अघिल्लो वर्षभन्दा २ हजार किलो कम सुन आयात



काठमाडौं । सरकारले आयातको कोटा घटाउँदा वैधानिक माध्यमबाट २ हजार किलो कम सुन आयात भएको छ ।

सरकारले विदेशी मुद्राको सञ्चितिमा दबाब बढेपछि सुनमा कोटा घटाएसँगै आयात आर्थिक वर्ष २०७८/७९ मा भन्दा गत आवमा २ हजार किलो कम सुन आयात भएको हो ।

२ हजार किलो सुनलाई नेपाली बजारमा सोमबारको मूल्यमा १९ अर्ब २० करोड रुपैयाँभन्दा बढी पर्छ । बुधबार प्रति १० ग्राम छापावाल सुनको मूल्य ९६ हजार २० रुपैयाँ छ ।

अघिल्लो आर्थिक वर्षमा नेपालमा ५ हजार ५२४ किलो सुन भित्रिएको थियो । गत वर्ष (२०७९/८०) मा ३ हजार ५०७ किलो मात्र भित्रिएको छ ।

मूल्यमा उच्च वृद्धिका कारण सुन आयातमा बाहिरिएको रकममा भने खासै फरक परेन । अघिल्लो वर्ष ४२ अर्ब ७० करोड रुपैयाँको सुन आयात भएकोमा गत वर्ष ४३ अर्ब ८९ करोड रुपैयाँको आयात भएको छ ।

व्यक्तिगत तवरबाट अघिल्लो वर्ष ४७१ किलो सुन तथा सुनका गहना आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ । गत वर्ष व्यक्तिगत तवरबाट ५९१ किलो सुन तथा सुनका गहना आयात भएका छन् ।

बैंकिङ प्रणालीबाट भने अघिल्लो वर्ष ५ हजार ५३ किलो आयात भएकोमा गत वर्ष २ हजार ९१६ किलो आयात भएको छ ।

गत वर्ष व्यक्तिगत तवरबाट २१ अर्ब ५४ करोड रुपैयाँको सुन आयात भएको छ भने बैंकिङ प्रणालीबाट २२ अर्ब ३५ करोड रुपैयाँको आयात भएको छ ।

नेपालमा बैंकिङ प्रणालीबाट यूएई, स्विट्जरल्यान्ड, टर्की र उज्वेकिस्तानबाट सुन आयात हुने गरेको छ । गत वर्ष यूएईबाट १८ अर्ब ९१ करोड रुपैयाँबराबरको २ हजार ४६६ किलो सुन आयात भएको छ ।

त्यस्तै व्यक्तिगत तवरबाट ११ अर्ब १४ करोड रुपैयाँबराबरको सुन कतारमा गएका नेपालीमार्फत भित्रिएको छ भने ५ अर्ब २७ करोड रुपैयाँबराबरको यूएईबाट भित्रिएको छ । त्यसैगरी साउदी अरब गएका नेपालीले २ अर्ब ६० करोडको सुन ल्याएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

सरकारले सुन आयातको कोटा दैनिक २० किलोबाट १० किलोमा झारेपछि आयातमा भारी गिरावट देखिएको हो । नेपाल वैधानिक च्यानलबाट वाणिज्य बैंकले मात्र सुन आयात गर्न सक्छन् ।

सरकारले विदेशी मुद्राको सञ्चिति बढाउन विलासिताका वस्तुको आयातमा प्रतिबन्ध लगाउँदा सुन आयातको हिस्सा पनि घटाएको छ । २०७८ फागुन २१ सम्म दैनिक प्रतिकिलो २० किलो सुन आयात भइरहेकोमा फागुन २२ देखि १० किलोमा झारिएको छ ।

अन्य विलासिताको वस्तुको आयात प्रतिबन्ध भने खुला गरिसकेको छ । नेपाली बजारमा दैनिक ३० देखि ३५ किलो माग भएकाले दैनिक १० किलो मात्र भित्रिन पाउँदा सुन अभाव चर्किएको व्यवसायी बताउँछन् ।

अहिले मूल्य बढेका कारण बजारमा पुरानो सुन धेरै आएको र त्यसले नै बजारको माग धान्न सहयोग गरिरहेको उनीहरुको तर्क छ । तर, विभिन्न घटनाक्रमले सुनको व्यापक तस्करी भइरहेको देखाउँछ ।

गत मंगलबार पनि हङकङबाट आएको क्याथे प्यासिफिक एयरमार्फत स्कुटरको ब्रेक सु मा लुकाएर करिब १०० किलो सुन काठमाडौं ल्याइएको थियो । भन्सार प्रणाालीबाट सहजै पास भएर बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले राति नै बरामद गरेको थियो ।

व्यवसायीका अनुसार ५ वर्षको अवधिमा सुनको माग ५० प्रतिशत हाराहारीले बढेको छ । २०७५ सम्म दैनिक २० देखि २५ किलो माग भएको अनुमान गर्ने व्यवसायी अहिले दैनिक ३० देखि ३५ किलो माग रहेको बताउँछन् ।

तर, त्यति थोरै सुन आयात हुँदा पनि व्यापार कसरी धानिएको छ र माग तथा आपूर्तिबीच कसरी सन्तुलन मिलेको छ भन्ने प्रश्नको गतिलो उत्तर उनीहरुको छैन ।


क्लिकमान्डु