थला पर्दै विराटनगर दुग्ध वितरण आयोजना, कर्मचारीलाई हाइसञ्चो



विराटनगर । सरकारी स्वामित्वको दुग्ध विकास संस्थाले सञ्चालन गरेको विराटनगर दुग्ध वितरण आयोजना ओरालोतिर लागेको छ । आयोजनाका लागि आवश्यक दूध संकलन गर्न नसकेर आयोजना थला पर्दै गएको हो ।

चार वर्ष अघिसम्म दैनिक औसत ७० हजार लिटर दूध संकलन गर्ने आयोजनाले अहिले दैनिक १० हजार लिटर संकलन तथा खरिद गरिरहेको छ । गत वर्ष पनि आयोजनाले दैनिक औसत २० हजार लिटर दूध किनिरहेको थियो ।

आयोजनाले कोशी प्रदेशका ७ जिल्लाबाट दूध संकलन तथा खरिद गर्ने गरेको जनाएको छ । यसरी हेर्दा आयोजनाले एउटा जिल्लाबाट दैनिक २ लिटर पनि दूध संकलन गर्दैन ।

किसानको ३ करोड भुक्तानी बाँकी

यति थोरै दूध संकलन एवं खरिद गरिरहेको आयोजनाले दूध किनेको पैसा पनि किसानलाई समयमा भुक्तान गर्न सकेको छैन । आयोजनाले किसानलाई ३ करोड रुपैयाँ दिन बाँकी छ । आयोजनाले किसानबाट दूध खरिद गरेपछि १५-१५ दिनको फरकमा भुक्तानी दिने गरेको थियो ।

आयोजनाका सूचना अधिकारी नवराज अधिकारी बजारमा पैसा छरिएको कारण उठाउन नसकेका कारण किसानलाई समयमै भुक्तान गर्न नसकिएको जवाफ दिन्छन् ।

आयोजनाले दैनिक औसत ७ हजार लिटर दूध बिक्री गर्छ । बजारमा आयोजनाको दूध तथा दुग्धजन्य पदार्थको माग अधिक छ । तर, किसानबाट दूध संकलनको कुनै गतिलो योजना आयोजनासँग छैन । आयोजनाले लत्तो छाड्दा निजी क्षेत्रका व्यवसायीले फाइदा लिइरहेका छन् ।

आयोजनाको कमजोर उपस्थितिका कारण घर-घरै डुलाएर दूध बेच्ने क्रम बढेको छ । त्यसरी बेचिने अप्रशोधित दूध स्वास्थ्यका लागि हानिकारक हुने आयोजनाका शाखा अधिकृत चूडामणि आचार्य बताउँछन् । बजारमा कम गुणस्तरको दूध उपभोक्ताको हितविपरीत बिक्री भइरहँदा पनि खाद्य तथा गुण नियन्त्रण कार्यालयले अनुगमन नगरेको उनले बताए ।

बुझेका उपभोक्ताले प्रशोधित दूध नै किन्ने गरेको पाइन्छ । तर, गुणस्तरका विषयमा खाद्यमाथि प्रश्न उठाउने आयोजनाले आफ्नो कामको स्तरमाथि समीक्षा गरेको छैन । आयोजनाले पर्याप्त दूध संकलन गर्न नसक्दा उपभोक्ताले चाहेर पनि किन्न पाउँदैनन् । ‘विराटनगरको महेन्द्र चोकमा राखिएको बिक्री केन्द्रमा आधा दिन नबित्तै दूध र दुग्धजन्य पदार्थ सक्किसकेको हुन्छ,’ उपभोक्ता राजुचन्द्र दाहालले भने ।

विराटनगर ३ शान्ति टोलका उपभोक्त श्यामल अधिकारीले पनि डीडीसीले उत्पादन गरेको दूध, दही, घिउ, नौनी खोजेर पनि नपाइने बताए । ‘निश्चित बिक्री केन्द्रमा मात्र पाइन्छ, त्यहाँ जाँदा पनि पाउने टुंगो हुँदैन । अनि बाध्य भएर निजी क्षेत्रका बिक्री केन्द्रबाट दूध तथा दूधजन्य पदार्थ खरिद गर्नुपर्ने हुन्छ,’ उनले भने ।

पाउडर प्लान्ट बन्द

विराटनगर दुग्ध वितरण आयोजनाले दूध र दुग्ध पदार्थका अलवा धुलो दूध पाउडर र मख्खन पनि उत्पादन गर्दै आएको थियो । केही वर्षयता पाउडर  र मख्खन उत्पादन बन्द छ । दूध अभावमा प्लान्ट बन्द भएका हुन् ।

प्लान्ट चलाउन दैनिक ३० हजार लिटर दूध आवश्यक पर्ने आयोजनाका शाखा अधिकृत आचार्य बताउँछन् । आयोजनासँग दूध संकलन र खरिद बढाउने कुनै योजना छैन । कर्मचारीहरु आफ्नो अकर्मण्यता ढाकछोपका लागि निजी क्षेत्रलाई दोष दिन्छन् । निजी क्षेत्रले अस्वस्थ प्रतिपर्धा गर्दा आयोजनामा दूध आउन नसकेको सूचना अधिकारी नवराज अधिकारीको भनाइ छ ।

आयोजना निमित्त प्रमुखको भरमा छ । सबै कर्मचारी जागिरे मानसिकताका छन् । हरेक पटक प्रश्न उठेपछि दूध संकलन बढाउन लागिपरेको बनिबनाउ जवाफ उनीहरु दिन्छन् । क्लिकमान्डुको प्रश्नमा आयोजनाका निमित्त प्रमुख परमेश्वर चौधरीले दूध अभावको समस्या समाधान गर्न आयोजना लागिपरेको बताए ।

उनका अनुसार बजार विविधीकरण र नयाँ उत्पादनले आयोजनाको दूध संकलनमा कमी आएको हो । केही वर्षदेखि किसानबाट उत्पादित दूधबाट छुर्पी बनाउने र विदेश निर्यात क्रम तीव्र भएको चौधरीले बताए ।

गाउँ-गाउँमा छुर्पी लघु उद्योग स्थापना गरिएका कारण आयोजनासम्म दूध आइनपुगेको उनको तर्क छ । ‘अधिकांश निजी डेरीमा पनि दूध अभाव छ,’ उनले भने, ‘अहिले प्रदेश १ मा दैनिक औसत ६० हजार लिटर दूध अभाव छ ।’

निजी दूध व्यवसायी भने आयोजनाले सस्तोमा किसानबाट दूध किनेर महँगोमा बेच्ने गरेकाले अधोगतितिर लागेको आरोप लगाउँछन् । त्यही भएर किसानले आयोजनालाई दूध नदिएर निजी डेरीलाई दिएको उनीहरुको तर्क छ ।

किसानबाट दूध संकलन गर्नेले कि निजी डेरीलाई दिन्छन् कि त घर-घरै लगेर उपभोक्तालाई बेच्छन् । खाद्यले अनुगमन नगर्दा गुणस्तरहीन दूध बिक्री भइरहेको उनीहरु बताउँछन् ।

तर, किसानबाट दूध उठाएर बेच्ने र किन्नेहरु गुणस्तरको भाषा बुझ्दैनन् । हात्तीमुढाबाट संकलन गरेको दूध विराटनगर ल्याएर बेच्दै आएका आशिक शर्माले गाईभैंसीबाट दुहेको दूध मसिनो जालीले छानेर उपभोक्तालाई बेच्ने गरेको बताए । ‘हामीमाथि मिथ्या आरोप लगाएर हाम्रो व्यवसायलाई बद्नाम गर्न खोजिएको मात्रै हो,’ उनले भने । उनी दिनमा २ सय लिटरसम्म दूध संकलन गरेर बेच्छन् ।

किसानबाट खुला दूध किनेर खाँदै आएका विराटनगर ४ का श्याम कटुवाल ३ वर्षदेखि दूध किनिरहेको र कुने खराबी नभेटिएको तर्क गर्छन् ।

हिजोआज दूधका लागि पशुपालनमा किसानको रुची पनि घट्दै गएको छ । ‘चरन छैन, भएका जग्गा प्लटिङ गरिए, घाँस छैन, दाना किन्न महँगीले सकिँदैन, अनि कसरी सकिन्छ गाईभैंसी पाल्न ?’ सुन्दर हरैंचाका किसान बिर्खबहादुर खड्का भन्छन्, ‘दानापानी किनेर खुवाउन नसकेर मैले त सबै बेचिदिएँ, ठूल्ठूला फर्म खोल्नेले किनेर लगे ।’

सरकारको निर्णयअनुसार दुग्ध विकास संस्थानले दूधको मूल्य प्रतिलिटर ८६ रुपैयाँबाट बढाएर ९७ रुपैयाँ बनाएको छ । तर, निजी क्षेत्रले प्रतिलिटर ८७ देखि ९५ रुपैयाँमै बिक्री गरिरहेका छन् । उनीहरुले किसानलाई आयोजनाले भन्दा एक-दुई रुपैयाँ बढी दिने गरेका छन् । सोही कारण पनि आफूहरुले दूध नपाएको आयोजनाको बुझाइ छ ।


क्लिकमान्डु