फ्लाई दुबईको विमानमा चरा ठोक्किएको एटीसीको लगबुकमा रेकर्ड, घटनालगत्तै दुबई पठाइएको थियो म्यासेज



सोमबार राति फ्लाई दुबईको विमानमा आगोको झिल्का देखिएपछि रनवे (धावनमार्ग) निरीक्षणमा गएको एयर साइट म्यानेजमेन्ट ड्युटी टिमले दिएको सूचनाका आधारमा एयर ट्राफिक कन्ट्रोलर (एटीसी)ले लकबुकमा चरा ठोक्किएको रेकर्ड राख्नुका साथै दुबईस्थित फ्लाई दुबईको कार्यालयमा अटोमेटिक म्यासेज ह्यान्डलिङ सिस्टम (एमएचएस) मार्फत् विमानमा चरा ठोक्किएको हुनसक्ने इमेल पठाएको खुलेको छ ।

काठमाडौं । गत सोमबार फ्लाई दुबईको विमानमा आगोका झिल्का देखिएको ४१ मिनेटपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरमा रहेका एटीसीले विमानमा चरा ठोक्किएको हुन सक्ने जानकारी पठाएको खुलेको छ ।

विमानमा आगोको झिल्का देखिएपछि रनवे (धावनमार्ग) निरीक्षणमा गएको एयर साइट म्यानेजमेन्ट ड्युटी टिमले मृत चरा फेला पार्नुको साथै चराका पखेटाहरु पाएपछि एटीसीले फ्लाई दुबईको विमान चरासँग ठोक्किएको लगबुकमा रेकर्ड राखेको छ ।

यस्तै, विमानस्थल कार्यालयमा रहने एटीसीको बिफ्रिङ टिमले एक विमानस्थलबाट अर्को विमानस्थलमा सन्देश पठाउन प्रयोग हुने अटोमेटिक म्यासेज ह्यान्डलिङ सिस्टम (एमएचएस) मार्फत् दुबईमा रहेको फ्लाई दुबई एयरलाइन्सको कार्यालयमा पनि विमानमा चरा ठोक्किएको हुन सक्ने सन्देश पठाएको थियो ।

एटीसी र पाइलटले घटना लगत्तै गरेको संवादमा पनि विमानमा चरा ठोक्किएको हुन सक्ने आशंका गरेका थिए । तर, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानमा चरा ठोक्किएको सन्देश जाँदा नेपाली आकाश असुरक्षित भएको सन्देश जान सक्ने भन्दै विमानमा चरा नठोक्किएको सूचना फैलाएका थिए ।

काठमाडौंबाट एटीसीले एएमएचएसमार्फत् पठाएको सूचना र फ्लाई दुबईलाई पाइलटले दिएको जानकारीको आधारमा दुबईबाट फ्लाई दुबईले सोमबार राती काठमाडौंमा चरा ठोक्किको जानकारी सम्प्रेषण गरेको थियो ।

यस्तो छ सोमबार एटीसीले राखेको लगबुकको रेकर्ड

९:२१ फ्लाई दुबईले काठमाडौं मे डे रिपोर्ट गर्‍यो । विमानस्थलको टीडीओ र अपरेसनलाई खबर गरियो ।

९:३९ फ्लाई दुबईको एफडीबी ५७६ विमान धार्के क्षेत्रको आकाशमाथि होल्ड गरिरहेको ।

९:४७ फ्लाई दुबईले सबै अवस्था सामान्य रहेको र दुबईतर्फ उडान गर्ने जानकारी गराएको ।

१०:०२ विमानमा चरा ठोक्किएको सन्देश सम्बन्धित सबै पक्षलाई पठाइयो ।

१०:०२ टावरले चरा ठोक्किएको अनुमान गरेकै अवस्थामा धावनमार्ग निरीक्षण गर्न जाँदा चरा भेटिएको ।

१०:१६ देखि ९:५९ सम्म विमानस्थल खुला गरिएको ।

तर, काठमाडौं विमानस्थलमा चरा ठोक्किएको झुटो अपवाह फैलाएको भन्दै प्राधिकरणका महानिर्देशक अधिकारीको निर्देशनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फ्लाई दुबईका विमानस्थल प्रमुख र कन्ट्री म्यानेजरको विमानस्थल प्रवेश पास रद्द गर्ने निर्णय गरेको छ ।

विमानस्थल कार्यालयका एक उच्च अधिकारी नेपालमा रहेका फ्लाई दुबईका कर्मचारीको पास रद्द गर्ने निर्णय स्वच्छारीको हद भएको बताउँछन् ।

‘हाम्रो विमानस्थलबाट भएको सूचनाका आधारमा दुबईबाट फ्लाई दुबईले चरा ठोक्किएको जानकारी सार्वजनिक गरेको हो,’ विमानस्थल कार्यालयका एक अधिकारी भन्छन्, ‘प्रधान कार्यालयले चरा ठोक्किएको जानकारी सार्वजनिक गरेकै आधारमा कम्पनीका स्थानीय कर्मचारीको पास रद्द गर्ने निर्णय गलत छ । उहाँले कारबाही गर्ने हो भने प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुललाई कारबाही गर्नुपर्छ ।’

गत सोमबार फ्लाई दुबईको विमानमा आगोका झिल्का देखिएपछि प्राधिकरणका सूचना अधिकारी भुलले विमानको लेफ्ट इन्जिन फेल भएको सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका थिए ।

प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम काठमाडौंबाट एटीसीले फ्लाई दुबईको विमानमा चरा ठोक्किएको आशंका गरिएको जानकारी पठाएको अवस्थामा विमानस्थल कार्यालयले फ्लाई दुबईका कर्मचारीको पास रद्द गर्नु हतास मानसिकता भएको बताउँछन् ।

‘विमानमा आगोको झिल्का कसरी देखिएको थियो भन्ने जानकारी विस्तृत अनुसन्धानपछि सार्वजनिक भइहाल्छ,’ उनले भने, ‘ पाइटल र कम्पनीले चरा ठोक्किएको आशंका गरेको अवस्थामा प्राधिकरणले चरा ठोक्किएको हुँदै होइन भनेर दाबी गर्नु गलत हो ।’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चरा ठोक्किएको यथार्थ बाहिर ल्याउँदा नेपाली आकाश असुरक्षित भएको सन्देश जाने र त्यसले फेरि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याएर सेवाप्रदायक र नियामक निकाय छुट्याउनुपर्ने आवाज उठ्न सक्ने डरले प्राधिकरणका महानिर्देशक अधिकारीले चरा ठोक्किएको हुन सक्ने आशंका पनि नगर्न निर्देशन दिएको स्रोतको दाबी छ ।

नेपालको हवाई क्षेत्रमा सेवाप्रदायक र नियामक निकाय एउटै हुँदा उड्डयन सुरक्षा कमजोर भएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण, युरोपियन युनियन, एसियाली विकास बैंकलगायतका संस्थाले प्रश्न उठाउँदै आएका छन् ।

गत माघमा पोखरामा भएको यति एयरको दुर्घटनापछि पनि उड्डयन क्षेत्रमा सेवाप्रदायक र नियामक निकाय छुट्याउनुपर्ने बहस चलेको थियो । सरकारले चालू आर्थिक वर्षको बजेटको १०१ नम्बर बुँदामा प्राधिकरणको पुनःसंरचना गरी सेवाप्रदायक र नियामकको रुपमा छुट्टाछुट्टै निकाय स्थापना गर्ने उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय निकायका साथै संसदीय समितिले समेत प्राधिकरणलाई छुट्याएर सेवामूलक संस्था फरक बनाउने प्रक्रिया सुरु गर्न निर्देशन दिएपछि सरकारले २०७६ फागुन ११ गते राष्ट्रिय सभामा नेपाल हवाई सेवा विधेयक दर्ता गरेको थियो ।

२०७८ साउन १८ गते राष्ट्रिय सभाबाट उक्त विधेयक पारित भयो । तर, प्रतिनिधि सभाबाट भने पारित हुन सकेन । जसले गर्दा प्रधिकरणलाई छुट्याएर नेपाल हवाई सेवा प्राधिकरण स्थापना गर्ने विधेयक निष्क्रिय भएको छ ।

हाल प्राधिकरणलाई दुक्र्याएर दुई निकाय बनाउने विधेयक कानुन मन्त्रालयमा विचाराधीन छ । प्राधिकरण टुक्र्याएर दुई निकाय बनाउँदा आफ्नो अधिकार कम हुने भन्दै महानिर्देशक अधिकारीले विधेयकलाई संसदमा पेस गर्नै नदिने षड्यन्त्र गरिरहेको पर्यटन मन्त्रालयका एक अधिकारी बताउँछन् ।

‘अहिले फ्लाई दुबईको दुर्घटना प्राधिकरणको कमजोरीले भएको हो भन्ने म्यासेज जाँदा फेरि उड्डयन क्षेत्रमा सेवाप्रदायक र नियामक निकाय छुट्याउने बहस चर्किन सक्छ भन्ने उहाँलाई लागेको छ,’ प्राधिकरणका एक अधिकारी भन्छन्, ‘त्यसैले उहाँ जसरी पनि विमानमा चरा ठोक्किएकै थिएन भन्ने म्यासेज प्रवाह गर्न चाहिरहनुभएको छ ।’

फ्लाई दुबईले इन्जिन परीक्षण गर्दै रिपोर्ट दिएपछि मात्रै विमानस्थलमा कसरी आगो लागेको थियो भन्ने विषय यकिन हुने प्राधिकरणका अधिकारी बताउँछन् ।

सोमबार राति ९ बजेर २० मिनेट (यूटीसीः १५:३५) मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) बाट फ्लाई दुबईको विमान उडेलगत्तै आगोको झिल्का देखिएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोटेश्वरतर्फबाट विमान उडेलगत्तै पाइलटले विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई ‘मे डे’ भन्दै ‘इमर्जेन्सी डिक्लियर’ गरेका थिए ।

काठमाडौंको आकाशमा २७ मिनेट फन्को लगाएपछि पाइलटले ९:४७ बजे (यूटीसीः १६:०२) मा विमानको अवस्था ठिकै रहेको जनाउँदै दुबईतर्फ उडान गरेका थिए ।


शरद ओझा