विद्युतीय चुलोमा आकर्षण बढ्दो, खाना पकाउने ग्यासको आयातमा कमी



काठमाडौं । नेपाली बजारमा विद्युतीय चुलोको लोकप्रियता र उपयोग बढ्दै जाँदा खाना पकाउने ग्यास (एलपीजी)को आयात ५ प्रतिशतले घटेको छ भने विद्युतीय चुलोको आयात भने १८३ प्रतिशतले बढेको छ । गत वर्षको तुलनामा एलपी ग्यासको आयात घट्दा विद्युतीय चुलोको आयात उल्लेख्य बढेको हो ।

गत आर्थिक वर्षको फागुनसम्ममा इन्डक्सन र इन्फ्रारेड गरी ५७ हजार ३२३ वटा विद्युतीय चुलो आयात भएको थियो । चालू आर्थिक वर्षमा १ लाख ४ हजार ९१२ वटा विद्युतीय चुलो आयात भएका छन् ।

समीक्षा अवधिमा चालू वर्षमा ९३ हजार ६८८ वटा इन्डक्सन र ६६ हजार ४७३ वटा इन्फ्रारेड चुलो आयात भएका छन् । त्यस्तै, अन्य किसिमका विद्युतीय चुलो ८ हजार ९१५ वटा आयात भएका छन् । फागुनसम्ममा जम्मा १ लाख ६२ हजार २३५ वटा विद्युतीय चुलो आयात भएका छन् ।

गत वर्ष फागुनसम्ममा ३६ करोड ३४ हजार ८ सय १८ किलो एलपी ग्यास आयात भएको थियो । गत वर्षको तुलनामा चालू आवमा खाना पकाउने ग्यासको आयातमा ५.३२ प्रतिशतले कमी आएको छ ।

चालू आवको फागुनसम्ममा ३४ करोड ८ लाख ५६ हजार ८०६ किलो एलपी ग्यास आयात भएको छ, जुन गत वर्षको सोही अवधिको भन्दा १ करोड ९१ लाख ७७ हजार ८१२ किलो कम हो ।

गत आवमा १ लाख ६७ हजार १७९ वटा विद्युतीय चुलो आयात भएको थियो । ३३ करोड ७३ लाख २१ हजार रुपैयाँको विद्युतीय चुलो आयात हुँदा ४ करोड ९० लाख ९२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

त्यस्तै गत आवमा ३४ करोड ८ लाख ५६ हजार ८ सय ६ किलो एलपी ग्यास आयात भएको थियो । कुल ३८ अर्ब ७२ करोड ६० लाख ९३ हजार २८२ रुपैयाँको एलपी ग्यासबाट सरकारले ७ अर्ब २२ करोड २५ लाख ७५ हजार ७२८ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

कुन-कुन देशबाट कति आयो विद्युतीय चुलो ?

चालू आर्थिक वर्षको फागुनसम्ममा सबैभन्दा धेरै चीनबाट विद्युतीय चुलो आयात भएको छ । चीनबाट ८ महिनामा १५ करोड २९ लाख ३९ हजार ६५६ रुपैयाँको ७७ हजार ४७५ वटा विद्युतीय चुलो आयात भएका छन् ।

त्यस्तै, भारतबाट ३ करोड ९२ लाख ५९ हजार रुपैयाँको १६ हजार १५५ वटा विद्युतीय चुलो आयात भएका छन् ।

चीन र भारतबाहेक मलेसियाबाट ५० वटा, कतारबाट ६ वटा र सिंगापुर, संयुक्त अरब इमिरेट्स र अमेरिकाबाट १-१ वटा विद्युतीय चुलो आयात भएका छन् ।


क्लिकमान्डु