१०० किलोवाटमाथिको दर घटे पनि बढेन आयात, १०० किलोवाट कमका गाडीमा बढी आकर्षण



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् १०० किलोवाटभन्दा माथिको सवारी साधनमा भन्सारदर र अन्त: शुल्कमा सहुलियत दिए पनि आकर्षण कम देखिएको छ ।

सरकारले २०८०/८१ को बजेटमा विद्युतीय सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीतिसहित अर्थमन्त्री डा. प्रकाशशरण महतले १०० किलोवाटभन्दा माथिको सवारी साधनको आयातमा भन्सार दर र अन्त:शुल्क घटाएको थियो ।

अर्थमन्त्री महतले १०० किलोवाटसम्म १० प्रतिशत र १०१ किलोवाट हुनेबित्तिकै ३० प्रतिशत भन्सार लाग्ने कुरा व्यावहारिक नभएकाले ५ वर्गमा विभाजन गरेर व्यावहारिक मात्र बनाएको बताएका थिए । तर, सरकारले १०० किलोवाट माथिको सवारी साधनको आयातमा प्रोत्साहन गर्ने नीति लिए पनि अपेक्षाकृत विद्युतीय गाडी भने भित्रिएको देखिँदैन ।

सरकारले गत वर्षको बजेटमार्फत् विद्युतीय सवारी साधनलाई ४ वर्गमा विभाजन गरी १०० किलोवाटसम्मका लागि १० प्रतिशत भन्सार महसुल, १०० देखि २०० किलोवाटसम्मका लागि ३० प्रतिशत भन्सार महसुल र ३० प्रतिशत अन्तःशुल्क, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका लागि ४५ प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क र ३०० किलोवाटभन्दा माथिका लागि ६० प्रतिशत भन्सार महसुल र ६० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था गरेको थियो।

त्यसलाई यो वर्षको बजेटमार्फत् ५ वर्गमा विभाजन गरी ५० किलोवाटसम्मका लागि १० प्रतिशत मात्र भन्सार महसुल, ५० देखि १०० किलोवाटसम्मका लागि १५ प्रतिशत भन्सार महसुल र १० प्रतिशत अन्तःशुल्क, १०० किलोवाटदेखि २०० किलोवाटसम्मका लागि २० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क, २०० किलोवाटदेखि ३०० किलोवाटसम्मका लागि ४० प्रतिशत भन्सार महसुल र ४५ प्रतिशत अन्तःशुल्क र सोभन्दा बढी क्षमताको हकमा साविकबमोजिमकै दरमा लाग्ने व्यवस्था गरेको छ ।

सरकारले १०० किलोवाटभन्दा कम क्षमताको सवारी साधनको आयातमा दर बढाए पनि आयात भने उच्च भएको भन्सार विभागको तथ्यांक छ । विभागकाअनुसार भदौ महिनामा ७८८ वटा विद्युतीय सवारी साधन आयात भएको छ । नेपालले गत साउनमा २ करोड २८ लाख रुपैयाँको ११० वटा विद्युतीय गाडी आयात गरेको थियो ।

भदौ महिनामा २ अर्ब ४३ करोड १५ लाख रुपैयाँ खर्चेर विद्युतीय सवारी साधन आयात भएको हो । उक्त आयातित सवारी साधनबाट नेपालले १ अर्ब १२ करोड ६० लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

भदौसम्ममा ५० किलोवाटसम्मको ४९ करोड ६५ लाख रुपैयाँको २५५ वटा, ५० देखि १०० किलोवाटसम्मको १ अर्ब ८७ करोड ६४ लाख रुपैयाँको ६३१ वटा, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मको ९ वटा र २०१ देखि ३०० किलोवाटसम्मको ३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ ।

उक्त तथ्यांकअनुसार बजेटले १०० किलोवाटमाथिको सवारी साधनको आयातमा प्रोत्साहन गरे पनि आकर्षण भने १०० किलोवाटभन्दा कमका सवारीमा देखिएको छ ।

बीवाइडी ब्रान्डको गाडीको नेपालको लागि आधिकारिक विक्रेता साइमेक्स इन्ककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले सरकारले १०० किलोवाटभन्दा माथिको गाडीमा सहुलियत प्रदान गरे पनि आकर्षण बढ्न नसकेको बताइन् ।

उनकाअनुसार बजारमा १०० किलोसम्मको गाडीको मात्रै उच्च माग भएकाले १०० किलोवाटको गाडीको आयातमा कम देखिएको हो । ‘आर्थिक संकुचनले गर्दा बजारमा गाडीको माग निकै कम छ । साथै, कम मूल्यको गाडीको मात्रै अर्डर बढी भएकाले सोहीअनुसार आयात भइरहेको छ,’ उनले क्लिकमान्डुसँग भनिन् ।

१०० किलोवाटभन्दा माथिको विद्युतीय गाडी महँगो हुन्छ । अहिले आर्थिक संकुचनले माग कम भएसँगै सस्तो गाडीमा आकर्षण देखिएको उनको भनाइ छ । त्यस्तै, व्यवसायीहरुले दशैंलक्षित विद्युतीय जीप, कार र भ्यान आयात गरेका छन् । भदौ महिनामा मात्रै व्यवसायीहरुले ७८८ वटा विद्युतीय सवारी साधन आयात गरेका छन् । भदौसम्ममा ८९८ वटा विद्युतीय गाडी आयात भएको छ ।


अरिष्मा मोक्तान