कोशीको मुख्यमन्त्री केदार कार्की, प्रदेशको धक्काले केन्द्र सरकार पनि हल्लेला ?



विराटनगर । कोशी प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा केदार कार्कीलाई नियुक्त गरेका छन् ।

शनिबार बिहान कार्कीको पक्षमा ४७ प्रदेशसभा सदस्यले सनाखत गरेपछि कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । सत्ता गठबन्धनको निर्णयविरुद्ध शेखर पक्षका केदार कार्की एमाले सांसद्को समर्थनमा मुख्यमन्त्री भएका हुन् । 

कोशी प्रदेशको मुख्यमन्त्रीका लागि कार्कीसँगै गठबन्धनका उम्मेद्वार माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्बोले पनि दाबी पेस गरेका थिए । आङ्बोले कांग्रेससहित चार दलका संसदीय दल नेताको समर्थन लिएका थिए भने कांंग्रेस प्रदेशसभा सदस्य कार्कीले कांग्रेसका ८ प्रदेशसभा सदस्य र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षर बुझाएर बाजी मारे ।
दुवैले ४७ प्रदेशसभा सदस्यको समर्थन भएको दाबी पेस गरेपछि प्रदेश प्रमुखले शनिबार बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म हस्ताक्षर सनाखत गर्ने जनाएको थियो ।

शनिबार बिहान कार्कीको पक्षमा हस्ताक्षर गरेका ४७ जनाले नै उपस्थित भएर सनाखत गरेपछि प्रदेश प्रमुख पापुङले संविधानको धारा १६८(५) अनुसार प्रदेश सांसद कार्की मुख्यमन्त्री नियुक्त भएको घोषणा गरेका हुन् ।

‘माननीय केदार कार्कीको पक्षमा ४७ जना सांसदले हस्ताक्षर सनाखत भएको छ । त्यसैले माननीय केदार कार्कीको पक्षमा ४७ सदस्यको हस्ताक्षर भएकाले उहाँलाई मुख्यमन्त्री भएको घोषणा गर्दछु,’ सनाखतपछि प्रदेश प्रमुखले भने ।

गठबन्धनको उम्मेद्वार इन्द्र आङ्बो विरुद्ध काँग्रेस नेता शेखर कोइरालाले काँग्रेसका कार्कीलाई मुख्यमन्त्री बनाउन सफल भएपछि नेपाली काँग्रेसमा सभापती शेरबहादुर देउवा, महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्मा निरिह देखिएका छनु भने कोशी प्रदेश मुख्यमन्त्री प्रकरणले प्रधानमन्त्री पुष्पकमल दाहाल पनि झस्किएका छन् ।

केन्द्र शासित संघीयतामा रमाइरहेका सबै राजनीतिक दलका शीर्ष नेताका लागी कोशी प्रदेशको सत्ता परिवर्तनले एकातिर प्रदेशमा आफना पकड घट्ला भन्ने डर छ भने अर्काे तिर कोशी प्रदेशको नयाँ गठबन्धनले केन्द्रमा धक्का दिँदा सरकार परिवर्तन होला कि भन्ने डर बढेको छ ।

हिमाल, पहाड र तराईसम्म फैलिएको यस कोशी प्रदेशमा झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, धनकुटा, खोटाङ, सुनसरी, मोरङ, सोलुखुम्बु, ओखलढुङ्गा र उदयपुर गरी जम्मा १४ वटा जिल्ला पर्दछन् । यस प्रदेशको पूर्वतर्फ भारतको पश्चिम बङ्गाल राज्य र दक्षिणतर्फ बिहार राज्य पर्दछन् ।

यसै गरी उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिब्बत र पश्चिमतर्फ मधेश प्रदेश र बाग्मती प्रदेश पर्दछन् । यो प्रदेश २६ डिग्री २२ मिनेट देखि २८ डिग्री ६ मिनेट उत्तरी अक्षांशसम्म र ८६ डिग्री ९ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तरसम्म रहेको छ । यस प्रदेशको कूल क्षेत्रफल २५९०५ वर्ग कि. मि. तथा कूल जनसङ्ख्या ४५३४९४३ रहेको छ ।


क्लिकमान्डु