महँगी बढेपछि घट्यो सुकुटीको व्यापार, खर्च धान्नै मुस्किलमा व्यवसायी



इटहरी । धरानको पुरानो सुकुटी बजारमा ग्राहक आउन छाडेपछि व्यवसायीहरु व्यवसाय छोड्ने तरखरमा पुगेका छन् । धरान-२ को बजारमा लामो समयदेखि सुकुटी व्यवसाय गर्दै आएका व्यवसायीहरु पछिल्लो समयमा ग्राहकको चाप घटेपछि पलायन हुने अवस्थामा पुगेका हुन् ।

नेपालमा मात्रै नभएर विदेशमा समेत लोकप्रिय मानिएको धराने सुकुटी महँगीकै कारण पछिल्लो समय बिक्री हुन छाडेको व्यवसायीहरुको भनाइ छ ।

धरान-२ का मानबहादुर तामाङ कुनै समय ३२ जना कामदार राखेर सुकुटीको व्यापार गर्थे । तर अहिले उनको परिवारलाई पुग्ने कामसमेत छैन । दैनिक ५० किलोभन्दा बढी सुकुटी बेच्ने गरेका उनले अहिले मुस्किलले ८ देखि १० किलो बेचिरहेको बताए ।

‘पहिला सस्तो भएका कारण निकै ग्राहकहरु आउँथे अहिले किनेर खाने अवस्था नभएपछि व्यापार घटेको छ’ तामाङले भने ।

उक्त सुकुटी धरानमा मात्रै नभएर बेलायत, हङकङसहित नेपाली लाहुरेहरु रहेको स्थानमा ठूलोमात्रामा निर्यात हुने गरेको थियो तर अहिले यसरी बाहिरिने सुकुटीको मात्रा निकै घटेको उनी बताउँछन् । विदेशतर्फको व्यापार त घटेको छ नै, स्वदेशमा खपत हुने मात्रा पनि ह्वात्तै घटेका कारण व्यवसायीहरु पलायन हुने अवस्थामा पुगेको बताउँछन् ।

एक होटलको अगाडि सानो ठाउँमा सुकुटी बेच्ने मानबहादुरले मासिक १० हजार भाडा तिर्छन् । व्यापार नहुँदा भाडा तिर्नसमेत समस्या धौधौ पर्ने गरेको उनी बताउँछन् ।

लामो समयदेखि गर्दै आएको व्यवसाय ह्वात्तै घट्नुको पछाडि महँगी नै मुख्य कारण रहेको विगत १० वर्षदेखि धरानको सोहि बजारमा सुकुटी व्यवसाय गर्दै आएकी सुशिला तामाङको भनाइ छ ।

महँगी बढेपछि राँगाको मूल्य बढेको छ । जसका कारण मासु र त्यसँग सम्बन्धित कामदारको मूल्यसमेत बढेको छ । उत्पादन लागत बढ्दा सुकुतीको मूल्यसमेत त्यही अनुपातमा बढेको छ ।

कुनै समय २ सयदेखि २ सय ५० रुपैँया पाउ पर्ने सुकुटीको मूल्य अहिले प्रतिकेजी १७ सयदेखि २३ सयसम्म पर्ने गरेको छ । प्रतिकेजी २३ सय पर्ने सुकुटी भने धेरै विदेश पठाउने गरेको सुशिला बताउँछिन् । तर, विदेश जाने सुकुटीको मात्रा पछिल्लो समय घटेको उनको भनाइ छ ।

सुकुटीको व्यापार घटेपछि धरानमा व्यवसायीको संख्या पनि घटेको छ । भानुचोकको घण्टाघर पछाडि पहिला करिब ४० जना सुकुटी व्यापारी हुने गरेको भए पनि अहिले १० देखि १२ जनाले मात्रै सुकुटी बेच्ने गरेका छन् । राँगा उत्पादन गर्नेदेखि लिएर मासु व्यवसायमा लाग्ने सबै परनिर्भर हुँदै गएपछि मँहगी बढेको व्यवसायीहरुको भनाइ छ ।


क्लिकमान्डु