भाटभटेनी अध्यक्ष गुरूङद्वारा डा. कोइरालाको बाल अस्पताल परियोजनामा ४१ करोड रूपैयाँ सहयोग घोषणा



काठमाडौं । भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरूङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड रूपैयाँबराबरको सहयोग घोषणा गरेका छन्‌ ।

कोइरालाको नेतृत्वमा काठमाडौंसहित सात सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ । निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरूङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रूपैयाँ सहयोगको घोषणा गरेका हुन्‌ ।

शुक्रबार अपराह्न गुरूङ काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माणाधीन क्षेत्रमा पुगेका थिए । सोक्रममा डा. कोइरालाले आफूनो नेतृत्वमा रहेको टिमले अहिलेसम्म गरेका कामका बारेमा जानकारी गराएका थिए । डा. कोइरालाको कुरा सुनिसकेपछि गुरूङले सोधे, ‘तपाईंलाई अस्पताल बनाउन अब कति सहयोग आवश्यक पर्छ ? हामीबाट कस्तो अपेक्षा गर्नुभएको छ ?’

डा. कोइरालाले अहिलेसम्म उठेको रकम, प्रतिवद्धता आएको र नजुटेको सम्बन्धमा जानकारी गराएपछि गुरूङले भने, ‘मैले तपाईंको यो प्रोजेक्टका लागि ४१ करोड रूपैयाँ सहयोग गर्छु ।’

गुरूङले व्यवसायिक साझेदारसँग गरेको छलफल भन्दा बढी सहयोग गरेको दाबी गरेका छन् । त्रिवि शिक्षण अस्पतालमा गरेको सहयोगको स्मरण गर्दै भने, ‘घरमा पनि सबैलाई यो कुरा नभनी यहाँ आएको थिएँ । पार्टनरलाई २५ करोडसम्म सहयोग गर्न सक्छु भनेको थिएँ ।’

कोइरालाले पैसा नै नभएको बेला अस्पतालको परियोजना अघि सारेको बताउँदै भने, ‘मैले यो खुसीको क्षणलाई बयान गर्नै सकेको छैन | अहिले मैले यतिमात्रै भन्छु- इट इज ह्युज अमाउन्ट । दिस इज गेम चेन्जर ।’

कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन्‌ ।

कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ । अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ ।

‘अहिले पनि दमकस्थित बाल अस्पतालमा दैनिक तीन सय बालबालिकाको उपचार भइरहेको छ,” डा. कोइरालाले भने, ‘यो अस्पतालले पूर्व क्षेत्रमा धेरै सहयोग गरेको हामीले पाएका छौँ ।’

सहयोग रकम घोषणापछि भाटभटेनीका अध्यक्ष गुरूङले पनि राम्रो कामका लागि सहयोग गर्न पाउँदा आफूलाई भित्रैबाट खुसी लागेको बताए ।

भाटभटेनी सुपरमार्केटका अध्यक्ष गुरुङले यसअघि त्रिवि शिक्षण अस्पतालमा दुईवटा भवन निर्माण गरेका छन्‌ । गुरूङले वि.सं. २०६८ सालमा बुवा वृषबहादुर गुरूङ र आमा धनमाया गुरूङको नाममा इमर्जेन्सी भवन बनाएका थिए ।’

उक्त भवन ११ करोड रूपैयाँमा निर्माण गरेका गुरूङले भूकम्पपछि सोही स्थानमा उनले अर्को भवन पनि निर्माण गरेका थिए । पछिल्लो ईएचएस भवन १५ करोड लागतमा बनेको हो ।

डा. कोइरालाको अस्पताल परियोजनामा करिब १ लाख स्क्वायर फिटको अत्याधुनिक भवन निर्माण गरेर बाल अस्पताललाई हस्तान्तरण गर्ने योजना गुरूङको छ ।

सो भवनमा बेसमेन्ट पार्किङ, इमर्जेन्सीसहित २० शैया रहनेछ । सोही भवनमा आईसीयू, एनआईसीयूलगायत कक्ष रहनेछन्‌ भने माथि हेलिप्याड पनि रहनेछ ।


क्लिकमान्डु