प्रधानमन्त्रीसँग मल छ, किसानका खेत रित्तै



काठमाडौं । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आफ्नो नेतृत्वमा सरकार बनेपछि रासायनिक मलको अभाव हटाएको दाबी गरे ।

प्रधानमन्त्रीले प्रतिनिधिसभामा गरेको यो दाबीभन्दा ठीक एक दिनअघि मोरङको कानेपोखरी वडा नम्बर ७ मा इन्द्र भट्टराईले रोपाइँको मैझारो गरेका थिए । तर, प्रधानमन्त्रीले भनेजस्तो अनुभव उनको छैन । प्रधानमन्त्रीले अभाव हटाएको दाबी गरिरहँदा धान रोप्नुअघि खेतमा हाल्न रासायनिक मल नै नपाएको उनले बताए ।

मातृभूमि कृषि संस्था तथा साना किसान सहकारी संस्थाले वितरण गर्ने मल प्रायः यो क्षेत्रमा उपलब्ध हुन्थ्यो । तर, यसपटक त्यस्तो भएन । धान रोपिरहेका र रोपिसकेका कसैले पनि अहिले रासायनिक मल पाएका छैनन् ।

मातृभूमि कृषि संस्थाका कर्मचारी चण्डिका दाहालका अनुसार मल उपलब्ध हुने प्रक्रियामा छ । उनी भन्छन्, ‘अभाव नै भएको त छैन । मल धेरै ठाउँमा लोड-अनलोड हुँदै आउनुपर्छ । अब यहाँ पनि आउँदैछ ।’

धेरैजसो ठाउँमा स्थानीय कृषि सहकारी तथा वितरण केन्द्रहरुबाट मल वितरण हुने गर्छ । सहकारीकै माध्यमबाट किसानसम्म मल पुग्छ । तर, सहकारीका कर्मचारीले मलको अभाव नभएको बताइरहँदा कृषकको हातमा भने मल पुग्न सकेको अवस्था छैन ।

केही दिनअघि मात्रै दाङको घोराही उपमहानगरपालिकामा किसानले मल भाग लगाएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए । सरकारले मल अभाव नहुने भनेर दाबी गरिरहँदा किसानले भने चरम अभाव भोगेको दृश्य थियो त्यो । घोराहीको चौतारी कृषि सहकारी संस्थाले उपलब्ध गराएको सीमित मल ६३ जना किसानले २ किलो डिएपी र ३ किलो युरियाका दरले भाग लगाएका थिए ।

प्रधानमन्त्री प्रचण्डले चालु आवमा ७८.५ मेट्रिक टन आपूर्ति निश्चित भएको र सरकारले एक लाख ९५ हजार ९ सय मेट्रिक टन मल आयात भएर एक लाख ४५ हजार ९ सय मेट्रिक टन वितरण भइसकेको दाबी गरेका थिए । उनले मल अभाव हुन नदिने अवस्था आफ्नो सरकारले सिर्जना गरेको दाबी गरे ।

तर, प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरे पनि देशमा मलको अभाव नहुन कम्तीमा ५ लाख २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार नेपालमा हरेक वर्ष हुने विभिन्न बालीका लागि आवश्यक पर्ने मलको मात्रा यो हो ।

तर, प्रधानमन्त्री प्रचण्डले भने आवश्यकताको एक चौथाइ मल मात्रै वितरण हुँदा पनि अभाव नभएको दाबी गर्दै प्रतिनिधिसभामा सरकारको गर्विलो कामका रुपमा यसलाई प्रस्तुत गरे । प्रचण्डको अभिव्यक्तिले देशभर वर्षौंदेखि हुँदै आएको मलको अभाव पूर्णरुपमा सकिएको भान पारेको थियो । तर, वास्तविकता भने उनले भनेभन्दा निकै फरक छ ।

हाल देशभरका अधिकांश ठाउँहरुमा धान रोप्ने चटारो छ । मल अभाव हुँदा किसानले समस्या भोग्नुपरिरहेको छ । तर, प्रधानमन्त्री प्रचण्डदेखि अन्य मन्त्रीहरुले समेत ‘यो वर्ष मलको अभाव हुँदैन’ भनेर अभिव्यक्ति दिइरहेका छन् ।

घोराहीमा जस्तै मलको अभाव अन्य ठाउँका किसानले भोग्नुपरिरहेको छ । कैलालीका किसानले हरेक वर्षजस्तै यो वर्ष पनि मल अभावको चरम समस्या झेल्नुपरेको बताएका छन् । कैलालीमा एक साताअघि किसानले भारतबाट अवैध ढंगले ल्याउँदै गरेको २६ बोरा मल सशस्त्र प्रहरीले बरामद गरेपछि प्रहरी र किसानबीच झडपसमेत भएको थियो ।

सरकारले मल दिन नसकेपछि किसान भारत गएर ल्याउन बाध्य भएका थिए । मल बरामद गरिएको घटनाविरुद्ध स्थानीय जनप्रतिनिधि नै उभिए । जिल्ला प्रशासन कार्यालयमा वार्ता भयो । किसानलाई मल जिम्मा लगाइयो ।

बैठकमा पारिबाट मल ल्याउने किसानलाई प्रहरीले नदेखेजस्तो गरिदिने सहमति नै भयो । अहिले दैनिक सय क्विन्टलभन्दा बढी मल कैलालीको भजनी क्षेत्रबाट भित्रिन्छ । किसानलाई हतियार बनाएर व्यापारीले मल आयात धन्धा चलाइरहेका छन् । स्थानीय बजारमा सरकारी मल अझै पाइँदैन ।

कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार चालु आवमा कम्पनीबाट २ लाख २१ हजार १५३ मेट्रिक टन रासायनिक मलको आपूर्ति भएको छ । कम्पनीका सूचना अधिकारी पुण्यप्रकाश उपाध्यायले त्यसमध्ये १ लाख ८० हजार १२९ मेट्रिक टन मल वितरण भएको छ भने ४१ हजार २३ मेट्रिक टन मौज्दातमा छ ।

कम्पनीअन्तर्गतका विभिन्न शाखा कार्यालयमा पनि मलको मौज्दात सकिने अवस्थामा पुगेर अभाव सिर्जना भएको छ । दमौली शाखामा डिएपी, युरिया र पोटास एकदमै न्यून रहेको कार्यालय सहायक (प्रथम) राजनबन्धु न्यौपानेले बताए । उनले भने, ‘डिएपी युरिया अलिअलि छ । पोटास पनि थोरै छ । वितरण गरिरहेका छौं । युरिया अलि पछि आउँछ होला । थोरै मात्र छ मौज्दात ।’

त्यस्तै, कम्पनी लिमिटेडको कपिलवस्तुस्थित तौलिहवा शाखामा पनि पोटास सकिने अवस्थामा छ । युरिया र डिएपी भने पर्याप्त रहेको कार्यालय प्रमुख नरहरि पोखरेलले जानकारी दिए । ‘युरिया ४६६ टन, डिएपी २८५ टन र पोटास १.८५ टन छ । थप ५ सय टन ल्याउनका लागि प्रक्रियामा छ,’ उनले भने । तर, धान रोप्ने समयमा थप मल आइपुग्ने वा नपुग्ने भन्नेमा भने निश्चितता छैन ।

मल आपूर्ति गर्ने प्रमुख निकायमै विभिन्न शाखा कार्यालयहरुमा नै मलको मौज्दात कम र अभाव हुने अवस्थामा रहँदा किसानमाझमा मल पुग्ने कुरै हुँदैन । तर, प्रधानमन्त्री प्रचण्डले भने मलको अभाव हुँदै नभएको भन्दै दाबी गरिरहेका छन् ।

यस्तोमा मलको अभाव भोगिरहेका किसान भने हरेक वर्षजस्तो सरकारले यसपटक पनि आश्वासन मात्रै दिएको बताउँछन् । मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ का किसान राजकुमार यादव भन्छन्, ‘मल चाहिएको जति त कहाँ पाउनु ? आउँछ, आउँछ भनेर बस्ने हो । धान रोप्न ढिला गर्नु पनि भएन । कतिले मल पाए, हालेर रोपेका छन् । कतिले नपाएपछि यसै पनि रोपेका छन् ।’


क्लिकमान्डु