उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु (तस्बिरहरु)



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । मंगलबार उद्घाटन भएको ५७औं वार्षिक साधारण सभाको दोस्रो दिन आज नेतृत्व चयनका लागि प्रज्ञा भवनमा मतदान सुरु भएको हो ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । त्यसकारण पनि वरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने गर्छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल साधारण सभाबाट स्वत: अध्यक्ष बन्नेछन् ।

वरिष्ठ उपाध्यक्षको दौडमा यसपटक तीन जना प्रतिस्पर्धी छन् । वरिष्ठ उपाध्यक्षका लागि महासंघका वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फका वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघई प्यानलसहित मैदानमा छन् ।

त्यस्तै जिल्ला/नगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगततर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ ।

उमेशलालको प्यानलबाट जिल्ला/नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठले मनोनयन दर्ता गराएका छन् भने वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएटतर्फको उपाध्यक्षमा भरतराज आचार्यले उम्मेदवारी दिएका छन् ।

त्यस्तै अञ्जन श्रेष्ठको प्यानलबाट जिल्ला/नगरतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगततर्फ उपाध्यक्षमा मनीषलाल प्रधानले उम्मेदवारी दिएका छन् । श्रेष्ठले एसोसिएटतर्फको उपाध्यक्षका लागि उमेशलालकै प्यानलका भरतराज आचार्यलाई समर्थन गरेका छन् ।

संघईको प्यानलबाट उपाध्यक्ष पदमा जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य, वस्तुगततर्फ सकुन्तलाल हिराचन र एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठ उठेका छन् ।

आज हुने निर्वाचनमा विभिन्न ६४ पदका लागि ११६ जनाले प्रतिस्पर्धा गर्नेछन् । ११८ जनाले मनोनयन दर्ता गराएकोमा लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र द्विराष्ट्रिय सदस्यमा नेपाल-भारत उद्योग वाणिज्य संघका प्रतिनिधि सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । ती दुई पदका लागि एकल उम्मेदवारी परेको हो ।

जिल्ला/नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।

मतदान कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ । मतदान केन्द्रभित्र कुनै पनि उम्मेदवार वा समूहको फ्लेक्स, ब्यानर टाँस्न, झुन्ड्याउन र भड्किलो प्रदर्शन गर्न निषेध गरिएको छ ।

मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ । तर, उक्त समयभित्र मतदान स्थलभित्र प्रवेश गर्ने मतदातालाई जतिसुकै समय लागे पनि भोट खसाल्न दिइने मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए । त्यस्तै तोकिएको समयावधिमा मतदात सुरु हुन नसके त्यति नै समय थप गरिने कार्यालयले जनाएको छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।

मतदान गर्न जाँदा मत संकेत गर्ने कोठामा मोबाइल, क्यामेरा तथा सलाइ, लाइटर, प्रज्वलनशील पदार्थ र तरल पदार्थ लिएर जान निषेध गरिएको छ । मतदान गर्न जाँदा मुख्य प्रतिनिधि परिचय पत्रका साथै आफ्नो परिचय पत्र खुल्ने फोटोसहितको परिचय पत्र अनिवार्य गरिएको छ ।

जिल्ला/नगर तथा वस्तुगत संघ समूहका लागि १-१ तथा एसोसिएटका लागि ३ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन समितिको कार्यालयले जनाएको छ । जिल्ला/नगर समूहका सबै पदका लागि रातो रंगको मतपत्र, वस्तुगत समूहका सबै पदका लागि निलो रंगको मतपत्र र एसोसिएट समूहका सबै पदका लागि सेतो रंगको मतपत्र निर्धारण गरिएको छ । प्रदेश सदस्य र संस्थागत समूह सदस्य पदको मतपत्र भने पहेँलो रंगको हुनेछ ।

मतगणना स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेमा सुरक्षाकर्मीको सहायता लिएर हल बाहिर पठाइने निर्वाचन समितिको कार्यालयले स्पष्ट पारेको छ । मतदान र मतगणना स्थलमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले तीन-तीन जना प्रतिनिधि राख्न सक्नेछन् ।

तस्बिरहरु


सोभित थपलिया