सुन आयात ४१ प्रतिशतले घट्यो, सुन किन्दा बाहिरियो गत वर्षभन्दा ३ अर्ब धेरै
काठमाडौं । सुन आयात गत वर्षको ८ महिनाको तुलनामा ४१ प्रतिशतले घटेको छ तर सुन आयातका लागि बाहिरिएको रकम गत वर्षको सोही अवधिको तुलनामा ९ प्रतिशतभन्दा धेरै छ ।
चालू आर्थिक वर्षको आठ महिनामा ३५ अर्ब ८६ करोड रुपैयाँको कच्चा सुन तथा सुनका गहना आयात भएको छ । सुन आयातमा बाहिरिएको रकम गत वर्षको सोही अवधिको तुलनामा ९.७ प्रतिशत धेरै हो ।
समीक्षा अवधिमा गत वर्ष ३२ अर्ब ६८ करोड रुपैयाँको सुन तथा सुनका गहना आयात भएको थियो । सरकारले सुन आयातमा कोटा घटाएर एक वर्षदेखि दैनिक २० किलोबाट १० किलोमा झारेको छ । तर, सुन आयातका लागि बाहिरिएको रकम बढिरहेको छ ।
दैनिक २० किलो कोटा हुँदा पनि गत वर्षभरमा ४२ अर्ब ७० करोड रुपैयाँको सुन आयात भएको थियो । गत वर्षभन्दा सुन आयात परिमाणमा कम भए पनि मूल्यवृद्धिका कारण रकममा बढी देखिएको हो ।
सुन आयात परिमाणमा भने ठूलो ह्रास आएको छ । चालू आवको ८ महिनामा २ हजार ६ सय ३६ किलो सुन आयात भएको छ । जबकि, गत आवको सोही अवधिमा ४ हजार ४ सय ६४ किलो सुन आयात भएको थियो । समीक्षा अवधिमा सुन आयात ४१ प्रतिशतले घटेको छ ।
नेपालबाट निर्यात हुने सुनका गहनामा भने भारी गिरावट आएको छ । गत वर्षको साउनदेखि फागुनसम्ममा ३६ करोड ९१ लाखका गरगहना निर्यात भएकोमा चालू आवको सोही अवधिमा ११ करोड रुपैयाँको मात्र निर्यात भएको छ ।
सरकारले सुन आयात दैनिक २० बाट १० किलोमा झारेपछि बजारमा अभाव चर्किएको व्यवसायी बताउँछन् । दैनिक औसत ३५ किलो माग भए पनि १० किलो मात्र आयात हुँदा बजारमा चरम अभाव सिर्जना भएको उनीहरुको भनाइ छ ।
चैत लागेपछि मूल्यवृद्धिका कारण पुरानो सुन बजारमा फर्किएको र अफसिजनका कारण नयाँ सुन खरिद नभएकाले बजारमा ठूलो समस्या नदेखिए पनि अवस्था भयावह रहेको व्यवसायी बताउँछन् । त्यस्तै मन्दी कारण पनि सुनको मागमा कमी आएको छ ।
साना व्यापारी भने लामो समयदेखि सुनको अभाव झेलिरहेका छन् । ठूला व्यापारीले विभिन्न तरिकाले सुनको जोहो गरिरहे पनि साना व्यापारी पसल नै बन्द गर्नुपर्ने अवस्थामा रहेको गुनासो गर्छन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोल १ लाख ९ हजार रुपैयाँ छ ।