नौ महिनामा २६ करोड ४१ लाख किलो आलु आयात, भारत र बंगलादेशबाट ९९ प्रतिशत



काठमाडौं । चालू आर्थिक वर्षको ९ महिनामा नेपालले विदेशबाट ६ अर्ब ९० करोड ८६ लाख रुपैयाँबराबरको आलु आयात गरेको छ । समीक्षा अवधिमा नेपालले भारत, बंगलादेश, अमेरिका, नेदरल्यान्ड्स र इन्डोनेसियाबाट २६ करोड ४१ लाख २६ लाख किलो आलु आयात गरेको हो ।

आयातीत आलुमा ९९ प्रतिशत हिस्सा भारत र बंगलादेशको छ । साउनदेखि चैतसम्ममा ६ अर्ब ८२ करोड रुपैयाँबराबरको २६ करोड ५ लाख ९४ हजार किलो भारतबाट र ८ करोड ५१ लाख रुपैयाँबराबरको ३५ लाख २८ हजार किलो आलु बंगलादेशबाट आयात भएको छ ।

आलु आयातमा अन्य देशको हिस्सा निकै सानो छ । आलुबाट नेपालले ९ महिनामा ७९ करोड ८४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकअनुसार आलु उत्पादन नेपाल निकै अगाडि छ । तर, भन्सार विभागको तथ्यांकले नेपालमा असाध्यै ठूलो परिमाणमा आलु आयात भएको देखिन्छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा पनि नेपालमा ६ अर्ब ८३ करोड रुपैयाँबराबरको २ लाख ७४ हजार मेट्रिक टन अथात् २७ लाख ४० हजार किलो आलु आयात भएको छ ।

आलु निर्यातको स्थिति भने टिठलाग्दो छ । चालू आवको साउनदेखि चैत सम्ममा नेपालबाट जम्मा ३० लाख ९५ हजार रुपैयाँको ३३ हजार १३३ किलो आलु निर्यात भएको छ । नेपालबाट अस्ट्रेलिया, भारत, कतार, यूएई र अमेरिकामा आलु तथा आलुका परिकार पुग्ने गरेको छन् ।

आर्थिक वर्ष २०७८/७९ को तथ्यांकका आधारमा नेपाललाई ८ लाख ६० हजार टन खाद्यान्न प्रतिवर्ष अपुग हुन्छ । दाल ६ लाख २० हजार टन, तरकारी ४ लाख टन, फलफूल ५ लाख ८१ हजार टन, दूध १३ लाख ७० हजार लिटर र २ हजार ६ सय १४ लाखवटा अण्डा कम हुने अनुमान छ ।

नेपालको खाद्य सुरक्षाको मुख्य आधार धान बाली हो । देशको कुल खाद्यान्न आपूर्तिको करिब ५१ प्रतिशत हिस्सा धान बालीको भए पनि आन्तरिक उत्पादनले पुग्दैन । नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा नेपालले करिब ४८ अर्बको ५ लाख ५१ हजार ७ सय ५० टन धान र ५ लाख ७८ हजार ९ सय १० टन चामल आयात गरेको भएको छ ।

गत वर्ष नेपालले ७४ अर्ब २८ करोड रुपैयाँको अनाज आयात गरेको विभागको तथ्यांकमा उल्लेख छ । सीमा क्षेत्रका बासिन्दाले किन्ने धानको परिमाण बेग्लै छ ।

आव २०७८/७९ मा नेपालले ३ खर्ब ४१ अर्ब ५२ करोड रुपैयाँको कृषिजन्य वस्तु आयात गरेको छ । निर्यात भने १ खर्ब १७ अर्ब ६३ करोड रुपैयाँको छ । त्यसमा ९३ अर्ब ७४ करोडको त तेल (पाम, भटमास) नै निर्यात भएको थियो ।

कृषिप्रधान देश नेपालमा कृषिजन्य वस्तुको निर्यात र आयातबीच डरलाग्दो गरी असन्तुलन बढ्दै गएको छ । गत वर्ष कृषिजन्य वस्तुमा नेपालले २ खर्ब २३ अर्ब ८९ करोड रुपैयाँको घाटाको व्यापार गरेको छ ।


क्लिकमान्डु