वाणिज्य बैंकले कर्मचारीलाई दिने बोनस ४ प्रतिशतले बढ्यो, कुनको कति ?



काठमाडौं । सरकारी जागिरपछि धेरैले रुचाउने, धेरैको प्राथमिकतामा पर्नेमध्येको एक हो बैंक । मेहनत गर्न सक्ने, क्षमता हुनेहरुका लागि बैंकिङ क्षेत्रको काम निकै राम्रो मानिन्छ ।

बैंकका काम गर्ने कर्मचारीले पाउने विभिन्न सेवा सुविधाले बैंकिङ क्षेत्रमा काम गर्न निकै हौसला दिन्छ । बैंकमा काम गर्ने कर्मचारीले पाउने विभिन्न खाले सेवा, सुविधा, सस्तो ब्याजदरमा पाउने कर्जा, बैंकले दिने बोनसलगायत पर्छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष वाणिज्य बैंकहरुले कर्मचारी बोनसका लागि ९ अर्ब ४६ करोड १७ लाख ५० हजार रुपैयाँ छुट्याएका छन्, जुन अघिल्लो आवको तुलनामा ४.०१ प्रतिशतले बढी हो ।

अघिल्लो आवमा बैंकहरुले कर्मचारीलाई बोनस दिन ९ अर्ब ९ करोड ६६ लाख रुपैयाँ छुट्याएका थिए । गत आवमा बैंकहरुले कर्मचारीलाई दिने बोनस ११ वटा बैंकको बढेको छ भने ८ वटा को घटेको छ ।

कर्मचारीलाई दिने बोनस घटाउने बैंकमा एनएमबि बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन बैंक र माछापुच्छ्रे बैंक छन् । कर्मचारीलाई दिने बोनस घटाउने बैंकमध्ये मर्जरमा गएका बैंकमा हिमालयन र कुमारी पनि छन् ।

कर्मचारीले पाउने बोनस बढाउने बैंकमा नबिल, ग्लोबल आइएमई, एनआईसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, प्रभु, सानिमा, नेपाल एसबिआई, लक्ष्मी सनराइज, कृषि विकास र नेपाल बैंक छन् ।

राष्ट्र बैंकका अनुसार एनएमबि बैंकले कर्मचारीलाई दिने बोनस ५.६३ प्रतिशतले घटेर ५४ करोड २० लाख रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५७ करोड ४३ लाख २० हजार छुट्याएको थियो ।

यस्तै हिमालयन बैंकले कर्मचारीलाई बोनसका लागि भन्दै ५१ करोड ५१ लाख ४० हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ५१.५२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ६ करोड २५ लाख ९० हजार रुपैयाँ रहेको थियो । अहिले सिभिल र हिमालयन बैंक मर्जर भएका छन् । मर्जपछि हिमालयन बैंकको नामबाट एकीकृत कारोबार भइरहेको छ ।

गत आवमा सिद्धार्थ बैंकले कर्मचारीका लागि बोनस दिन ५१ करोड ९० हजार छुट्याएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा ५२ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

यस्तै प्राइम बैंकले पनि कर्मचारीलाई दिने बोनस रकम ३६.३२ प्रतिशतले घटाएर ३७ करोड ५२ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५८ करोड १८ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले पनि कर्मचारीलाई दिने बोनस ५.७० प्रतिशतले घटाएर ३६ करोड ९७ लाख १० हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा ३९ करोड २० लाख ५० हजार रुपैयाँ रहेको थियो ।

यस्तै एनसीसी बैंकसँग मर्ज भएको कुमारी बैंकले कर्मचारीलाई दिने बोनस २३.२८ प्रतिशतले घटाएर ३४ करोड १५ लाख ३० हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको सोही अवधिमा ४४ करोड ५१ लाख ५० हजार रुपैयाँ थियो ।

यस्तै सिटिजन्स बैंकले गत आवमा अघिल्लो आवको तुलनामा कर्मचारीलाई दिने बोनस ५.५५ प्रतिशतले घटाएर ३३ करोड ४८ लाख ८० हजारमा झारेको छ । अघिल्लो आवको सोही अवधिमा ३५ करोड ४५ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

माछापुच्छ्रे बैंकले कर्मचारीलाई दिने बोनस अघिल्लो आवको तुलनामा गत आवमा १४.४६ प्रतिशतले घटाएको छ । अघिल्लो आवमा कर्मचारीका लागि बोनस भन्दै ३४ करोड ४६ लाख २० हजार छुट्याएकोमा गत आवको सोही अवधिमा २९ करोड ४७ लाख ८० हजार  छुट्याएको छ ।

यस्तै अघिल्लो आव भन्दा गत आवमा नबिल बैंकले कर्मचारीलाई दिने बोनस ५१.८० प्रतिशतले बढेर १ अर्ब १९ करोड ८२ लाख ७० रुपैयाँ छुट्याएको छ । अघिल्लो आवको सोही अवधिमा ७८ करोड ९३ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

ग्लोबल आइएमई बैंकले कर्मचारीलाई दिने बोनसका लागि १ अर्ब १२ करोड २६ लाख ६० हजार रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३६.५३ प्रतिशतले बढेर ८२ करोड २२ लाख ७० हजार रुपैयाँ रहेको छ ।

यस्तै एनआईसी एशिया बैंकले कर्मचारीका लागि बोनस बापत गत आवमा ७१ करोड ९७ लाख ८० हजार छुट्याएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ०.५८ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा ७१ करोड ५६ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

स्टयान्डर्ड चार्टर्ड बैंकले कर्मचारीलाई बोनसका लागि भन्दै ५५ करोड ९७ लाख ५० हजार रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो आवको सोही अवधिमा ३६ करोड २ लाख ९० हजार रुपैयाँ रहेको थियो । यो अवधिमा ५५.३६ प्रतिशतले बढेको छ ।

नेपाल बैंकले कर्मचारीलाई बोनस दिनका लागि अघिल्लो आवको तुलनामा गत आवमा ३.५६ प्रतिशत बढी पैसा छुट्याएको छ । अघिल्लो आवमा २३ करोड ६० लाख ३० हजार रुपैयाँ रहेको थियो । गत आवको सोही अवधिमा २२ करोड ७९ लाख १० हजार रुपैयाँ रहेको थियो ।

एभरेष्ट बैंकले कर्मचारीलाई दिने बोनस ३० प्रतिशतले बढेर ५२ करोड ३८ लाख ५० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा ४० करोड २९ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

कृषि विकास बैंकले गत आवमा कर्मचारी बोनसका लागि भन्दै २४ करोड ४५ लाख २० हजार रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १७.३३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा २० अर्ब ८४ लाख दिएको थियो ।

लक्ष्मी बैंकले कर्मचारीलाई बोनस बापत दिने रकम ४१.४९ प्रतिशतले बढेर ३५ करोड ५० लाख २० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा २५ करोड ९ लाख २० हजार रुपैयाँ रहेको थियो ।

प्रभु बैंकले कर्मचारीको बोनसका लागि ४५ करोड २६ लाख ४० हजार रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो आवको सोही अवधिमा ८.९१ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा ४१ करोड ५६ लाख रुपैयाँ रहेको थियो ।

यस्तै सानिमा बैंकले कर्मचारी बोनसका लागि ४१ करोड १९ लाख १० हजार रुपैयाँ छुट्याएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १४.१८ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकका अनुसार नेपाल एसबिआई बैंकले कर्मचारीको बोनसका लागि छुट्याएको रकम अघिल्लो आवको असार मसान्तको तुलनामा गत आवको असार मसान्तमा ३५.३८ प्रतिशतले बढेर ३५ करोड ७८ लाख ६० हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिमा २६ करोड ४३ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

बैंकहरुले कर्मचारीलाई दिन छुट्याएको बोनस केही बैंकले दसैंको समयमा त केहीले कम्पनीको आगामी साधारण सभापछि दिने गरेका छन् ।


रवि धिताल