तीन वर्षदेखि बन्द चिनियाँ नाका खुल्यो, दुई नाकाबाट यात्रु आवतजावत र तीनबाट व्यापार हुने



काठमाडौं। कोरोना महामारीदेखी बन्द रहेका चीन तर्फका नाका पुर्ण रूपमा खुल्ला हुने भएका छन् ।

२०७६ चैत ११ गते नेपाल सरकारले लकडाउन गरेपछी बन्द रहेको चीन तर्फको रसुवागढी नाका आज (शनिबार) बाट दुई तर्फी रूपमा व्यापार र यात्रु आवतजावतका लागि खुल्ला भएको हो ।

यसअघि २०७८ असोजदेखि चीनबाट एकतर्फी मालसामान ल्याउने गरि रसुवागढी नाका खुल्ला भएको थियो ।

त्यसका लागी पनि नेपाल सरकारले ठुलै प्रयास गर्नु परेको थियो । नेपाल सरकार र परराष्ट्र मन्त्रालयले निरन्तर व्यापार सहजीकरण गर्न आग्रह गरेपनि २०७८ असोजमा केरुङबाट ७ ट्रक र तातोपानी भन्सारबाट १० देखि १५ कन्टेनर सामान ल्याउन दिइएको थियो ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि गत पुस १२ गते रुसुवा नाकाबाट करिब ५२ लाख रुपैयाँ बराबरको ८ कन्टेनर सामान निर्यात भएको थियो । तर, २०७६ चैत यता यात्रुको आवतजावत पुर्ण रूपमा ठप्प थियो ।

चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा नेपालको तर्फबाट गएको बाणिज्य सचीव मघु मरासिनी नेतृत्वको प्रतिनिधिमण्डल र तिव्बत स्वशासित क्षेत्र, चीन, का उपाध्यक्ष म्यान सिलांग निमा सहितको प्रतिनिधि बीच मार्च २९ मा भएको वार्ताले सीमा नाका खुल्ला गर्ने सहमती गरेको हो ।

वार्तामा नेपालका तर्फबाट सहभागी बाणिज्य मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले चीन सरकार तीन नाका व्यापारका लागि र दुई नाका यात्रु आवतजावतका लागि खुल्ला गर्न सहमत भएको जानकारी दिए ।

मार्च २९ मा भएको सहमती अनुसार रसुवागढी नाका खुल्ला भएपछि वार्ताका लागि हवाई रूट मार्फत तिब्बत पुगेको सचीव मरासिनी नेतृत्वको टोली स्थल मार्ग हुँदै नेपाल फर्किएको छ ।

बाणिज्य मन्त्रालयका सचीव मरासिनी रसुवगढीमा ।

चीन सरकारसँग भएको सहमति अनुसार अप्रील १ तारीखबाट रसुवागढी नाका दोहोरो व्यापार र यात्रुका लागि खुल्ला भएको छ ।

तीन वर्षदेखि स्थलमार्गबाट नेपालले निर्यात गर्न नपाउँदा चीन तर्फको निर्यात लगातार घाटिरहेको थियो ।

आगामी मे १ बाट हुम्लाको यारी नाका पनि दोहोरो व्यापार र यात्रुका लागि खुल्ला गर्ने दुई देश बीच सहमती भएको छ ।

हुम्लाको नाका खुल्ला भएसँगै काठमाडौं, नेपालगन्ज हुँदै हुम्ला भएर कैलास र मानसरोवर जाने भारतीय पर्यटकको संख्या बढ्ने भएको छ ।

कोरोना महामारीदेखि कैलाल यात्रा बन्द हुँदा कयौं पर्यटन व्यवसायी मारमा परेका छन् ।

यस्तै, आगामी मे १ बाटै सिन्धुपाल्चोकको तातोपानी नाका दोहोरो व्यापार खुल्ला भए पनि हाल यात्रुलाई भने खुल्ला गरिने छैन ।

चीन सरकारले कोरोना महामारीका क्रममा शून्य कोभिड नीति लिएपछि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरेको दाबी गर्दै आएको थियो ।

प्रचण्ड प्रधानमन्त्री भए यता चीनले बिगतदेखि रोकिएका काम अगाडी बढाएको छ ।

दाहाल प्रधानमन्त्री भए लगत्तै गत पुस १२ गते चाइना रेलवे फस्ट सर्भे एण्ड डिजाइन इन्स्टिच्यूट ग्रुपका ६ जना प्राविधिक हिमालय वारपार केरुङ काठमाडौं रेलमार्गको अध्ययन गर्न काठमाडौं आएका थिए । सोही दिन ३ वर्ष देखि रोकिएको नेपालबाट हुने निर्यात खुल्ला भएको थियो ।


क्लिकमान्डु