ऐनाको चक्रव्यूह, जहाँ आफ्नै प्रतिविम्बसँग झुक्किन्छ मान्छे



काठमाडौं । नयाँ बानेश्वरकी शर्मिला ठकुरी सिसैसिसाको भुलभुलैयामा फसिन् । एउटा कोठामा प्रवेश गरेकी उनी बाहिर निस्किने बाटो खोज्दै झन्डै १५ मिनेट भौंतारिइन् । हातले सिसालाई समात्दै बाटो पहिल्याउन निरन्तर प्रयास गर्दा पनि निस्कन नसकेपछि उनलाई तेन्जिङ शेर्पा आफैँले कोठाबाट बाहिर निकाल्नुपर्‍यो ।

बाहिर निस्केपछि उनले बल्ल चाल पाइन्, आफू हिँडेको १५ मिनेटको दूरी त एउटा सानो कोठा पो रहेछ । ‘हिँडेर चाबहिल नै कटिसकेँ जस्तो लाग्थ्यो, यति सानो कोठामा कसरी १५ मिनेटसम्म हराएँ म ?’ आश्चर्यचकित भावभंगीमा उनले भनिन् ।

शर्मिला हराएको बाटो सुरुङ जस्तै थियो । निलो बत्ती र सिसैसिसाका भित्ताहरु । उनी यस्तो चक्रव्यूहमा फसेकी थिइन्, जहाँबाट जता हेरे पनि आफूलाई मात्र देख्थिन् । चारैतिर देखिएका आफ्नै प्रतिविम्बले हिँड्दै आएको बाटोसमेत बिर्साएको थियो । हातले छामछुम गर्दै अगाडि बढ्ने प्रयास गर्दा पनि उनी कयौँ पटकसम्म एकै स्थानमा दोहोर्‍याउँदै हिँडिरहिन् ।

अब कता जाने ? दोधारमा परेकी उनी घरी आफ्नै प्रतिविम्बलाई हेर्थिन् त घरी प्रतिविम्बले झुक्याएको बाटोलाई । बाहिरबाट नियालिरहेका तेन्जिङ मुसुमुसु हाँसिरहन्थे । शर्मिला घरीघरी ढोकैमा पुग्थिन् तर छामछुम गर्दै पुन: फर्किन्थिन् ।

निकैबेरसम्म निस्कन नसकेपछि उनले सहयोग मागिन् र बाहिर निस्किइन् ।

शर्मिला काठमाडौंको चाबहिलमा रहेको ऐनाको भुलभुलैया अर्थात् मिरर मेजमा बाटो पत्ता लगाउने खेलकी पात्र बन्न नयाँ बानेश्वरबाट पुगेकी थिइन् । ‘सामाजिक सञ्जालमा देखेको थिएँ, सोचेभन्दा धेरै डर र रमाइलो दुवै एकैपटक अनुभूति भयो,’ उनले सुनाइन् ।

तीन वर्षदेखि चाबहिल र कुमारीपाटीमा मिरर मेज सञ्चालनमा छ । सञ्चालक तेन्जिङ शेर्पाले शर्मिलालाई जसरी नै दैनिक २ सयभन्दा बढीलाई कोठाभित्र प्रवेश गराउँछन् र बाटो पत्ता लगाउन लाउँछन् । कोही बाटो पत्ता लगाएर निस्कन्छन् त कोही त्यहीँ अलपत्र पर्छन् । शर्मिला त्यही अलपत्र पर्नेहरुमा एक थिइन् ।

मिरर मेजका सञ्चालक तेन्जिङ खेलको खासियत नै प्रतिविम्बको भुलभुलैयामा फसाउनु रहेको मान्छन् । उनलाई लाग्छ, आफ्नै प्रतिविम्बले आफैंलाई झुक्याएको अनुभूति निकै रोमाञ्चक हुन्छ । यही रोमाञ्चक अनुभूति गराउँदै उनको व्यवसाय अघि बढेको छ ।

तेन्जिङले ल्याएको चाबहिलको मिरर मेजमा हाल तीन प्रकारका थिम छन् । जहाँ आउने ग्राहकलाई ब्लुलाइट, लेजर लाइट र इन्फिनिटी थिममा बाटो पत्ता लगाउने खेल खेलाइन्छ । ऐनैऐना जडित एउटा कोठामा थिमअनुसारका बत्ती बालेर बाटो पत्ता लगाउन लगाइन्छ ।

ब्लु थिममा ऐनाका बीच नीलो बत्ती बालिन्छ र मानिसलाई कोठामा प्रवेश गराएर निस्किने बाटो खोज्न लगाइन्छ । बत्तीका कारण मानिसले बाटो पहिल्याउन सक्दैन । ऐनामा देखिएको चारैतिर एकैनासको प्रतिविम्बले मानिसलाई झुक्याउँछ । एउटा सानो कोठाभित्रै पनि मानिस १० देखि १५ मिनेटसम्म निरन्तर हिँडेर बाटो खोजिरहन्छ ।

चाबहिलको शाखाबाट मात्रै ७० जनासम्मलाई खेल खेलाउँदै उनीहरुको अनुभूति बटुलिरहेका तेन्जिङको आइडियाको स्रोतबारे जान्न भने उनको बालापनसम्म पुग्नुपर्छ । जहाँ उनी हिन्दी सिनेमा हेरेर पेट मिची-मिची हाँसिरहेका हुन्छन् ।

यसरी फुर्‍यो मिरर मेजको आइडिया

बाल्यकालमा धेरै सिनेमाहरुले हामीलाई पेट मिची-मिची हँसाएका छन्, चाहे ती नेपाली हुन्, चाहे हिन्दी । २४ वर्षीय तेन्जिङलाई पनि उसैगरी धेरै दिनसम्म सम्झी-सम्झी हँसाएको थियो, हिन्दी सिनेमा फिर हेरा फेरीले ।

अझ सिनेमामा हिरो अक्षय र गुण्डा पात्रबीचको भागम्भाग र ऐनाको भुलभुलैमा फसेको दृश्यले त उनलाई ठूलो हुन्जेलसम्म हँसाइ नै रह्यो ।

सिनेमा हेरेकै एक दशक बित्यो । तेन्जिङ स्कुलबाट विश्वविद्यालयमा उक्लिए । तर, उनले सिनेमाको त्यो दृश्य बिर्सिएनन् । अझ भनौँ, उनले त्यसबेला नै ऐनको भुलभुलैयाबारे सोधखोज गर्न भ्याए ।

‘ऐनाको प्रतिबिम्बले मान्छेलाई झुक्याएर हिँड्नै नसक्ने बनाउने त्यो त मिरर मेज रहेछ,’ एक दशकअघिको कौतुहल खोल्दै तेन्जिङ त्यही भुलभुलैयाअगाडि गफिन्छन् ।

सिनेमाले उनलाई मनोरञ्जनमात्रै दिएन, बिजनेस आइडिया नै दियो ।

मिरर मेज अर्थात् ऐनाको भुलभुलैमा दैनिक सयभन्दा बढी मानिसलाई फसाउँदै, हसाउँदै व्यवसाय गरिरहेका तेन्जिङलाई सिनेमा अन्तत: मनोरञ्जनमा सीमित भएन, बिजनेसको मियो पनि बन्यो ।

कसरी त ?

तेन्जिङका बुबा ट्राभल व्यवसायी हुन् । उनी अधिकांश समय बुबासँगै अफिसमा बिताउँथे । यसले व्यवसाय गर्नुपर्छ भन्ने चेत उनमा सानैबाट पलाएको थियो । त्यसैले उनले व्यवस्थापन विषयमा स्नातक गरे ।

स्नातकले उनलाई सर्टिफिकेटमात्रै थमाएन, बिजनेस गर्ने पार्टनर र बिजनेस आइडिया पनि थमायो ।

खासमा सिनेमाको दृश्यलाई बिजनेसमा ढाल्ने प्रण भने तेन्जिङले स्नातक पढ्दै गर्दा अन्तिम सेमेष्टरमा गरेका थिए । आन्टरप्रेनरसिप विषयका लागि उनीहरुलाई टास्क दिइएको थियो । जहाँ विद्यार्थीको हरेक समूहले एउटा नयाँ बिजनेस आइडिया खोज्ने र त्यो कसरी सञ्चालन गर्ने भन्ने सम्पूर्ण रिसर्च गर्नुपर्ने थियो । तेन्जिङ २० वर्षका थिए । उनलाई एक दशकअघि सिनेमामा देखिएको मिरर मेजको दृश्य सम्झना आयो ।

‘मैले मिल्ने साथी रेसिका आचार्यलाई सुनाएपछि थाह भयो, उनले मलेसिया जाँदा त्यस्तो मिरर मेजको अनुभव लिइसकेकी रहिछन्,’ उनले सम्झिए ।

उनैले तेन्जिङलाई हौसला दिइन् र आफूले लिएको अनुभवबाट कसरी बिजनेस गर्ने त्यो पनि भनिन् । त्यसपछि कलेजको प्रोजेक्टका लागि गरेको रिसर्चलाई व्यवसायमा उतार्न कस्सिए रेसिका र तेन्जिङ ।

नेपालमा यस्ता खेलको बारेमा खासै जानकारी पाएनन् उनीहरुले । पोखरामा एउटा भए पनि सोचेजस्तो भुलभुलैया थिएन त्यहाँ । यो कुराले उनीहरुलाई व्यवसाय गर्न थप उत्सुक बनायो ।

आर्थिक स्थिति राम्रै भएकाले अब लगानी जुटाउन परिवारलाई मनाउनु थियो । तेन्जिङले बुबालाई मनाए अनि रेसिकाले उनका बुबा-आमालाई । साथमा सहयोग गर्न अघि बढिन् तेन्जिङकी दिदी निमा पनि ।

भुलभुलैया बनाउन सजिलो थिएन । ऐना पनि विशेष प्रकृतिको चाहिन्थ्यो । उनले नेपालमै ऐना पाए पनि राख्ने कसरी भन्ने थाहा पाउन सकेनन् । गुगलको सहायतामा आफैँले नक्सा कोरे तर उनैलाई मन परेन ।

खोज्दै जाँदा मलेसियामा यसप्रकारको काम गर्नै मान्छे पाइने रहेछन् । उनले इन्टरनेटबाटै सम्पर्क गरे र उनीहरुलाई नेपाल बोलाए । ‘म त आफूले देखेको जसरी नक्सा तयार पारिरहेको थिएँ, खासमा त्यो गलत रहेछ, यो त गणितीय रुपमा ऐना फिट गर्नुपर्ने रहेछ,’ उनले भने ।

यसरी सन् २०१९ मा १९ लाख रुपैयाँ लगानी गरेर तीन जनाले कुमारीपाटीमा मिरर मेजको शुभारम्भ गरे । पहिलो ग्राहक बनिन् तेन्जिङकै हजुरामा ।

‘हजुरआमालाई सुरुमा बाटो खोज्न भित्र पठाएको थिएँ । सबैतिर आफूलाई देखेर उहाँ त मरी-मरी हाँस्नुभयो,’ उनले सुनाए, ‘बाटो खोज्नै नसकिने भन्दै निस्कँदा हजुरआमासँगै परिवार र साथीहरु सबै हाँसिरहेका थिए ।’

हजुरआमाको हाँसो अब ग्राहकमा सार्नु थियो उनलाई ।

सुरुमा सामाजिक सञ्जालमा प्रचार गरे । धेरैले पत्याएनन् । पत्याउनेहरु मिरर मेजमै आइपुग्न थाले । सबै अचम्म पर्दै बाहिर निस्कँदा रेसिका र तेन्जिङ खुसीले मख्ख पर्थे । शुल्क सस्तो भएकाले खुलेको केही समयमै ग्राहकको भीड थामिनसक्नु भयो, जसका लागि उनीहरु स्वयं तयार थिएनन् ।

‘प्रतिव्यक्ति २ सयदेखि २५० रुपैयाँ लिँदा पनि भीड बढ्न थालेपछि साँच्चै सही बाटोमा रहेछौँ भन्ने लाग्यो,’ तेन्जिङ भन्छन् ।

छोराछोरीको बढ्दै गएको व्यवसायलाई लिएर दुवैका अभिभावक पनि खुसी थिए । नभन्दै रेसिका र तेन्जिङ बुबाआमाबाट लिएको १९ लाख ऋण एक वर्षमा नै तिर्न सफल भए ।

व्यवसाय विस्तारको सोच बन्दै गयो । यतिबेलासम्म कुमारी पाटीबाट मिरर मेज चाबहिलसम्म पुगिसकेको थियो । चाबहिलपछि अर्को स्थानका लागि उनीहरु योजना बनाउँदै थिए ।

तर, कोरोना संक्रमण सुरु भएपछि व्यवसाय बन्द गर्नुपर्‍यो । विस्तारको सोच त त्यसै ओइलाउने नै भयो । कोभिड संक्रमणका ३ वर्ष फाट्टफुट्ट सञ्चालनमा आए पनि उति सहज भएन । यो समय उनीहरुलाई फेरि अभिभावकै सहयोग चाहियो भाडा तिर्न पनि।

कोभिड संक्रमण कम भएर सरकारले लकडाउन अन्त्य गरेपछि ग्राहकको चहलपहल पनि बढ्न थाल्यो । दैनिक ७० जनासम्म ग्राहक बाटो पत्ता लगाउन र भुलभुलैमा रमाउन आउन थाले ।

उनीहरुको शाखा विस्तारको योजनालाई बढ्दै गएको ग्राहकको चहपहलले थप हौसला दिन थाल्यो ।

उनीहरुको चाबहिलको शाखा कुमारीपाटीको भन्दा थप व्यवस्थित र फराकिलो थियो । ४० लाख रुपैयाँ लगानी गरेर उनीहरुले व्यवस्थित मिरर मेज सञ्चालनमा ल्याएका थिए । अहिले भने विस्तारको योजना छाडेर यसैलाई थप व्यवस्थित बनाउन तेजिङ लागिपरेका छन् ।

चाबहिल चोक र कुमारीपाटीमा रहेको मिरर मेज अहिले तेन्जिङ र निमाले सञ्चालन गरिरहेका छन् । रेसिका अध्ययनका लागि विदेशमा छिन् ।

एकपटकको लगानी सधैँको कमाइ

तेन्जिङ नेपालमा मनोरञ्जनका क्षेत्रको रुपमा सिनेमा हल, थिएटर र पार्कमात्रै चिनिँदै आएको तर्क गर्छन् । उनलाई लाग्छ, अब नेपाली उपभोक्ता साहसिक र रोमाञ्चकारी खेलहरुको खोजीमा छन् ।

मनोरञ्जनका लागि पारिवारसँग बाहिर घुम्न जान चाहनेहरुको पहिलो विकल्प मिरर मेज हुनसक्छ । भारत, मलेसियालगायतका देशमा यसको व्यवसाय सफल भइसकेको छ ।

मनोरञ्जनप्रति मानिसको बढ्दो रुचि र लगानीका हिसाबले सुरक्षित रहेकाले यो व्यवसाय दीर्घकालीन हुने उनको धारणा छ । हुन पनि मिरर मेजमा अन्य क्षेत्रमा जस्तो पटक-पटक लगानी पनि गरिरहनु पर्दैन । एकपटक गरेको लगानीले दीर्घकालसम्म व्यवसाय धानिरहन सक्छ ।

‘ऐना फुट्ने भन्ने हुँदैन कहिलेकाहिँ धेरै एक्साइटमेन्टमा ग्राहक भित्र दगुर्दा ठोक्किएर फुट्ने हुनसक्छ,’ उनी भन्छन्, ‘यसका लागि हामी उहाँहरुलाई सिसाको बारेमा जानकारी दिन्छौं र सावधानीपूर्वक हिँड्न आग्रह गर्छौं ।’ यसबाहेक लाइट फिटिङ र सरसफाइमा थोरै खर्च हुन्छ ।

यद्यपि, तेन्जिङ भने एउटै आइडियाले ग्राहकलाई सधैँ तानिरहन नसकिने धाराणा राख्छन् । उनलाई लाग्छ, अब ग्राहकको रुचिअनुसार मिरर मेजलाई अझै धेरै रोमाञ्चकारी बनाउनुपर्नेछ । यसका लागि नयाँ प्रकृतिका ऐना र विभिन्न खेल थप्दै जानुपर्नेछ । भुलभुलैयामा सधैँ मानिस नभुलिनेमा उनी प्रस्ट छन् ।

‘हामी थप परिष्कृत गर्न लागिपरेका छौँ, बत्तीको सहायतले धेरै प्रकारका थिममा ग्राहकलाई भुलाउने योजनामा छौँ,’ उनले भने ।


सम्झना घिमिरे