संसारलाई आर्थिक वृद्धिको अवसर दिलाउने चिनियाँ पहलको चर्चा
गत साता चीनको राजधानी बेइजिङमा बेल्ट यान्ड रोड फोरम सम्मेलनको तेस्रो संस्करण भव्यताका साथ सम्पन्न भएको छ । चीनका राष्ट्रपति सी चिनपिङले १० वर्षअघि घोषणा गरेको महत्त्वाकांक्षी परियोजना बेल्ट यान्ड रोड इनिशिएटिभ (बीआरआई) को १०औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त सम्मेलनमा संसारभरिका १४० भन्दा बढी मुलुकका प्रतिनिधिहरू सहभागी थिए जसमा कतिपय मुलुकका राष्ट्रप्रमुखहरू समेत उपस्थित थिए ।
यस सम्मेलनको आयोजना गर्नुभन्दा एक साताअघि चीनले ‘द बेल्ट यान्ड रोड इनिशिएटिभ : ए की पिल्लर अफ द ग्लोबल कम्युनिटी अफ शेयर्ड फ्युचर‘ नामक श्वेतपत्र जारी गरेको थियो । त्यसमा साझा भविष्यको विश्वव्यापी समुदाय निर्माणमा सहयोग गर्ने बीआरआईको ध्येय रहेको उल्लेख थियो । अमेरिका नेतृत्वको पश्चिमले ‘नियममा आधारित व्यवस्था’ का नाममा प्रभुत्व कायम गरेको स्थितिमा त्यसको विकल्पका रूपमा सारा विश्व, विशेषगरी गैरपश्चिम मुलुकहरू (ग्लोबल साउथ), सँग एक्यबद्धता कायम गर्नका लागि बीआरआईलाई चीनले माध्यम बनाउन खोजेको संकेत यसबाट पाइन्छ ।
संसारभरि भौतिक पूर्वाधार निर्माण गर्ने योजनाका साथ ल्याइएको बीआरआईको व्यापक भूराजनीतिक प्रभाव परेको छ भने यसले लाभग्राही मुलुकहरूमा सकारात्मक परिवर्तनहरू पनि ल्याएको छ । तर बीआरआई वास्तवमा के हो र यसको उद्देश्यहरू के हुन् भनी विभिन्न भ्रमहरू फैलाइएका छन् ।
पश्चिमको मूलधारे सञ्चारमाध्यमलाई यसको दानवीकरण गरिएको छ । गरीब मुलुकहरूलाई ऋणपासोमा फसाएर तिनीहरूमाथि भूराजनीतिक प्रभुत्व कायम गर्ने चिनियाँ षड्यन्त्रका रूपमा यसलाई पश्चिमी र भारतीय सञ्चारमाध्यमहरूले चित्रित गर्ने गरेका छन् । उनीहरूले बीआरआई निरन्तर असफल रहँदै आएको र चीनले विभिन्न मुलुकमा बनाएको विशाल परियोजनाहरू सेतो हात्तीका रूपमा रहेको भाष्य निर्माण गर्ने गरेका छन् ।
तर चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले तयार पारेको ‘राइजिङ विथ प्राइड’ शृंखलामा बीआरआईका कारण विभिन्न विकासशस्ल मुलुकका मानिसको दैनिक जीवनमा आएको सकारात्मक परिवर्तनहरूको बारेमा यथार्थ वर्णन गरिएको छ । नाइजेरियाको इग्बेसा गाउँमा बीआरआई अन्तर्गत बनेको विद्यालयका कारण स्थानीयहरूको शैक्षिक स्तर बढेकोदेखि बोलिभियाको कोलोमीमा चीनले बनाएको जलविद्युत् संरचनाका कारण आदिवासी समुदायहरूको घरमा पहिलोपटक बिजुलीबत्ती बलेकोसम्मका कथाहरू भेटिन्छन् ।
बीआरआई के हो भनी बुझ्नका लागि हामीले चीनको परराष्ट्रनीतिका लक्ष्यहरूको अध्ययन गर्नुपर्ने हुन्छ । चीनले असंलग्नताको नीतिका साथै गैरपश्चिम विकासशील मुलुकहरूसँगको एक्यबद्धतालाई परराष्ट्रनीतिको केन्द्रमा राख्ने गरेको छ । माओको शासन रहेको बेलामा चीनले ‘तीन विश्व नीति’ अपनराउँदै आफूलाई शीतयुद्धमा रहेका अमेरिका र सोभियत संघभन्दा अलग राखेर असंलग्नताको अभ्यास गरेको थियो ।
पहिलो विश्व अमेरिका नेतृत्वको पश्चिम थियो भने दोस्रो विश्व सोभियत संघ र उसका साझेदारहरू थिए । तेस्रो विश्व भन्नाले यी दुई खेमामा औपचारिक रूपमा संलग्न नरहेका एसिया, दक्षिण अमेरिका र पश्चिम एसियाली मुलुकहरू थिए ।
चीनले यही तेस्रो वर्गका मुलुकहरूसँग सम्बन्ध विस्तारमा जोड दिएको थियो । पश्चिमले शोषणलाई आधार बनाएर लादेको उपनिवेशबाट मुक्त भएका मुलुकहरूसँग सम्बन्ध घना बनाउने चीनको नीति थियो । त्यसक्रममा चीनले अफ्रिका, दक्षिण एसिया, दक्षिण अमेरिका र पश्चिम एसियाका विभिन्न मुलुकहरूसँग औपचारिक साझेदारी (अलायन्स) नभई राष्ट्रिय सार्वभौमसत्ता र स्वतन्त्रताको आधारमा सम्बन्ध बनाएको थियो ।
माओको देहावसान भएको लामो समय बितिसक्दा पनि यी सिद्धान्तहरू चीनको विश्वदृष्टिका महत्त्वपूर्ण आधारशिलाका रूपमा रहेका छन् । गैरपश्चिम मुलुकहरूप्रति चीनको सदाशयको यो दृष्टिकोणले नै बीआरआईलाई पनि निर्देशित गर्ने गरेको छ ।
त्यसैले गर्दा पश्चिमले नवउपनिवेशवादी नीति अपनाउँदै बनाएको र प्रभुत्व जमाएको विश्व आर्थिक प्रणालीका कारण विकासबाट वञ्चित भएका मुलुकहरूलाई गरीबीबाट उकास्नका लागि आफ्नो अनुभव र स्रोतसाधन उपलब्ध गराउन चीनले बीआरआईलाई अघि सारेको हो । आर्थिक वृद्धि हासिल गर्न सफल हुने ती मुलुकहरूसँग कारोबार थप बढाउने र आफ्नो अर्थतन्त्र अझै बलियो बनाउने उद्देश्य पनि बीआरआईले लिएको छ । त्यसैले यसलाई चीनले सबैको जीत (विन–विन) का रूपमा अर्थ्याउने गरेको छ ।
हुन पनि विगत चार दशकमा ८० करोडभन्दा बढी मानिसलाई गरीबीबाट उकासेको चीनसँग नै संसारभरिको गरीबी निर्मूल पार्न सक्ने भिजन छ । सन् २०२१ मा मुलुकभित्रको चरम गरीबीमाथि विजय हासिल गरेको घोषणा गरेसँगै चीनले अब विश्वका अन्य मुलुकमा रहेको गरीबी हटाउन प्रयत्न गरिरहेको छ ।
त्यसका लागि बीआरआईका अतिरिक्त चीनले विश्वव्यापी विकास पहल (ग्लोबल डिभलपमेन्ट इनिशिएटिभ–जीडीआई) समेत आरम्भ गरेको छ । यसले भौतिक पूर्वाधारमा भन्दा पनि दिगो समयसम्म कायम रहने शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा लगानी गर्ने उद्देश्य लिएको छ । गरीब मुलुकहरूमा ‘लुबान वर्कशप’ नामक प्राविधिक शिक्षालयहरू खोलेर चीनले त्यहाँ इन्जिनीयरहरू उत्पादन गर्नका लागि सहयोग गरिरहेको छ ।
बीआरआईका सकारात्मक पक्षहरूको उदाहरण दिनुपर्दा सन् २०२१ मा बनेको चीन–लाओस रेलमार्गलाई अघि सार्न सकिन्छ । दक्षिणपूर्व एसियामा रहेको भूपरिवेष्ठित मुलुक लाओस आफ्नो भौगोलिक अवस्थितिका कारण गरीब रहँदै आएको छ । तर बीआरआई अन्तर्गतको रेलमार्ग परियोजनाका कारण उक्त मुलुक सिधै चीनसँग जोडिन पाएको छ र उसका उत्पादनहरू चीनतर्फ निर्यात गर्ने अवसर प्राप्त भएको छ । यसले गर्दा लाओसको आर्थिक वृद्धिको बाटो खुलेको छ ।
भियतनाम युद्धको समयमा अमेरिकाले लाओसमा २७ करोड बम खसाएर तहसनहस बनाएको थियो । लाओसमा विस्फोट नभएर बसेका बमहरू पन्छाउँदै चीनले निर्माण गरेको परियोजनाका कारण अब त्यो देश आर्थिक समृद्धिको दिशातर्फ उन्मुख छ । त्यसलाई सन्दर्भ बनाउँदै फ्रान्सेली भूराजनीतिक विश्लेषक अर्नाउ बर्ट्रान्डले अमेरिकाको बीआरआई (बम यान्ड रुइन– बम विस्फोट तथा विनाश) र चीनको बीआरआईबीच तुलना गरेका छन् ।
लाओसको उदाहरण किन पनि सान्दर्भिक छ भने त्यसको अवस्थिति नेपालसँग मिल्दोजुल्दो छ । भूपरिवेष्ठित र भारतवेष्ठित भूगोलका कारण नेपालको आर्थिक उन्नति हुन नसकेको भनिरहँदा उत्तरी छिमेकीसँगको सम्पर्क विस्तारको अवसर दिलाउने बीआरआईलाई नेपालले उत्साहका साथ अघि बढाउनु जरूरी छ । तर सरकारी उदासीनताका कारण नेपालमा बीआरआई परियोजनाहरू अलपत्र परिरहेका छन् ।
त्यसो त बीआरआई पूर्णरूपमा सफल रहेको भनेर दाबी गरिहाल्न पनि मिल्दैन । युरोपका बाल्टिक मुलुकहरूसँग चीनले अर्बौं डलरको सहमति गरेको भए पनि त्यहाँ एउटा पनि परियोजना सञ्चालनमा छैन । इटलीमा पनि बीआरआईको कुनै काम नभएकाले ऊ यसबाट हट्न खोजिरहेको खबर आएको छ ।
तर कुनै देशमा बीआरआई सफल भएन भन्दैमा अन्यत्र पनि असफल हुन्छ भनी व्याख्या गर्न मिल्दैन । सबभन्दा महत्त्वपूर्ण कुरा त, पश्चिमी प्रभुत्व रहेका विकास संस्थाहरू विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको विकल्पका रूपमा बीआरआई आएपछि विकासशील मुलुकहरूलाई छनोटको सुविधा प्राप्त भएको छ । ऋणपासोको भाष्य खडा गर्नेहरूले कुनै पनि मुलुकले लिएको चिनियाँ ऋण पश्चिमी संस्थाहरूले लिएको ऋणको तुलनामा सानो हुने गरेको तथ्यलाई ओझेलमा पार्ने गरेका छन् । तर सत्य उद्घाटित हुँदै जाँदा विकासशील मुलुकहरूले बीआरआईलाई अँगालिरहेका छन् ।
पश्चिमले अहिले विश्वव्यापीकरणको साटो संरक्षणवादलाई अपनाउने स्वकेन्द्रित आर्थिक नीति अपनाइरहेको अवस्थामा चीनले बीआरआईमार्फत आशापूर्ण, सकारात्मक र खुला आर्थिक व्यवस्थालाई अघि सारिरहेको छ । आर्थिक खुलापन तथा घना परिमाणको व्यापारमार्फत विश्वलाई अन्योन्याश्रित बनाउने चीनको प्रयासलाई बीआरआईले सार्थकता प्रदान गरिरहेको छ ।
त्यसलाई मन नपराएर पश्चिमले चीनलाई गैरजोखिमीकरण (डिरिस्किङ) र सम्बन्ध विच्छेद (डिकपलिङ) रूपी नीतिका साथ एक्ल्याउने प्रयास गरेको भए पनि चीनले गैरपश्चिम मुलुकहरूसँग सम्बन्ध विस्तार गरेर ती मुलुक र स्वयं आफ्नो पनि आर्थिक वृद्धिका लागि प्रयत्न गरिरहेको छ । गत साता सम्पन्न बेल्ट यान्ड रोड फोरमले यही तथ्यलाई विश्वसामु प्रस्तुत गरेको छ ।