लक्ष्मी स्टिलको व्यापारमा उछाल, साढे ९ अर्बको कारोबार



काठमाडौं । आर्थिक संकुचनले अधिकांश क्षेत्रको व्यापार घटे पनि लक्ष्मी स्टिलको कारोबारमा भने उछाल आएको छ । अर्थतन्त्रमा देखिएको समस्याका कारण विकास निर्माणले गति लिन नसकेको निर्माण व्यवसायीहरुले बताउँदै आएका छन् ।

त्यस्तै, विकास निर्माणका लागि आवश्यक सामग्री उत्पादन गर्ने उद्योगीहरुले पनि अर्थतन्त्रमा देखिएको समस्याले व्यापार निकै खस्किएको बताउँदै आएका छन् ।

तर, लक्ष्मी स्टिलको व्यापारमा भने आर्थिक संकुचनका बाबजुद उच्च व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा ९ अर्ब ४५ करोड ६९ लाख रुपैयाँ (अपरिष्कृत) व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ८ अर्ब ५५ करोड ६५ लाख रुपैयाँको व्यापार गरेको थियो । कम्पनीअनुसार सन् २०२३ मा सन् २०२२ को तुलनामा करिब १ अर्ब बढी व्यापार गरेको छ ।

कम्पनीले कोरोना अघि गरेको व्यापारभन्दा पनि२०२३ मा बढी गरेको जनाएको छ । जसमा कम्पनीले सन् २०२२ को तुलनामा सन् २०२३ मा ११ प्रतिशतले बढी व्यापार गरेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा ६ अर्ब ९ करोड ५६ लाख रुपैयाँ, सन् २०२० मा ३ अर्ब ८० करोड ७१ लाख रुपैयाँ र सन् २०१९ मा ६ अर्ब ७६ करोड १० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले गरेको व्यापार गरेकोमा ९४ प्रतिशत आम्दानी टीएमटी बारबाट गरेको छ । सन् २०२२ मा डण्डीको व्यापारको हिस्सा ८८ प्रतिशत थियो । त्यसबाहेक बाँकी रिब्ड वायर, वाइन्डिङ वायर र अन्यबाट गरेको कम्पनीको भनाइ छ ।

सन् २००८ मा स्थापना भएको कम्पनीले आइरन तथा स्टिल उत्पादन गर्दै आएको छ । नेपालको स्टिल उद्योगमा क्षेत्रमा स्थापित कम्पनीमा न्यौपाने र अग्रवाल परिवारको लागानी रहेको छ । कम्पनी शौरभ ग्रुपको नामबाट सञ्चालित छ ।

कम्पनीले टीएमटी बार, रिब्ड वायर र वाइन्डिङ वायर लक्ष्मी स्टिल ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीसँग स्पन्ज आइरन र आइरन स्क्र्याब प्रयोग गरेर बिलेट उत्पादन गर्ने क्षमता पनि छ । कम्पनीले वार्षिक २ लाख मेट्रिक टन टीएमटी बार र रिब्बड वायर उत्पादन गर्दै आएको छ ।

कम्पनीमा न्यौपाने परिवारको ९ जना सदस्यसँग ५२ प्रतिशत र अग्रवाल परिवारको ५ जना सदस्यसँग ४५ प्रतिशत हिस्सा छ । टिकाराम न्यौपाने अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ९२ करोड २५ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि २२ करोड २५ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २ अर्ब ७० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले यसअघि ६ अर्ब ६७ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको थियो ।


क्लिकमान्डु