केयल ग्रुपले एकै वर्षमा गर्यो १९ अर्बको व्यापार, नारायणी स्टिलको हिस्सा ५० प्रतिशत
काठमाडौं । नेपाली बजारमा स्टिलजन्य सामग्री बेच्ने केयल ग्रुपले एकै वर्ष १९ अर्बभन्दा बढीको व्यापार गरेको छ । ग्रुपद्वारा सञ्चालित विभिन्न ५ कम्पनीले १९ अर्ब ३१ करोड ४० लाख रुपैयाँको व्यापार गरेका हुन् ।
ग्रुपद्वारा सञ्चालित श्रीकृष्ण स्टिल इन्डष्ट्रिज प्रालिले सन् २०२२ मा १ अर्ब ३२ करोड ५० लाख, नारायणी स्पात प्रालिले ९ अर्ब २९ करोड ३० लाख, नारायणी स्ट्रिप्स प्रालिले ३ अर्ब ६४ करोड ८० लाख, नारायणी स्टिल प्रालिले १ अर्ब ६० करोड ८० लाख र नारायणी रोलिङ मिल्स प्रालिले ३ अर्ब ४४ करोड रुपैयाँको व्यापार गरेका छन् ।
सबैभन्दा बढी व्यापार नारायणी स्टिलले गरेको छ । पाँच कम्पनीबाट १९ अर्बको व्यापार हुँदा नारायणी स्टिलको हिस्सा मात्रै ५० प्रतिशतभन्दा बढी छ । ग्रुपका ५ कम्पनीमध्ये २ वटाले सन् २०२२ मा नाफा कमाएका छन् भने ३ कम्पनीको व्यापारमा उच्च कमी आएको छ । कम्पनीको नाफा समग्रमा घटेको छ ।
सत्यनारायण केयल अध्यक्ष रहेको यो ग्रुपले साढे १४ अर्ब रुपैयाँ भने दीर्घकालीन तथा अल्पकालीन कर्जा लिने भएको छ ।
कुन कम्पनीले कति गरे व्यापार ?
श्री कृष्ण स्टिल इन्डष्ट्रिज प्रालिको व्यापार १८ प्रतिशतले घट्यो
केयल ग्रुपद्वारा सञ्चालित श्री कृष्ण स्टिल इन्डष्ट्रिज प्रालिले सन् २०२२ मा १ अर्ब ३२ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब ६१ करोड २० लाख र सन् २०२० मा १ अर्ब ६८ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीका अनुसार सन् २०२२ मा सन् २०२१ को तुलनामा १७.८१ प्रतिशतले व्यापार घटेको हो । दुई दशकदेखि विभिन्न प्रकारका पाइप, सिट्स, शटरपत्तिजस्ता स्टिलजन्य वस्तु बिक्री गर्दै आएको कम्पनीको उद्योग बारामा छ ।
कम्पनीको व्यापार घटेसँगै नाफामा पनि कमी आएको छ । कम्पनीले सन् २०२२ मा १ करोड मात्रै नाफा कमाएको उल्लेख गरेको छ । जबकि, कम्पनीले सन् २०२१ मा ७ करोड ४० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीका अनुसार सन् २०२२ मा उत्पादन गर्ने वस्तुका लागि अत्यावश्यक कच्चा पदार्थको मूल्य २७.५६ प्रतिशतले बढ्दा नाफामा उच्च कमी आएको हो ।
कम्पनीले गरेको आम्दानीमध्ये ९२ प्रतिशत मात्रै कच्चा पदार्थको छ । कम्पनीको निर्देशक विकासकुमार केयल हुन् । कम्पनीको नारायणी स्टिल ब्रान्डमा स्टिलका सामग्री उत्पादन गरेर बिक्री गर्दै आएको छ । कम्पनीको उपत्यकामा मात्रै १५ वटा हार्डवेयर शाखा छन् भने देशभर १२९ वटाभन्दा बढी वितरक छन् ।
कम्पनीले हट रोल्ड र कोल्ड रोल्ड पाइपलगायत सटर पत्ति, चेक्वयर प्लेट विभिन्न आकारमा उत्पादन गर्दै आएको छ ।
नारायणी स्पातको व्यापार ६६ प्रतिशतले बढ्यो
अधिकांश कम्पनीको व्यापार घट्दा नारायणी स्पात प्रालिको व्यापार भने ६६ प्रतिशतले बढेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको व्यापार ६५.७१ प्रतिशतले बढेको हो ।
कम्पनीले सन् २०२१ मा ५ अर्ब ६० करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा कम्पनीले ९ अर्ब २९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, सन् २०२० मा ३ अर्ब ५८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २००९ देखि टीएमटी बार तथा अन्य स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको कम्पनीको वार्षिक ३ लाख २२ हजार टन उत्पादन क्षमता छ । कम्पनीको सन् २०२२ मा उच्च परिमाणमा सामग्री बिक्री भएको उल्लेख छ ।
कम्पनीका अनुसार सन् २०२२ मा ३० प्रतिशतले बिक्री बढेर १ लाख ५ हजार ७३४ टन डण्डी बिक्री भएको छ । त्यससँगै कम्पनीको नाफा ९१.९३ प्रतिशतले बढेको छ । कम्पनीले डिप्रिसिएसन, कर र लिज रेन्टर गरेर सन् २०२२ मा ४८ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ । सन् २०२१ मा ४.४७ प्रतिशतले नाफा बढाएको कम्पनीले सन् २०२२ मा ५.१७ प्रतिशतले नाफा बढाएको थियो ।
कम्पनीको खुद नाफामा पनि सुधार आएको छ । कम्पनीले सन् २०२१ मा ९ करोड ८० लाख रुपैयाँ नाफा कमाएकोमा सन् २०२२ मा १२ करोड ३० लाख रुपैयाँ कमाएको छ ।
कम्पनीले विभिन्न देशबाट एमएस विलेट आयात गरी नेपाली बजारमा डण्डी उत्पादन गर्दै आएको छ । कम्पनीको १ लाख ७५ हजार विलेट आयात गरी खपत गर्ने क्षमता छ ।
त्यस्तै, कम्पनीले स्पन्ज आइरन भारतबाट कच्चा पदार्थको रुपमा आयात गरेर डण्डी उत्पादन गर्दै आएको छ । उक्त उत्पादित सामग्री कम्पनीले नारायणी ब्रान्डमा बिक्री गर्दै आएको छ । कम्पनीका देशभर १२९ वटा डिलर छन् ।
नारायणी स्ट्रिप्सको व्यापार १२ प्रतिशतले घट्यो
केयल ग्रुपकै नारायणी स्ट्रिप्सको व्यापार पनि १२ प्रतिशतले घटेको छ । सन् २०२१ को तुलनामा सन् २०२२ मा कम्पनीको व्यापार १२ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२२ मा ३ अर्ब ६४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२१ मा कम्पनीले ४ अर्ब १४ करोड रुपैयाँको व्यापार गरेको थियो । साथै, सन् २०२० मा ३ अर्ब २१ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् २०१५ मा स्थापना भएको कम्पनीले पाइप, सिट्स, स्टिस्, रिज, चेक्वयर प्लेट गरी वार्षिक ४ लाख २२ हजार ४ सय टन स्टिलजन्य सामग्री उत्पादन क्षमता छ ।
कम्पनीले सन् २०२२ मा ७ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सन् २०२१ मा ३० करोड १ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले आम्दानी गरेकोमध्ये ८७ प्रतिशत कच्चा पदार्थको छ ।
नारायणी स्टिलको व्यापार पनि ३ प्रतिशतले घट्यो
केयल ग्रुपद्वारा सञ्चालित अर्को कम्पनी नारायणी स्टिलको व्यापार पनि ३ प्रतिशतले खस्किएको छ । सन् २०२१ मा १ अर्ब ६५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२२ मा १ अर्ब ६० करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।
सन् २००४ बाट निरन्तर तार, नेल र अन्य विभिन्न स्टिलजन्य सामग्री उत्पादन गर्दै आएको कम्पनीको वार्षिक उत्पादन क्षमता ६५ हजार टन छ । कम्पनीको सन् २०२२ मा परिमाण बिक्रीमा १८.२७ प्रतिशतले कमी आएको छ । कम्पनीले सन् २०२१ मा १७ हजार ९२ टन सामग्री बिक्री भएकोमा सन् २०२२ मा १३ हजार ९७० टन सामग्री बिक्री गरेको छ ।
कम्पनीले ३ करोड २० लाख रुपैयाँ घाटा व्यहारेको जनाएको छ । कम्पनीले सन् २०२१ मा ६ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीले गरेको आम्दानीमध्ये ९५ प्रतिशत हिस्सा उत्पादन गर्नका लागि अत्यावश्यक कच्चा पदार्थको छ ।
कम्पनीले जीआई वायर, एमएस वायर बार्बेड वायर र अन्य विभिन्न प्रकारका सामग्री बजारको मागअनुसार उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ ।
नारायणी रोलिङ मिल्सको व्यापार भने १६ प्रतिशतले बढ्यो
अधिकांश कम्पनीको व्यापार घट्दा नारायणी रोलिङ मिल्स प्रालिको व्यापार भने १६ प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ४४ करोड रुपैयाँको व्यापार गरेको छ ।
सन् २०२१ मा २ अर्ब ९७ करोड ४० लाख रुपैयाँ र सन् २०२० मा २ अर्ब ७९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।
सन् १९९२ मा स्थापना भएको कम्पनीले टीएमटी बार, एंगल्स र अन्य विभिन्न प्रकारका स्टिलजन्य वस्तु उत्पादन गरी बिक्री गर्दै आएको छ । दैनिक ४८ हजार ३ सय टन उत्पादन क्षमता भएको कम्पनीले उक्त विभिन्न प्रकारका सामग्री नारायणी ब्रान्डमा बिक्री गर्दै आएको छ ।
कम्पनीले आम्दानी गरेकोमध्ये डण्डीको हिस्सा २६ प्रतिशत छ । त्यसबाहेक अन्य कोल्ड टोरकारी, एंगल र फ्ल्याटको हिस्सा ५१ प्रतिशत छ । कम्पनीले सन् २०२२ मा ३ करोड ३० लाख रुपैयाँ नाफा कमाएको छ ।
जबकि, कम्पनीले सन् २०२१ मा ६ करोड ९० लाख रुपैयाँ कमाएको थियो । कम्पनीले आम्दानी गरेकोमा कच्चा पदार्थको हिस्सा निकै ठूलो छ ।
साढे १४ अर्ब ऋण लिँदै
विभिन्न ५ वटा कम्पनीबाट १९ अर्ब व्यापार गरेको केयल ग्रुपले साढे १४ अर्ब बढी ऋण लिने भएको छ । कम्पनीले अधिकांश कम्पनीको रेटिङ गराएर अल्पकालीन तथा दीर्घकालीन कर्जा लिने भएको हो ।
कम्पनीका अनुसार विभिन्न कम्पनीका लागि १४ अर्ब ६४ करोड ७३ लाख रुपैयाँ कर्जा लिने भएको हो । श्रीकृष्ण स्टिलले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब ४१ करोड ४८ लाख रुपैयाँको रेटिङ गराएको छ । त्यसैगरी, नारायणी स्पातले दीर्घकालीन कर्जाका लागि १ अर्ब ५१ करोड ७८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३ अर्ब ५२ करोड ५० लाख रुपैयाँ गरी ५ अर्ब ४ करोड २८ लाख रुपैयाँको रेटिङ गराएको छ ।
त्यस्तै, नारायणी स्ट्रिप्सले दीर्घकालीन कर्जाका लागि ५५ करोड ७६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४ अर्ब ५१ करोड ३० लाख गरी ५ अर्ब ७ करोड ६ लाख रुपैयाँ, नारायणी स्टिलले दीर्घकालीन तथा अल्पकालीन गरी १ अर्ब ३६ करोड ९५ लाख रुपैयाँ र नारायणी रोलिङ मिल्सले अल्पकालीन कर्जाका लागि १ अर्ब ७४ करोड ९५ लाख रुपैयाँको रेटिङ गराएको छ ।