयमा सार्वजनिक लेखा समितिले आईपीएललाई कालो सूचीमा राखेर मल खरिद नगर्न निर्देशन दिएपनि कमिशनको खेलमा पुनः सोही कम्पनीसँग नेपालले मल खरिद गर्दै आएको छ ।

कागजमा ‘ओमान’ तर ‘इरान’ बाट आयात

आईपीएलले आयात गरेको उक्त मलको आधिकारिक कागजातमा मल आयात गर्ने मुलुक ओमान र ओमानको सोहर पोर्टबाट समिर नामको जहाजमार्फत भनेर उल्लेख गरेको छ ।

तर प्राप्त कागजातअनुसार समिर नामको उक्त जहाज ओमानबाट नभइ इरानको शाहिद रजाई पोर्टबाट हिँडेको फेला परेको छ ।

शाहिद रजाई पोर्टले जारी गरेको पोर्ट क्लियरेन्स प्रमाणपत्र अनुसार उक्त जहाज भारतको कोलकातास्थित हल्दियाको लागि हिडेको थियो । पोर्ट क्लिरेन्स प्रमाणपत्रअनुसार उक्त जहाज रसियाको नोभोरोसिस्कबाट इरानको शाहिद रजाईं पोर्ट आइपुगेको थियो ।

इरानको उक्त पोर्टमा त्यो जहाजमा २९ हजार ८ सय ८५ टन मल लोड गरिएको थियो । यसरी तयार पारिएको किर्ते कागजातले ओमान उल्लेख गरेपनि उक्त रासायनिक मल इरानबाट कोलकाताको हल्दिया पोर्टमा आइपुगेको पुष्टि हुन्छ ।

प्रतिबन्धित मुलुकबाट मल आयात

विश्वभरको मुलुकहरुको वित्तीय नियमन गर्ने अन्तर्राष्ट्रिय अन्तरसरकारी निकाय फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले प्रतिवन्ध गरेको इरानबाट उक्त रासायनिक मल मगाइएकाले आपूर्तिकर्ता कम्पनीले एसजीएसको नाममा किर्ते कागजात तयार गरेको दाबी स्रोतको छ ।

एफएटीएफले इरानलाई प्रतिबन्धित मुलुकको सूचीमा राख्नुका साथै कालोसूचीमा राखेको छ । यसका साथै अमेरिकाले पनि इरानलाई कारोबारका लागि स्यांगसन लगाएर प्रतिबन्धित मुलुकमा सूचीकृत गरेको छ ।

एफएटीएफको कालोसूची र अमेरिकाको स्यांगसनको सूचीमा रहेको इरानबाट मल खरिद गरी नक्कली कागजातको भरमा नेपालमा आपूर्ति गर्नु आफैंमा ठूलो घोटाला हो । एफएटीएफको प्रतिबन्धित सूचीमा उत्तर कोरिया, म्यानमार र इरान सूचीकृत छन् ।

एफएटीएफ सम्पत्ति शुद्धीकरण, आतंकवाद, विनाशकारी हतियारको व्यापार र अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको एकतामा हुने विभिन्न प्रकारको खतराविरुद्ध लड्न कानुनी र नियामकको रुपमा भूमिका खेल्दै आएको छ ।

एफएटीएफको कालोसूची र अमेरिकाको स्यांगसनको सूचीमा परेको इरानमा अमेरिकी डलरको अभाव छ । इरानबाट प्रत्यक्ष रुपमा अन्य मुलुकले आर्थिक कारोबार गर्न हच्किने भएकाले पनि उक्त मुलुकले डलरको अभाव व्यहोर्न बाध्य छ ।

अमेरिकी डलर आर्जन गर्ने उद्देश्यले इरानले अन्तर्राष्ट्रिय बजारको तुलनामा निक्कै सस्तो मूल्यमा आफ्नो उत्पादन उपलब्ध गराउदै आएको छ । मलबिज्ञहरुका अनुसार इरानमा उत्पादन हुने रासायनिक मल विश्वभरमै सबैभन्दा राम्रो गुणस्तर र सस्तो मूल्यको छ ।

सस्तो मूल्यमा खरिद तर महँगोमा उपलब्ध

स्रोतको दाबीअनुसार इरानले अमेरिकी डलर आर्जन गर्न निक्कै सस्तोमा रासायनिक मल बिक्री गर्दैआएको छ । इरानाले प्रति टन १ सय ६५ डलरदेखि २ सय ५ डलरसम्ममा मल बिक्री गर्दैआएको छ । सोही मललाई आपूर्तिकर्ता कम्पनीले अन्तर्राष्ट्रिय मूल्यअनुसार प्रति टन ४ सय ३० देखि ५ सय ६० डलर सम्ममा उपलब्ध गराउँदै आएका छन् । यसरी हेर्दा प्रति टनमै २ सय ७० दखि २ सय ९० डलरसम्म बढी नाफा खाने गरेको पुष्टि हुन्छ ।

इरानबाट अर्बौंको सामान आयात

एफएटीएफको कालो सूची र अमेरिकाको स्यांगसनमा रहेको इरानबाट अर्बौ रुपैयाँबराबरको विभिन्न सामान नेपालमा घुमाउरो बाटोबाट आयात भइरहेको छ । स्रोतका अनुसार सबैभन्दा बढी गुणस्तरहिन बिटुमिन इरानबाट श्रीलंका पुग्ने र श्रीलंकाबाट नेपाल भित्रिदैं आएको छ ।

यस्तै जिरा, भाइमसला, सुपारी पनि इरानबाट श्रीलंका ल्याएर त्यहाँबाट नेपालमा आयात भइरहेको छ । श्रीलंका र नेपाल दुबैसार्क मुलुकभित्र परेका कारण साफ्टाअन्तर्गत पाइने भन्सार छुटमा श्रीलंकाबाट ती सामानहरु नेपालमा भित्रिने गरेको दाबी स्रोतको छ ।


राजेश बर्मा