भारतमा मात्रै ८३ अर्ब रुपैयाँको वस्तु निर्यात, गत वर्षको भन्दा घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा नेपालबाट भारततर्फ करिब ८३ अर्ब रुपैयाँको वस्तु निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि चैतसम्ममा नेपालबाट ८२ अर्ब ९८ करोड ५४ लाख रुपैयाँको वस्तु भारत निर्यात भएको हो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा नेपालले भारतसहित विश्वका अन्य देशमा १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । जसको ७० प्रतिशत हिस्सा भारतले ओगटेको छ ।

आयात तथा निर्यातमा ठूलो हिस्सा ओगटेको भारतमा नेपालले निर्यात मात्रै गदैनन्, आयात पनि उच्च गर्दै आएको सरकारीक तथ्याङ्क छ । ९ महिनाको अवधिमा नेपालबाट सबैभन्दा बढी तेल निर्यात भएको छ ।

चैतसम्ममा नेपालले १७ अर्ब २९ करोड ७९ लाख रुपैयाँको पाम तेल निर्यात गरेको छ ।

त्यसैगरी, ८ अर्ब ४३ करोड २३ लाख रुपैयाँको भटमासको तेल, ६ अर्ब ४८ करोड १९ लाख रुपैयाँको पोलिस्टर यार्न, ६ अर्ब ३३ करोड ६९ लाख रुपैयाँको अलैंची, ५ अर्ब ५९ करोड ५० लाख रुपैयाँको जुटजन्य वस्तु र ५ अर्ब ४२ करोड ४७ लाख रुपैयाँको जिन्क सिट निर्यात गरेको छ ।

सो अवधिमा ४ अर्ब ५८ करोड २० लाख रुपैयाँको जुस, १ अर्ब १८ करोड ६६ लाख रुपैयाँको धागो, १ अर्ब ८५ करोड २६ लाख रुपैयाँकाे टेक्सटायल, २ अर्ब ६५ करोड ८४ लाख रुपैयाँको चिया, १ अर्ब २८ करोड ६० लाख रुपैयाँको रोजिन र ३ अर्बको ५ करोड ९३ लाख रुपैयाँ प्लास्टिक बोर्ड भारतमा निर्यात भएको छ ।

चैतसम्ममा १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँको आयल केक र १ अर्ब १७ करोड ९२ लाख रुपैयाँको आयुर्वेदिक औषधि नेपालले भारत निर्यात गरेको छ ।

उक्त अवधिमा ७६ करोड ६७ लाख रुपैयाँको ब्रान्स, ७ करोड ५० लाख रुपैयाँको दाना, १४ करोड ५५ लाख रुपैयाँको सुकमेल, ४६ करोड २९ लाख रुपैयाँको कपर वायर रड, ४९ लाख रुपैयाँको फलफूल, २८ करोड ८७ लाख रुपैयाँको जीआई पाइप, ७२ करोड २९ लाख रुपैयाँको अदुवा र २ करोड २० लाख रुपैयाँको हस्तकला वस्तु निर्यात गरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ ।

सो अवधिमा नेपालले ७७ करोड ५४ लाख रुपैयाँको जडीबुटी, २ करोड १८ लाख रुपैयाँको मार्बल स्ल्याब, ८३ करोड १५ लाख रुपैयाँको नुडल्स, ५ करोड ८१ लाख रुपैयाँको कागज, ७ करोड ५० लाख रुपैयाँको पस्मिना र ७० लाख रुपैयाँको प्लास्टिकबाट बनेको चम्चाहरु भारत निर्यात गरेको छ ।

राष्ट्र बैंककाअनुसार नेपालले १४ करोड १५ लाख रुपैयाँकाे तयारी पाेशाक, ७९ करोड ५५ लाख रुपैयाँको जुत्ता तथा चप्पल, ७ करोड ४२ लाख रुपैयाँको छाला, ४२ करोड ३१ लाख रुपैयाँको टुथपेस्ट, १८ करोड ४७ लाख रुपैयाँको टर्पेन्टाइन, १५ करोड ५६ लाख रुपैयाँको तरकारी, १८ करोड ५५ लाख रुपैयाँको वायर र ९ अर्ब ६३ करोड ८३ लाख रुपैयाँको अन्य विभिन्न प्रकारको वस्तु निर्यात गरेको छ ।

अधिकांश वस्तुको निर्यातमा कमी

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा भारततर्फ निर्यात हुने अधिकांश वस्तुको निकासी घटेको छ । नेपालले गत वर्षको ९ महिनाको अवधिमा भारततर्फ १ खर्ब २७ अर्ब ८९ करोड ५५ लाख रुपैयाँको वस्तु निर्यात गरेको थियो । तर, यो वर्ष सोही अवधिमा नेपालले ८२ अर्ब ९८ करोड ५४ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । जुन गत वर्षको तुलनामा ३५.१ प्रतिशतले कमी हो ।

चालु आर्थिक वर्षको चैतसम्ममा भारततर्फ निकासी हुँदै आएको वस्तुमध्ये सबैभन्दा बढी भटमासको तेलको निर्यातमा कमी आएको छ । नेपालले गत वर्षको ९ महिनाको अवधिमा ४३ अर्ब ३० करोड ८२ लाख रुपैयाँको भटमासको तेल निर्यात गरेकोमा यो वर्ष ८ अर्ब ४३ करोड २३ लाख रुपैयाँमा सीमित भएको छ । जुन ८०.५ प्रतिशतले कमी हो ।

त्यसैगरी, गत वर्षको तुलनामा यो वर्षको ९ महिनाको अवधिमा पशुको दानाको निर्यातमा ६१.२ प्रतिशत, फलफूल ५०.६ प्रतिशत, जुटजन्य वस्तुको ७.३ प्रतिशत, नुडल्स १७.९ प्रतिशत, आयल केक ४१.८ प्रतिशत र पाम तेल ५२.५ प्रतिशत कम निर्यात गरेको छ ।

त्यसैगरी, प्लास्टिकजन्य वस्तु ७७.९ प्रतिशत, जुत्ता तथा चप्पल ५.४ प्रतिशत, छाला ७५ प्रतिशत, टेक्सटायल २६.५ प्रतिशत, धागो २८.५ प्रतिशत, टुथ पेस्ट २८.६ प्रतिशत र अन्य वस्तुको निर्यात १७.७ प्रतिशतले घटेको छ । त्यसबाहेक अन्य वस्तुको निर्यातमा भने बढेको देखिन्छ ।


क्लिकमान्डु