आर्थिक संकुचनमा पनि शंकर ग्रुपले बेच्यो सवा ४० अर्बको डण्डी



काठमाडौं । देशमा आर्थिक क्रियाकलापहरुमा सुस्तता आइरहदा पनि शंकर ग्रुपले एकै वर्ष सवा ४० अर्ब रुपैयाँको डण्डीको व्यापार गरेको छ ।

आर्थिक संकुचनले अहिले निर्माणजन्य समाग्रीको व्यापारमा गिरावट आएको छ । बजारमा निर्माण सामग्रीको माग न्यून हुँदा उद्योगहरुले उत्पादनमा नै कटौती गरिरहेको अवस्थामा शंकर ग्रुपले भने उल्लेख्य व्यापार गरेको हो । शंकर ग्रुप देशकै ठूलो व्यापारिक घराना हो । सन् २०२२ मा यो समूहले वार्षिक १ अर्ब अमेरिकी डलर बढीको कारोबार गरेको थियो ।

शंकर ग्रुपद्वारा सञ्चालित जगदम्बा स्टिलले सन् २०२३ मा ४० अर्ब १७ करोड २० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ४९ अर्ब ७३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । उक्त तथ्यांक हेर्दा सन् २०२२ को तुलनामा सन् २०२३ मा करिब १० अर्ब कम व्यापार गरेको हो । जुन १९ प्रतिशतले कम हो ।

समग्रमा अन्य उद्योगहरुको तुलनामा भने शंकर ग्रुपले आर्थिक संकुचनका बाबजुद उल्लेख्य व्यापार गर्न सफल भएको छ । त्यस्तै, कम्पनीले सन् २०२१ मा २९ अर्ब ५५ करोड ७० लाख रुपैयाँ र सन् २०२० मा २१ अर्ब ९ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०२३ मा आर्थिक गतिविधिमा आएको सुस्तताले गर्दा व्यापारमा कमी आएको कम्पनीले जनाएको छ । कम्पनीले एमएस विलेट, स्पञ्ज आइरन र पिग आइरन आयात गरी स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको छ । जसमा कम्पनीले डण्डी, एंगल, सेक्सन, पाइप, शटर प्रोफाइल, कोयल, सिट, विभिन्न प्रकारका तार उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।

त्यस्तै, कम्पनीले सन् २०२३ मा ८.२१ प्रतिशतले नाफा कमाएको छ । सन् २०२२ मा कम्पनीले ८.७० प्रतिशतले नाफा कमाएको थियो ।

सन् १९९३ मा स्थापना भएको कम्पनी सन् २०२२ मा पब्लिक कम्पनीमा परिणत गरेको छ । कम्पनीले विभिन्न प्रकारका स्टिलजन्य वस्तु उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।

वार्षिक २४ लाख ४४ हजार मेट्रिक टन स्टिलजन्य वस्तु उत्पादन क्षमता भएको कम्पनीले कोल्ड रोल्ड प्रोडक्ट, रोलिङ मिल प्रोडक्ट, वायर प्रोडक्ट र मेल्टिङ प्रोडक्ट उत्पादन गर्दै आएको छ । देशभर एक हजारभन्दा बढी डिलर रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३५ अर्ब १४ करोड २० लाख रुपैयाँ ऋण लिने भएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १२ अर्ब ५८ करोड २ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि २७ करोड ६ लाख रुपैयाँको रेटिङ गराएको छ । तीन दशकदेखि स्टिलजन्य वस्तु उत्पादन गर्दै आएको ग्रुपको अध्यक्ष शाहिल अग्रवाल हुन् ।

कम्पनीले जगदम्बा इ, राइनो ५०० डी, जगदम्बा सुपर शाइन, जगदम्बा गाल्भा प्लस, जगदम्बा वायर ब्रान्डमा आफ्ना सामग्री बिक्री गर्दै आएको छ । त्यसैगरी, कम्पनीले भारतमा पनि उत्पादित वस्तु निर्यात गर्दै आएको छ । सन् २०२२ मा उत्पादनको ०.०८ प्रतिशत हिस्सा निर्यात गरेको कम्पनीले सन् २०२३ मा ५.६३ प्रतिशत हिस्सा निर्यात गरेको उल्लेख छ ।

सरकारले निर्यात प्रोत्साहन गर्ने नीतिसहित निर्यातकर्ताको लागि ८ प्रतिशत अनुदानको व्यवस्था गरेको छ । जसले गर्दा निर्यातमा पनि वृद्धि हुँदै गएको देखिन्छ ।


क्लिकमान्डु