वाणिज्य बैंकका सीईओलाई राष्ट्र बैंकको कडा निर्देशन, सेवाग्राहीका सबै गुनासा समाधान गर्नुहोस्



काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राखेर सेवाग्राहीका गुनासा तत्काल सम्बोधन गर्न निर्देशन दिएको छ ।

वाणिज्य बैंकहरुले सेवाग्राहीका समस्या सम्बोधन नगर्दा राष्ट्र बैंकसम्म आइपुगेको भन्दै गभर्नर महाप्रसाद अधिकारीले त्यस्ता समस्या समाधानमा गम्भीरता देखाउन निर्देशन दिएका हुन् ।

‘तपाईंहरुले गुनासा सम्बोधन नगर्दा ती हामीसम्म आइपुगेका छन्,’ गभर्नर अधिकारीको भनाइ उद्धृत गर्दै एक वाणिज्य बैंकका सीईओले भने, ‘तपाईंहरुले ठिक ढंगले समाधान नगर्दा गुनासा बढेका छन्, सेवाग्राहीका गुनासा हामीसम्म नआइपुगुन् ।’

सेवाग्राहीबाट अनावश्यक शुल्क नलिन र डिजिटल बैंकिङलाई सुरक्षित बनाउन पनि अधिकारीले निर्देशन दिएका छन् ।

राष्ट्र बैंकका उच्च अधिकारीसहित म्यारियट होटलमा गभर्नर अधिकारीले २१ वाणिज्य बैंकका सीईओलाई बोलाएका थिए । अढाई घण्टाको बैठकमा गभर्नर अधिकारीसहित दुवै जना डेपुटी गभर्नर र चारवटै विभागका प्रमुख कार्यकारी अधिकृत सहभागी थिए ।

बैठकमा गत सोमबार राष्ट्र बैंकले सर्कुलर जारी गर्दै निक्षेपको ब्याज घट्दा महिनैपिच्छे ऋणको ब्याजदर घटाउन र सबैलाई समान रुपमा घटाउन निर्देशन दिएको विषयमा भने छलफल नभएको एक बैंकका सीईओले बताए ।

बैंकरहरुले सबै ऋणीको समानरुपले ब्याजदर घटाउन नसकिने र त्यो व्यावहारिक नहुने बताउँदै आएका छन् ।

हालको व्यवस्थाअनुसार बैंकहरुले ३-३ महिनामा आधार दर प्रकाशित गर्नुपर्छ । उक्त आधार दरका आधारमा ब्याजदर निर्धारण हुन्छ । यही व्यवस्थामा रहेर महिनैपिच्छे ब्याजदर घटाउन नसकिने बैंकरहरुले बताएका छन् ।

‘निक्षेपको ब्याजदर घट्दा ऋणको पनि ब्याजदर महिनैपिच्छे घटाउने व्यवस्था गर्दा ऋणीलाई केही राहत हुन्छ भन्ने हाम्रो पनि माग हो,’ एक बैंकरले भने, ‘तर, राष्ट्र बैंकले ल्याएको सर्कुलर व्यावहारिक भएन ।’

बैंकरहरुले यस निर्देशन कार्यान्वयनलाई लिएर लिखित रुपमा असहमति जनाउने बताएका थिए ।

सरकारी तहमा अहिले ब्याजदरको विषय पेचिलो बन्दै गएको छ । ब्याजदर घटाउनुपर्ने माग राख्दै सरकारी उच्च तहमा पुगेका व्यवसायीसामु मुख्यगरी प्रधानमन्त्री र अर्थमन्त्रीले पहल गर्ने आश्वासन दिने गरेका छन् ।

व्यवसायी जगतले ब्याजदर घटाउनुपर्ने माग जोडतोडका साथ राखेपछि प्रधानमन्त्री र अर्थमन्त्रीले राष्ट्र बैंकले ब्याजदर घटाउने विश्वास दिलाउँदै आएका छन् । ३-४ महिना अघिको तुलनामा ब्याजदर केही घटेको भए पनि व्यवसायीले अझै घटाउन दबाब दिँदै आएका छन् ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले कोरोना महामारीका क्रममा जस्तै अहिले पनि लचिलो मौद्रिक नीति लिएर राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउनुपर्ने र ब्याजदर घटाउनुपर्ने भन्दै सार्वजनिक फोरमहरुबाटै दबाब दिँदै आएका छन् । उनले फिस्कल स्पेस नभएकाले मनिटरी साइडबाटै अर्थतन्त्रलाई सहयोग गर्नुपर्ने बताउँदै आएका छन् ।

तर, राष्ट्र बैंक भने अहिले नै धेरै ब्याजदर घटाइहाल्ने पक्षमा छैन । सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने हो भने बैंकिङ प्रणालीको पैसा घरजग्गा, सेयर बजार र आयातमा जाने राष्ट्र बैंकका अधिकारीहरुको विश्लेषण छ ।


क्लिकमान्डु