मल वितरणमा बदमासी भयो, कारबाही गर्छौंः कृषि मन्त्री
काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.वेदुराम भुसाल धान रोपाइमा सहभागी भएका छन् ।
शुक्रबार राष्ट्रिय धान दिवसको अवसरमा नेपाल कृषि अनुसन्धान परिषद् नार्कस्थित राष्ट्रिय बाली विकास केन्द्रको परिसर खुमलटारमा आयोजित रोपाइ महोत्सवमा सहभागी भएर मन्त्री भुसालले धान रोपे ।
रोपाइ महोत्सवमा मन्त्री भुसालले हातले र राइस ट्रान्सप्लानरले धान रोपेका थिए ।
रोपाइमा सहभागी हुनुभन्दा पहिला आयोजित कार्यक्रममा मन्त्री भुसालले केही वर्ष पहिला खेती भएको १० लाख ३० हजार हेक्टर जमिन अहिले बाँझो रहेको बताए ।
जमिन बाँझो हुनुमा मानिसहरुको जीवनशैलीमा आएको परिवर्तन, पहाडबाट तराई वा शहरतिर बसाई सर्ने प्रवृतिको विकास, युवाहरु विदेशी जानु र सरकारले पर्याप्त सेवा सुविधाहरु पुर्याउन नसक्नु रहेको उनले बताए ।
नेपालको १० लाख ३० हजार हेक्टर बाँझो जमिनमा खेतीपाती गर्न थालेमा उत्पादन वृद्धि गरी खाद्यान्न निर्यात गर्ने अवस्थामा पुग्नसक्ने उनको दाबी थियो ।
यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति नगन्य भए पनि बजेट विनियोजन गरेको उनले बताए ।
बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट पाउन नसक्नुको प्रमुख बाधक योजना आयोग भएको मन्त्री भुसालको आरोप थियो ।
योजना आयोगले पहिला नै सिलिङ तोकेर पठाएकाले कृषि मन्त्रालयको सिलिङमा बजेट कटौती भएको उनको भनाइ थियो ।
उनले कार्यक्रममा सहभागि योजना आयोगका सदस्यलाई योजना आयोगमा बसेर बजेट नदिने तर कृषि कार्यक्रममा आएर ठूला कुरा नगर्न चेतावनीसमेत दिए ।
अहिले मलको अभाव नभएको मन्त्रीको दाबी छ ।
कृषि मन्त्रीले यसो भने
१० लाख ३० हजार हेक्टर जमिन केही वर्ष अघि खेती भएको अहिले बाँझो छ । जमिन बाँझो पर्नुका विभिन्न कारणहरु छन् । पहिलो भनेको मानिसहरुको जीवन शैलीमा आएको परिवर्तन हो । मानिसहरुको जीवन शैली गाउँले परिवेसबाट शहरीया परिवेशमा परिवर्तन हुने अवस्था आएको छ ।
पहाडबाट तराई वा शहरतिर बसाई सर्ने प्रवृति विकास हुनु जमिन बाँझो रहनुको मुख्य कारण हो । युवाहरु वैदेशीक रोजगारीमा जानु र सरकारले पर्याप्त सेवा सुविधाहरु पु¥याउन नसक्नु तथा जङ्गली जनावरहरुको कारण हो ।
अब फेरि हामीले बाँझो जमिनमा खेतीपाति गर्न थाल्यौं भने उत्पाद वृद्धि गर्छौं । उत्पादन वृद्धि भएमा फेरि अन्न निर्यातको अवस्थामा पुग्नसक्छौं । यसतर्फ ध्यान दिएर काम गर्नु पर्ने अवस्था छ । यो वर्ष कृषि मन्त्रालयले बाँझो जमिन उपयोगका निम्ति काम गरौं भनेको थोरै बजेट विनियोजन गरेको छ । तर बजेट अपुग छ । बाँझो जमिन उपयोग गर्न कृषि मन्त्रालयले बजेट नगन्नय हुनुको प्रमुख बाधक योजना आयोग हो ।
योजना आयोगले पहिला नै सिलिङ तोकेर पठाउँछ । कृषि मन्त्रालयको सिलिङमा पनि कटौती गर्छ । योजना आयोगले कृषि क्षेत्रको कार्यक्रममा आएर गुनासो गरेर हुँदैन । काम गर्ने ठाउँमा गर्नुपर्छ । योजना आयोगमा बसेर बजेट नदिने अनि ठूला कुरा गरेर हुन्छ । प्रधानमन्त्री र अर्थमन्त्रीसँग आग्रह गरेपछि कृषि मन्त्रालयको बजेट नघटाउने अवस्था पुगियो । सरकारले यो वर्ष कृषि क्षेत्रमा जे जस्ता कार्यक्रमहरु ल्याएको छ ती कार्यक्रम सफल बनाउनको लागि अभियान सञ्चालन गरौं ।
यो वर्ष ढिलै भएपनि मनसुन शुरु भएको छ । दाबीका साथ भन्छु । अहिले मलको अभाव छैन । राजनीतिक प्रतिशोधका आधारमा विगतका फोटा खिचेर मलको अभाव भनेर प्रचार गरियो । अहिले पनि सरकारसँग ७८ हजार मेट्रिक टन मल मौज्दात छ । मल वितरणमा बदमासी भएको छ ।
मल वितरणमा बदमासी भएको ठाउँमा कारबाही गर्छु । दाङका मेयरले मलाई भोट हाल्ने भन्दा बाहेकलाई मल नदिने भन्दै हिँडेका छन् । किसान विरोधि अभियान चलाईएको छ ।