बीमाबाटै असुरक्षित बीमित !



घटना १: २०७९ कात्तिक ५ गते घरमै करेन्ट लागेर सप्तरीको कञ्चनपुरका ३७ वर्षीय शिवशंकर दासको मृत्यु भयो । घटनामा संलग्नताको आशंका गर्दै प्रहरीले श्रीमती ३० वर्षीय कौशिलादेवीलाई पक्राउ गर्‍यो । पाँच महिनापछि चैतमा प्रहरीले शिवशंकरको हत्यामा श्रीमती नै रहेको तथ्य फेला पार्‍यो । शिवशंकरको मृत्यु दुर्घटना नभई श्रीमतीले बीमा रकम पाउने लालसाले गराएको खुल्यो ।

श्रीमती कौशिलाले नै २०७९ साउनमा नेपाल लाइफ र सिटिजन्स लाइफ इन्स्योरेन्सबाट २०-२० गरी ४० लाखको बीमा गराएकी थिइन् । दाउरा बेच्ने काम गर्ने शिवशंकरको २० लाख तिर्न सक्ने हैसियतबारे दुवै इन्स्योरेन्सले कुनै अनुसन्धान नगरी बीमा गराइदिए ।

बीमा गराएको तीन महिना नबित्दै कौशिलाले शिवशंकरको हत्या गरिन् । कात्तिक ५ मा मदिराको नसामा रहेका बेला शिवशंकरलाई कौशिलाले बायाँ हातको साहिँली औंलामा तार बेरेर करेन्ट लगाएको अनुसन्धानबाट खुल्यो ।

उनले बीमाबापतको ४० लाख रुपैयाँ पाउने आशामा शिवशंकरको हत्या गरेकी थिइन् । बीमाबापतको रकम भुक्तान गर्न इन्स्योरेन्स पुग्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

घटना २: बाँकेको कोहलपुरका २१ वर्षीय सर्जन बिकको पनि २०७९ साउनमा हत्या भयो । उनको हत्या गर्नुको मुख्य उद्देश्य पनि बीमा रकम कुम्ल्याउनु नै थियो ।

मजदुरी गर्ने विकको नाममा उनकै साहुले रिलायन्स इन्स्योरेन्समा २ करोड ५० लाख रुपैयाँको बिमा गराएका थिए । नक्कली विवाह गराएर अष्ट्रेलिया पठाइदिने लोभ देखाएपछि बिकले साहुले भनेअनुसार बीमा गरेका थिए । नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको केही महिना नबित्दै उनी मारिए ।

घटना ३: रौतहटका रामकिशोर यादवले बीमा रकमकै लागि ४ वर्षीया छोरीको हत्या गरे । यादवलाई छोरीको जीवन बीमा गरेपछि ज्यान तलमाथि भए क्षतिपूर्तिबापत २५ लाख रुपैयाँ प्राप्त हुने बताइएको थियो । त्यसको केही महिनापछि उनले छोरीको हत्या गरेका थिए ।

उनले प्रभु लाइफ इन्स्योरेन्समा बीमा गरेर पहिलो किस्ताबापतको रकम नतिर्दै छोरीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

***

यी केही उदाहरणमात्रै हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार परिवार वा नातेदारबाटै भएका यस्ता घटना अधिकांश बीमा दाबी भुक्तानीसँग जोडिएका छन् । आर्थिक वर्ष २०७९/८० मा मात्रै यस्ता प्रकारका ४० घटना दर्ता भएका छन् ।

जब घटना बाहिर आउँछ, तब मात्रै चासो देखाउने इन्स्योरेन्स कम्पनीदेखि नियामकको जिम्मेवारी पाएको नेपाल बीमा प्राधिकरण घटनाको संख्या गन्न भने अभ्यस्त बनिसकेका छन् ।

बर्सेनि ४० वटासम्म घटना बीमाकै कारण हुने तथ्यांक सार्वजनिक भइरहँदा पनि बीमा पोलिसी बेच्ने होडबाजीमा कानुन नै उल्लंघन गरिरहेका कम्पनीलाई सरकारले कारबाहीको दायरामा ल्याउन सकेको छैन न त मोटो रकम एकैपटक बीमाबापत भुक्तानी पाउने लोभ देखाउँदै सर्वसाधारणमा अपराधको बीज छर्ने अभिकर्तालाई नै नियन्त्रणमा ल्याउन सकेको छ ।

उल्लिखित तीनवटै घटनामा बीमा दाबी भुक्तानी गर्ने निकायलाई भने कुनै कारबाही भएको छैन । ‘जब पानी पर्छ तब छाता ओडौंला’ भन्ने रवैयाका कारण ५ वर्षमा २२६ बीमकको हत्या भइसक्दासमेत नियामक निकायले बीमितको सुरक्षा गर्न सकेको छैन । घटना घटेपछि केही समय चर्चामा रहने र त्यसपछि सामसुम हुने यस्ता घटनामा चासो नदेखाउँदा बीमा बिक्रीको अस्वस्थ प्रतिस्पर्धा रोक्न प्राधिकरण असफल देखिएको हो ।

घटना बाहिर आएपछि हरेक पटक प्राधिकरणबाट अध्ययन समिति गठन हुने र प्रतिवेदन तयार पार्ने काम भने हुन्छ । बीमा कम्पनीदेखि अभिकर्तासम्मलाई बोलाएर छलफल गरिन्छ तर अपराध र गलत प्रवृत्तिको गहिराइमा भने पुग्न सकेको देखिँदैन।

हत्याका घटना प्रहरीलाई जिम्मा लगाएर नियामक प्राधिकरण पन्छिदै आएको छ । यसअघि भएका घटनामा पनि अभिकर्तादेखि इन्स्योरेन्सका कर्मचारीले उन्मुक्ति पाउँदै आएका छन् ।

प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीका अनुसार बीमा पोलिसी बिक्री गर्नुअघि अनुगमन नगरेकै वा हत्या भएकै आधारमा कुनै पनि बीमा कम्पनीलाई कारबाही गरिएको छैन । ‘हामीले आयस्रोतको अनुगमन गरेर मात्रै बीमा गराउन सम्झाउँदै आएका छौँ,’ उनले भने ।

प्राधिकरणले हालसम्म कति कम्पनीलाई कारबाही गर्‍यो भन्ने यकिन तथ्यांक भने छैन । नियामकीय अधिकार पाएको प्राधिकरणले अधिकार प्रयोग नगर्दा बीमा अभिकर्तामा पोलिसी बिक्री गर्ने अस्वस्थ प्रतिस्पर्धा बढ्दो छ, जसको परिणाम बिमितको मृत्युको संख्यामा बर्सेनि बढोत्तरी हुनुले प्रस्ट पार्छ ।

प्रवक्ता अधिकारी कति बीमितको बीमा रकमको लोभमा हत्या भयो भन्ने तथ्यांकसमेत नराखिने गरेको बताउँछन् । ‘प्रहरीको काम हो हत्या कति संख्यामा भयो, को-को संलग्न छन् भनेर अनुसन्धान गर्ने र कारबाही गर्ने,’ उनी भन्छन्, ‘त्यसकारण तथ्यांक पनि उसैसँग हुन्छ, हामीसँग हुँदैन ।’

प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल बीमा बिक्रीमा जोखिमांकन समस्याको रुपमा आएको स्वीकार गर्छन् । बीमा कम्पनीहरुले आयस्रोतबारे अनुगमन नगरी जथाभावी पोलिसी बिक्री गर्दा अपराध बढेको विषयमा आफूहरु गम्भीर रहेको उनले बताए । तर, कार्यान्वयन र अनुगमन प्रभावकारी बनाउन निर्देशन दिन भने प्राधिकरण चुक्दै आएको छ ।

अपराध मनोविज्ञान विषयमा अनुसन्धान गर्दै आएका डा. सुरेश लम्साल अपराधको प्रवृत्तिमा परिर्वतन आएको बताउँछन् । बढ्दो आर्थिक मन्दीले पैसा कमाउनैपर्छ भन्ने दबाबमा परिवारका सदस्यको हत्याका लागि तम्सिनेहरुको सजिलो माध्यमको रुपमा बीमा पर्न थालेको उनको भनाइ छ ।

‘बीमा किन गरेको ? कसले गर्न लगायो ? बीमाबापतको रकम तिर्न सक्ने हैसियत छ कि छैन ? भन्ने नबुझी कम्पनीहरुले बीमा गर्दा छिटो पैसा आउने लोभमा परिवारका सदस्यको हत्या प्रवृत्तिकै रुपमा फस्टाएको छ,’ उनले भने, ‘अपराध आवेग, रिसइबी र आर्थिक लाभ तीन कारणले हुने गर्छ, हिजोआज अपराधको सजिलो माध्यम बीमा पनि बन्दै गएको छ ।’


सम्झना घिमिरे