सुस्तायो द्रुत बस सेवा, यातायात व्यवसायी भन्छन्ः सञ्चालनमा हतारिँदा समस्या आयो



काठमाडौं । दसैंको माहोलले द्रुत बस सेवा सुस्ताएको छ । सुरुवाती चरणमा पूर्वाधार तयारीबिनै सञ्चालनमा ल्याएको भन्दै आलोचना खेपेको द्रुत बस सेवा एक महिना नहुँदै बन्द हुने अवस्थामा पुगेको हो ।

सरकारले असोज ३ गते तामझामका साथ उद्घाटन गरेर सुरु गरेको थियो । रत्नपार्कबाट सूर्यविनायकका लागि चल्ने द्रुत बस सेवा नेपालका लागि पहिलो अभ्यास हो । तर सरकारको पर्याप्त अध्ययन तथा अनुसन्धानबिना नयाँ सेवा सुरु गरिएको कारण यसको दीर्घकालीन संचालन तथा उपयोगमा समस्या आएको हो ।

द्रुत बस सेवा सञ्चालनका लागि सबैभन्दा चुनौतीको रुपमा ट्राफिक व्यवस्थापन थियो । सोही ट्राफिक व्यवस्थापन गर्न नसक्दा सञ्चालनमा समस्या आएको व्यवसायीले बताएका छन् । व्यवसायीले द्रुत बस सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधारको व्यवस्थापनमा सहजीकरण नहुँदा बस सञ्चालन गर्न कठिन भएको बताएका छन् ।

सरकार र यातायात व्यवसायीबीच २५ वटा बस द्रुत सेवाअन्तर्गत सञ्चालन गर्ने सहमति भएको थियो । तर, सञ्चालनमा ल्याएको  करिब एक महिना नपुग्दै बन्द हुने अवस्थामा पुगेको नेपाल यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन् । उनका अनुसार व्यवसायीले दिएको सुझावअनुरुप सेवा त सञ्चालनमा आयो तर सरकारले सञ्चालनका लागि सहजीकरण गरेन ।

‘सरकारले ४५ मिनेटमै रत्नपार्कदेखि सूर्यविनायक तथा सूर्यविनायकदेखि रत्नपार्क आइपुग्ने गरी यो बस सेवाको सुरुवात गरेको थियो । काठमाडौंदेखि वनेपा तथा काभ्रे सडकखण्डमा चल्ने पुरानै बसलाई द्रुत बस सेवाको नाम दिँदै यसको सुरुवात गरेको पहिलो अभ्यास थियो,’ उनले भने, ‘तर सञ्चालनका लागि सरकारले पूर्वाधार तयारी कमजोर हुँदा ट्राफिक व्यवस्थापनका निकै चुनौती थपिएको छ ।’

द्रुत बस सेवा नेपालका लागि निकै राम्रो सेवा हो । उपत्यकामा सञ्चालनमा ल्याएको उक्त सेवा सफल भएमा देशभरका मुख्य सहरहरुमा सञ्चालनको बाटो खुल्थ्यो । द्रुत बस सेवामार्फत् निजी सवारी साधनको निरुत्साहित भई सबैलाई सहज पनि हुन्थ्यो । सोहीअनुसार व्यवसायीले सुझाव दिई सुरुवात गरेका थिए । तर, नेपालमा उक्त सेवा प्रभावकारी नभएको उनको भनाइ छ ।

‘द्रुत बस सेवाका लागि पूर्वाधार नै मिलेन,’ सिटौलाले भने, ‘हामीले छुट्टै लेन माग गरेका थियौं । सरकारले भने रङ लगाएर व्यवस्थापन गर्‍यो । उक्त सडकमा द्रुत बसभन्दा पनि अन्य सवारी साधनको बढी चाप भयो ।’

उनका अनुसार द्रुत बस सेवाका लागि तयारी गरेको सडकमा अन्य सवारी साधनको प्रयोग बढ्दा झनै ट्राफिक जाम बढ्यो । उदाहरणको रुपमा सञ्चालनमा ल्याएको उक्त सेवालाई अब सरकारले कमी कमजोरीलाई सुधार गर्दै जानुपर्ने देखिन्छ । सरकारले व्यवस्थापनमा सहजीकरण गरेमा दसैंपछि द्रुत गतिमा बस सेवा सञ्चालन हुने उनको भनाइ छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले दसैंको महोलले द्रुत सेवा बस कम चल्न थालेको बताए । उनका अनुसार दसैंले गर्दा सबै क्षेत्रको रुट पर्मिट खुला छ । द्रुत बस सेवा सञ्चालन गर्दा व्यवस्थापन गर्न असहज भएकाले अहिले कम मात्रामा बसहरु सञ्चालन भएका हुन् ।

‘सरकारले नयाँ अभ्यास सुरु गरी द्रुत बस सेवा सञ्चालनमा ल्याएको छ । राम्रो कामको सुरु गर्दा कसैले सहजै स्वीकार्दैन,’ उनले भने, ‘तत्कालका लागि केही गाडी सञ्चालन हुन छोडे पनि दसैंपछि भने तीव्र रुपमा चल्नेछ ।’

नेपालमा सकारात्मक कामको सुरु गर्दा नकारात्मक पक्षको बढी प्रचारप्रसार हुने उनले बताए । ‘द्रुत बस सेवा बन्द भएको छैन,’ पनेरुले भने, ‘आगामी दिनमा कमी कमजोरी सुधार गरी सञ्चालनको तयारी छ ।’

पूर्वाधार विज्ञ आशिष गजुरेल कुनै पनि नयाँ सेवा सञ्चालन गर्दा छोटो समयमै सफल भयो वा भएन भन्ने मूल्यांकन गर्नु गलत हुने बताउँछन् । उनका अनुसार नयाँ अभ्यासको सुरुवात गर्दा कमी कमजोरी हुन्छ, त्यसमा सिक्दै अगाडि बढ्ने हो ।

‘नेपालमा द्रुत बस सेवा नयाँ हो र अहिलेसम्म अनुभव रह्यो । यसमा सिक्दै जानुपर्छ,’ उनले भने, ‘नेपालमा सञ्चालन हुन पाएको छैन । यो सफल भयो या भएन भनेर मत राख्न निकै हतार गर्छौं । त्यसो गर्ने हो भने कोही सफल हुँदैन ।’

हरेक क्षेत्रमा नयाँ अध्यास गर्दा केही कमी-कमजोरी देखा पर्छन् । अहिले द्रुत बस सेवामा पनि केही कमी-कमजोरी देखिएका छन् । उक्त समस्यालाई कसरी व्यवस्थापन गर्ने र कसरी अगाडि बढ्ने भन्ने विषयमा स्पष्ट भई अगाडि बढ्नुपर्ने उनको भनाइ छ । ‘सञ्चालनको एक महिना नहुँदै सफल भएन भन्न थालेका छन् । सफलता र असफलताको मापदण्ड पनि हुनुपर्छ । कस्तोलाई सफल भन्ने र कस्तोलाई असफल भन्ने विषयमा छलफल गर्नुपर्छ,’ उनले भने ।

विदेशमा पनि द्रुत बस सेवामार्फत एउटै सडकमा उक्त प्रकारका सेवा प्राथमिकता दिई व्यवस्थापन गर्ने हो । नेपालले पनि कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर अध्ययन गरी सञ्चालन गरेमा सेवा प्रभावकारी हुने उनको बुझाइ छ ।

द्रुत बसका लागि सूर्यविनायकदेखि रत्नपार्कसम्म १९ स्थानमा बस स्टप छन् । रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसको चाप हुने १९ स्थानमा स्टप बनाइएको छ । द्रुत बस चढ्न यात्रुले अन्य सार्वजनिक यातायातमा सरह नै भाडा तिर्नुपर्ने व्यवस्था छ ।


अरिष्मा मोक्तान