सहकारीको बचत फिर्ता आएन, बैंकको ब्याज तिर्न बिमा पोलिसी सरेन्डर



काठमाडौं । ‘बिमितले सहकारीमा बचतमा पैसा राखेका हुने रहेछन् । सहकारीबाट ब्याज आउने समय मिलाएर बिमा गरेको हुने रहेछ । सहकारीबाट आउने ब्याज र बचत गरेको पैसा निकाले बिमाको प्रिमियम तिर्ने योजनामा धेरै बिमित हुने रहेछन् । अहिले सहकारीमा समस्या आउन थालेपछि बचत गरेको पैसा पनि पुरै नपाउने र ब्याज पनि नआउने समस्याले गर्दा बिमा कम्पनीमा पोलिसी सरेन्डर गर्ने क्रम बढेको छ,’ नेसनल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेश खत्रीले भने, ‘सहकारीमा समस्या देखिँदा त्यसको असर बिमा कम्पनीमा पनि प्रत्यक्ष परेको छ ।’

सहकारीमा आफूले राखेको पैसाको ब्याज र बचत गरेको पैसा समयमा नपाउँदा बिमितले प्रिमियम तिर्न नसकेको उनको भनाइ छ । ‘यस्तो समयमा पश्चिम नेपालमा धेरै देखिएको छ,’ उनले भने ।

अन्य बिमा कम्पनीमा पनि यस्तो क्रम देखिएको उनले बताए । आर्थिक मन्दी र सहकारी संस्थामा देखिएको समस्या दुवैको परिणाम पोलिसी सरेन्डर भएको खत्रीको बुझाइ छ ।

सरेन्डर बढ्दा बिमा कम्पनीको नगद प्रवाहलगायतमा प्रत्यक्ष प्रभाव पर्ने उनले बताए । ‘कुनै बिमितले १५ वर्षका लागि बिमा गरेको हुन्छ भने कम्पनीले त्यही अनुसारको योजना बनाएको हुन्छ, मुद्दतिमा पनि त्यही अनुसार पैसा राखेको हुन्छ । लगानीका योजना त्यही अनुसार बनाएको हुन्छ,’ उनले भने, ‘बीचैमा पोलिसी सरेन्डर गर्दा त्यसको असर धेरै देखिन्छ । पोलिसी सरेन्डर गर्नेलाई पनि फाइदा हुँदैन ।’

अहिले पोलिसी ठूलो रकम मात्रै नभएर सानो-सानो रकमका पनि सरेन्डर हुने गरेको अन्य कम्पनीका सीईओ पनि बताउँछन् । केही बिमितले बैंकबाट लिएको कर्जाको ब्याज तिर्न पनि पोलिसी सरेन्डर गरिरहेका छन् ।

१०-१५ प्रतिशत पोलिसी सरेन्डर हुनु सामान्य भए पनि अहिलेको टे्रन्डमा पोलिसी सरेन्डर हुने हो भने कम्पनीलाई समेत क्षति हुने बिमा क्षेत्रका जानकारहरुको तर्क छ । कतिपय अवस्थामा बिमा कम्पनीका एजेन्टले वास्तविक जानकारी नगराउँदा पनि केही समयपछि पोलिसी सरेन्डर हुने गरेका छन् । त्यसले पनि समस्या निम्तिएको बिमा कम्पनीहरु बताउँछन् ।

चालू आर्थिक वर्षको ७ महिनामा ५२ हजार ६५४ बिमितले पोलिसी त्यागेका छन् । नेपाल बिमा प्राधिकरणका अनुसार माघ मसान्तसम्म बिमितले ७ अर्ब ७७ करोड २७ लाख ५५ हजार रुपैयाँको पोलिसी त्यागेका छन् । प्राधिकरणका अनुसार माघसम्ममा १६ अर्ब ४५ करोड ७१ लाख ६९ हजार रुपैयाँको प्रथम बिमाशुल्क संकलन भएको छ । प्रथम बिमा शुल्कको ४७.४६ प्र्रतिशत पोलिसी सरेन्डर भएको छ ।

साउनमा १ अर्ब ५१ करोड २७ लाख रुपैयाँ ८५ हजार रुपैयाँको ८ हजार ४२२ वटा पोलिसी सरेन्डर भएको थियो । यस्तै भदौमा १ अर्ब १४ करोड ८६ लाख ७२ हजार रुपैयाँको ८ हजार ५२ वटा र असोजमा ७७ करोड ३२ लाख २८ हजारको ६ हजार ६३ वटा पोलिसी त्याग भएको थियो ।

साउन र भदौमा १ अर्बभन्दा बढी रकमको पोलिसी सरेन्डर भएकामा असोजमा भने निकै घटेको थियो । तर, कात्तिक र मंसिरमा यो क्रम बढेको देखिन्छ । पुसमा केही कमी आएको भएपछि माघमा पुनः पोलिसी सरेन्डर गर्ने क्रम बढेको तथ्यांकले देखाएको छ ।

प्राधिकरणका अनुसार कात्तिकमा १ अर्ब ११ करोड ९७ लाख ४६ हजार रुपैयाँको ६ हजार ७४६ वटा पोलिसी सरेन्डर भएका छन् । यस्तै मंसिरमा १ अर्ब १ करोड ६२ लाख ३१ रुपैयाँको ६ हजार ७५० वटा र पुसमा ८७ करोड ४३ लाख ३० हजार रुपैयाँको ६ हजार ७८२ वटा पोलिसी सरेन्डर भएका छन् ।

माघमा यो क्रम निकै बढेको छ । बिमा प्राधिकरणका अनुसार माघ १ अर्ब ३२ करोड ७७ लाख ६३ हजार रुपैयाँको ९ हजार ८३९ वटा पोलिसी सरेन्डर भएको छ ।

यो अवधिमा सबैभन्दा बढी पोलिसी सरेन्डर नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । ७ महिनामा २ अर्ब ७४ करोड ३७ लाख ६१ हजार रुपैयाँको १८ हजार ३०९ वटा पोलिसी सरेन्डर भएका छन् ।

संख्याको हिसाबले कम पोलिसी सरेन्डर हुने कम्पनीमा महालक्ष्मी लाइफ इन्स्योरेन्स छ भने रकमको हिसाबले सन् नेपाल लाइफ छ । महालक्ष्मीको ७ महिनाको अवधिमा २ करोड ६८ लाख रुपैयाँको १८६ वटा पोलिसी सरेन्डर भएको छ भने सन् नेपालको २ करोड ६२ लाख रुपैयाँ बढीको १८९ वटा पोलिसी सरेन्डर भएको छ ।

बिमितले बिमा गर्दा आफूले प्रिमियम तिर्न सक्ने गरी मात्रै बिमालेख खरिद गर्ने हो भने पोलिसी सरेन्डरको समस्या कम हुन्छ । धेरै पोलिसी सरेन्डर भयो भने कम्पनी पनि सचेत बन्नुपर्ने विज्ञहरु बताउँछन् ।

बिमा विज्ञ डा. रविन्द्र घिमिरेले पोलिसी सरेन्डरका विषयमा बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र बिमा एजेन्ट नै गम्भीर बन्नुपर्ने बताएका छन् । ‘कतिपय सरेन्डर एजेन्टले हैसियतभन्दा बढीको बिमा गराइदिएका कारण पनि भएका हुन्छ,’ उनले भने, ‘तर कमिसनका लागि खरिद गरिने बिमा पोलिसी सबैभन्दा घातक हुन्छ, त्यस्तो पोलिसी सरेन्डरकै लागि खरिद गराइएको हुन्छ ।’

बिमा प्राधिकरणले जीवन बिमालेख निर्देशिका २०७८ जारी गर्दै बिमालेख बिमितले ३ वर्षसम्म पोलिसी समर्पण गर्न नपाउने व्यवस्था गर्‍यो । यसअघि बिमा गरेका बिमितिले १ वर्षपछि नै पोलिसी सरेन्डर गर्ने गरेका थिए । एक वर्षमा नै पोलिसी सरेन्डर गर्दा एजेन्टले समेत विकृति भित्र्याउने भन्दै तीन वर्षको समय पुर्‍याइए पनि पोलिसी सरेन्डर गर्ने क्रम भने घटेको छैन ।


सोभित थपलिया