अर्बपतिको सूचीमा १६९ भारतीय, संख्या बढे पनि सम्पत्ति १० प्रतिशतले घट्यो



एजेन्सी । विश्वकै अर्बपतिहरुको सूची सार्वजनिक गर्ने फोर्ब्सले सन् २०२३ का धनी व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा भारतीय मूलका नागरिकहरुको संख्या १६९ जना छ ।

गतवर्ष यो सूचीमा भारतीय मूलका नागरिकहरुको संख्या १६६ मात्रै थियो । यो सूचीमा भारतीयको उपस्थिति त बढिरहेको छ । तर, अच्चमको कुरा चाहिँ यो सूचीमा भारतीय मूलका नागरिकहरुको संख्या बढे पनि उनीहरुको कुल सम्पत्तिको हिस्सा भने निकै कम छ ।

सन् २०२२ मा यो सूचीमा रहेका कुल १६६ जना भारतीय मूलका अर्बपतिहरुको कुल सम्पत्ति ७५० बिलियन अमेरिकी डलर थियो । तर, यो वर्ष यो सम्पत्तिको हिस्सा कम भएर ६७५ बिलियन अमेरिकी डलर मात्रै छ ।

सन् २०२२ को तुलनामा सन् २०२३ को यो सूचीमा भारतीय अर्बपतिहरुको कुल सम्पत्ति १० प्रतिशतले कम भएको छ । र यो सबैको कारण एउटै व्यक्ति हुन्–गौतम अडानी ।

गौतम अडानी अर्बपति हुन् । भारतका नामुद व्यापारी पनि हुन् । सत्ताको आडमा सम्पत्ति आर्जन गर्ने व्यक्तिहरुको कुरा गर्ने हो भने पनि अडानीको नाम सबैभन्दा अगाडि नै आउँछ । र, अडानी नै त्यस्तो एक कारण हुन, जसले गर्दा फोर्ब्सको सूचीमा भारतीय मूलका अर्बपतिहरुको संख्या बढे पनि उनीहरुको कुल सम्पत्तिको हिस्सा भने कम भएको छ ।

भारतीय मूलका अर्बपतिहरुको सम्पत्तिको हिस्सा कम हुनुमा अडानी नै मुख्य कारण हुन् । अडानी ग्रुपमा रहेका विभिन्न कम्पनीहरुको सेयरको मूल्यमा आएको कमीका कारण विश्वकै धनीहरुको सूचीमा रहेका भारतीय अर्बपतिहरुको उपस्थिति बढेपनि सम्पत्तिको हिस्सा भने बढ्न सकेको छैन ।

गत जनवरीमा हिडेनबर्ग रिसर्च नामक कम्पनीले अडानी ग्रुपबारे अध्ययन गरेको रिपोर्ट सार्वजनिक भएपछि उक्त समूहका विभिन्न कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको थियो । उक्त रिपोर्टमा लगाइएका आरोपहरुलाई अडानी समूहका प्रतिनिधिहरु अस्वीकार गरे पनि यसको असर बजारमा भने देखियो । जसकारण सेयरको मूल्यमा उच्च गिरावट देखा पर्यो ।

सन् २०२२ मा ९० बिलियन अमेरिकी डलर रहेको गौतम अडानीको कुल सम्पत्ति यो रिपोर्ट सार्वजनिक भएपश्चात सेयर मूल्यमा गिरावट आउँदा घटेर ४७.२ बिलियन अमेरिकी डलरमा पुगेको थियो ।

पूर्वाधार र अन्य वस्तुको व्यापारबाट चर्चामा आएका अडानी गत वर्ष सेप्टेम्बरमा विश्वकै दोस्रो धनी व्यक्तिसम्म बन्न पुगेका थिए । गत जनवरीमा हिडेनबर्ग रिसर्चको रिपोर्ट सार्वजनिक हुनुभन्दा अघि पनि उनी तेस्रो स्थानमा थिए । तर, कालान्तरमा उनको स्थान २४ औं बनेको छ । हाल उनी भारतका दोस्रो धनी व्यक्ति हुन् ।

भलै भारतका शीर्ष १० अर्बपतिहरुको कुल सम्पत्तिमा अडानीको सम्पत्तिमा आएको जस्तो गिरावट नआए अडानीमा परेको असरले समग्र अर्बपतिहरुकै कुल सम्पत्तिको हिस्सालाई बिथोलिदियो ।

समग्रमा भारतीय मूलका अर्बपतिहरुको कुल सम्पत्तिको हिस्सा कम भएको थियो । भारतीय मूलकै फार्मा क्षेत्रका अर्बपति दिलिप साङ्गभीको सम्पत्ति पहिलेकै अवस्थामा रहेको छ । यसबाहेक अन्य भारतीय मूलका शीर्ष १० अर्बपतिहरुको सम्पत्ति कम भएको छ ।

गत वर्ष आफ्नो कुल सम्पत्तिमा ८ प्रतिशतको गिरावट भएका मुकेश अम्बानी अहिले पनि भारत मात्र नभएर एसियाली मुलकै धनी व्यक्तिको रुपमा रहेका छन् ।

विश्वका अर्बपतिहरुको सूचीमा उनको स्थान नवौं रहेको छ । उनको नेटवर्थ ८३.४ बिलियन अमेरिकी डलर रहेको छ । गत वर्ष अम्बानीको कम्पनी रिलायन्स इडस्ट्रिजले १ सय बिलियन अमेरिकी डलरको कारोबार गरेको थियो । कम्पनीको इतिहासमा नै यो मात्रामा पहिलो पटक आम्दानी गरेको थियो ।

प्रविधि क्षेत्रका भारतीय अर्बपति शिभ नाडरको सम्पत्ति गत वर्षको तुलनामा ११ प्रतिशतले कम भएको छ । तर, पनि उनी भारतकै तेस्रो धनी व्यक्तिका रुपमा रहेका छन् । उनको हालको कुल सम्पत्ति २५.६ बिलियन अमेरिकी डलर रहेको छ ।

त्यस्तै, भारतमा कोरोना महामारीपश्चात भ्याक्सिनको अत्यावश्यकता हुँदा हुँदै पनि भारतीय भ्याक्सिन ‘किङ्ग’ साइरस पुनवालाको कुल सम्पत्ति ७ प्रतिशतले कम भएको छ । उनको हालको कुल सम्पत्ति २२.६ बिलियन रहेको छ ।

त्यस्तै, खुद्रा क्षेत्रका भारतीय अर्बपति राधाकिशन दामनीको सम्पत्ति पनि गत वर्ष गिरावट भएर हाल १५.३ बिलियन अमेरिकी डलर रहेको छ ।

यो वर्ष फोर्ब्सको सूचीमा सूचीकृत भएका भारतीय अर्बपतिहरुमा १६ जना नयाँ व्यक्तिहरु छन्, जसमध्ये तीन जना महिलाहरु छन् ।

रेखा झुनझुन वाला, सोहिका साइसर मिस्त्री र सपुर मिस्त्री यो वर्ष भारतीय मुलबाट अर्बपतिको सूचीमा सूचीकृत हुने महिला अर्बपतिहरु हुन् । रेखा झुनझुनवाला भारतका ‘वारेन बफेट’ मानिने राकेश झुनझुनवालाकी श्रीमती हुन् । राकेश भारतकै शीर्ष लगानीकर्ताहरुमध्येका थिए, जसको मृत्यु गत अगस्टमा भएको थियो ।

त्यस्तै, यो वर्ष भारतबाट फोर्ब्सको अर्बपतिको सूचीमा पुग्ने सबैभन्दा कान्छा व्यक्ति निखिल कामत हुन् । ३६ वर्षिय उनी जेरोधाका संस्थापक हुन् । उनी र उनका दाई नितिन कामतले मिलेर यो कम्पनीको सुरुवात गरेका थिए ।

गत वर्ष यो सूचीमा रहेका २३ जनाले यो वर्ष सूचीमा स्थान पाएका छैनन् । फलामको क्षेत्रमा काम गर्ने भारतीय अर्बपति अनिल अग्रवालको सम्पत्ति ऋणका कारण कम भएको छ भने बिजय शेखर शर्माको सम्पत्ति पनि कम भएको छ ।


क्लिकमान्डु