हाइड्रोपावरमा भित्री कारोबार मौलाएपछि सेयर संरचना पत्ता लगाउन समिति गठन, रुंगटाको के होला ?



काठमाडौं । जलविद्युत कम्पनीमा भित्री कारोबार मौलाउन थालेपछि धितोपत्र बोर्डले संस्थाहरुको सेयर संरचना खोज्न थालेको छ । त्यसका लागि बोर्डले अध्ययन समिति बनाएको छ ।

बोर्डका सञ्चालक तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सह-सचिव फणिन्द्र गौतमको संयोजकत्वमा समिति बनाएको हो । २०७९ चैत १९ गते बसेको बोर्ड सञ्चालक समितिको बैठकले समिति गठन गरेको हो ।

समितिका अन्य सदस्यमा नेपाल चार्टड एकाउन्टेन्ट संस्थाबाट प्रतिनिधित्व गर्ने सञ्चालक सुजनकुमार काफ्ले, बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्य र सदस्य सचिवमा बोर्डका उपकार्यकारी निर्देशक नारायण प्रसाद शर्मा छन् ।

बोर्डले जलविद्युत समूहको सूचीकृत संगठित संस्थाहरूको सेयर धितोपत्र बजारमा सूचीकृत भएपश्चात् तथा धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ ले तोकेको अवधि पूरा गरिसकेका जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरूको सेयर संरचनाको विद्यामान अवस्था र त्यसको प्रभावका सम्बन्धमा अध्ययन गर्न समिति गठन गरेको जनाएको छ ।

समितिले तीन महिनाभित्र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ ले तोकेको अवधि पूरा गरिसकेका जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरूको सेयर संरचनाको विद्यामान अवस्था र त्यसको प्रभावका सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरी सञ्चालक बोर्ड समक्ष पेस गर्नेछ ।

प्रतिवेदनका आधारमा संगठित संस्थाको नियमन तथा सुपरीवेक्षणका सम्बन्धमा थप नीतिगत व्यवस्था गर्नुका साथै पुँजी बजारमार्फत राष्ट्रिय पुँजी निर्माण र परिचालनमा थप योगदान गरी समग्र राष्ट्रिय अर्थतन्त्रलाई गतिशील तथा चलायमान बनाउने अपेक्षा बोर्डले गरेको जनाएको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ मा धितोपत्रको बिक्री गर्न नपाइने भन्ने व्यवस्था छ । ३८ को (१) मा ‘विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्रबाहेक अन्य समूहको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन गरेको सेयर बाँडफाँड भएको मितिले तीन वर्षको अवधि पूरा नभई बिक्री गर्न पाईने छैन’ भन्ने व्यवस्था छ ।

यस्तै ३८ (१क) मा ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक बर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन ।’

(२) मा ‘यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि धितोपत्र विक्री वा हस्तान्तरण गर्न नपाईने गरी तोकिएको समयावधि ( लकइन पिरियड) भित्र त्यस्तो संगठित संस्थाको धितोपत्र बिक्री वा हस्तान्तरण नभएको कारणले संगठित संस्था सञ्चालनमा कुनै बाधा व्यवधान उत्पन्न हुन गएमा त्यस्तो सेयरवालाको बीच धितोपत्र बाँडफाँड वा हस्तान्तरण गर्न बोर्डले स्वीकृति प्रदान गर्न सक्नेछ’ भन्ने व्यवस्था रहेको छ ।

यस्तै ३८ को ‘(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए पनि धितोपत्रधारकको मृत्यु भएको अवस्थामा सम्बन्धित हकवालाको नाममा हस्तान्तरण गर्न सकिनेछ’ भन्ने व्यवस्था छ । 

बोर्डको नियमावलीमा उक्त व्यवस्था भए पनि जलविद्युत कम्पनीमा धमाधम भित्री कारोबार हुन थालेपछि बोर्डले समिति गठन गरेर तीन महिनाभित्र प्रतिवेदन तयार पार्ने समय तोकिएको छ । भित्री कारोबार गरेपछि रिडी पावर कम्पनीका तत्कलीन अध्यक्ष गुरुप्रसाद न्यौपानेलाई धितोपत्र बोर्डले भित्री कारोबार गरेको भन्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

बोर्डले चैत ८ गते न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ । बोर्डले बिगोबमोजिम ३ करोड २३ लाख रुपैयाँ जरिवाना वा एक वर्ष कैद वा दुवै सजायको माग दाबी गरेको छ । न्यौपानेले २०७७ चैन १९ देखि २०७८ साउन २४ सम्म कानुनविपरीत सेयर बिक्री गरेको बोर्डले जनाएको छ ।

न्यौपानेको जस्तै भित्री कारोबार गरेका नेपाल हाईड्रो डेभलपरका तत्कालीन अध्यक्ष ज्ञानेन्द्रलाल प्रधानलाई भने धितोपत्र बोर्डले जालसाजीयुक्त कारोबार गरेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

प्रधानले नेपाल हाइड्रो डेभलपरमा अध्यक्ष हुँदा आफूसँग भएको सेयर श्रीमती, छोरी र छोराको नाममा नामसारी गरेर २६ करोड ३९ लाख ७९ हजार ४६६ रुपैयाँ २० पैसाको सेयर बिक्री गरेका थिए ।

प्रधानले श्रीमती विमलाको नाममा रहेको १८ करोड ५० लाख ७२ हजार ९४७ रुपैयाँ ९० पैसा, छोरा चेतनको नाममा रहेको ४ करोड ८ लाख ४९ हजार ३६५ रुपैयाँ ३० पैसा र छोरी निभिताको नाममा रहेको ३ करोड ८० लाख ५७ हजार १५३ रुपैयाँको सेयर बिक्री गरेको बोर्डले जनाएको छ ।

प्रधानले कानुनविपरीत सेयर बिक्री गरेको पाइएपछि धितोपत्र बोर्डको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले प्रधानलाई ७५ हजार जरिवाना र १० वर्षसम्म कुनै पनि सूचीकृत संस्थाको सञ्चालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन नपाउने गरी कारबाही गरेको पनि गरिसकेको छ ।

यता २ अर्ब १७ करोड ४७ लाख रुपैयाँ बढीको भित्री कारोबार गर्ने राधी विद्युत् कम्पनीका तत्कालीन अध्यक्ष अनिलकुमार रुंगटालाई भने अहिलेसम्म धितोपत्र बोर्डले संरक्षण गरेर राखेको छ । धितोपत्र बोर्डको कानुनविपरीत अर्बौं रुपैयाँको सेयर कारोबार गर्दा पनि बोर्डले रुंगटाको फाइल खोल्ने आँट गरेको छैन ।

रुंगटाले २०७८ वैशाख २९ गतेबाट २०७८ असोज १३ गतेसम्ममा २१ लाख ६१ हजारभन्दा बढी कित्ता सेयर २ अर्ब १७ करोड ४७ लाख बढीमा बिक्री गरेका छन् । करिब ५ महिनाको अवधिमा ५५ कारोबार दिनमा २ अर्ब १७ करोड रुपैयाँबराबरको सेयर बिक्री गरेको तथ्य समेत फेला पारेको बोर्डले रुंगटालाई जोगाउन लागेको छ ।

जलविद्युत कम्पनीमा भित्री कारोबार बढेपछि कम्पनीको सेयर संरचना थाहा पाउन भन्दै समिति नै गठन गरेको छ ।


सोभित थपलिया