लघुवित्तको सेयर सधैं किन माथि ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन १० गते लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन २०७८ परिमार्जन गरी १५ प्रतिशतभन्दा बढी लाभांश बाँड्न सर्त राख्यो ।

त्यसअघि २०७८ मंसिर ७ गते पनि एकीकृत निर्देशन २०७८ जारी गर्दै २० प्रतिशतभन्दा बढी लाभांश बाँड्न सर्त राखिएको थियो।

सर्तअनुसार १५ प्रतिशतभन्दा बढी लाभांश प्रस्ताव गरे त्यसभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।

लघुवित्तले नाफाका लागि अस्वस्थ प्रतिस्पर्धा गरेको र ऋणीको शोषण गरेको निष्कर्षमा पुगेको राष्ट्र बैंकले नियमनका अरु प्रक्रिया अपनाउनुभन्दा लाभांशमाथि नै हस्तक्षेप गर्ने नीति लियो ।

लाभांशमा कडाइ गर्दै २० प्रतिशतमा झार्ने यसअघिको नीतिको नतिजाबारे केन्द्रीय बैंकले कुनै अध्ययन गरेन । फागुन १० गते हचुवामा १५ मा झार्ने निर्णय लियो ।

त्यसको प्रत्यक्ष प्रभाव सेयर लगानीकर्तामा पर्यो । लगानीकर्ता अतालिए । बिहीबार माइक्रोफाइनान्स उपसमूह झन्डै १० प्रतिशतले घट्यो । नेप्सेमा सूचीकृत सबै लघुवित्त कम्पनीको सेयर घट्यो । ३७ कम्पीको सेयरमा त नकारात्मक सर्किट नै लाग्यो।

राष्ट्र बैंकको नीतिगत व्यवस्था यथावतै छ । तर, आइतबार अधिकांश लघुवित्तको सेयर मूल्य बढेको छ । माइक्रोफाइनान्स उपसमूह २.७८ प्रतिशतले उकालो लागेको छ ।

लघुवित्तमा के छ त्यस्तो ?

कम्पनीको सेयर मूल्य बढ्नुमा केही कारण हुन्छन् । सेयर बजार विश्लेषकहरु राम्रा कम्पनीको सेयर किन्न सुझाव दिन्छन् ।
राम्रा कम्पनी भन्नाले वित्तीय अवस्था राम्रो भएको, नाफा धेरै गर्ने र धेरै लाभांश दिने, सञ्चालक समितिमा राम्रा मान्छे भएको, नियमित साधारण सभा गर्नेलगायत सूचक पर्छन् ।

तर, बजारमा त्यसरी मात्र सेयर किनबेच हुँदैन । थोरै परिमाणमा सेयर भएका कम्पनी राम्रा हुनै पर्दैन । चलखेल गरेर बढाइन्छ । चलखेल भन्नाले इन्साइडर ट्रेडिङ, पम्प एन्ड डम्प, सर्कुलर ट्रेडिङ, कर्नरिङलगायत पर्छन् ।

कुनै पनि कम्पनी परीक्षण भएकै हुँदैन । आईपीओ खुल्छ । दोस्रो बजारमा कारोबार सुरु हुन्छ । तर, मूल्य बढेर प्रतिकित्ता ४–५ हजार पुगिसक्छ । कम्पनीले कमाउँछ र प्रतिफल दिन्छ भन्ने आशामा मूल्यमा बढ्छ कि अरु नै कारण हुन्छन्, कसैले खोजी गर्दैन ।

रातारात नाफा कमाउन त्यस्ता कम्पनीको सेयर रोजाइमा पर्छन् । हल्ला सुनेर बजार प्रवेश गर्नेहरु त्यहीँ संकटमा पर्छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं लघुवित्त वित्तीय संस्था नियमन विभाग प्रमुख रेवती नेपाल अहिले लघुवित्तमा ‘केही सेयरका खेलाडी पसेर’ समस्या जटिल बनाउन लागेको तर्क गर्छन् ।

सेयर बजार विश्लेषक रविन्द्र भट्टराई अन्य कम्पनीको तुलनामा लघुवित्त कम्पनीको नाफा र लाभांश राम्रो भएकाले लगानीकर्ता त्यता आकर्षित भएको बताउँछन् । ‘कारण त्यति मात्र हुँदैन,’ उनी भन्छन्, ‘लघुवित्तको सेयर सानो परिमाणमा छ, धेरैमा छरिएको हुन्छ, सक्रिय लगानीकर्ता थोरै हुन्छन् तर सेयर भर्नेहरु ३० लाख हाराहारी हुन्छन्, बजारमा माग बढी भएर पनि मूल्य उचालिएको हो ।’

गत वर्षको नाफाबाट २० प्रतिशत लाभांश बाँडेको एभरेस्ट बैंकको सेयर आइतबार प्रतिकित्ता ५ सय १२ रुपैयाँमा अन्तिम कारोबार भयो । जबकि, २१.५ प्रतिशत लाभांश बाँडेको डिप्रोक्स लघुवित्तको सेयर आइतबार प्रतिकित्ता ८ सय ३९ रुपैयाँमा अन्तिम कारोबार भयो ।

त्यस्तै १०.५२ प्रतिशत लाभांश बाँडेको एनएमबी लघुवित्तको आइतबारको अन्तिम सेयर मूल्य ६ सय २० रुपैयाँ हुँदा १३.६ प्रतिशत बाँडेको ग्लोबल आईएमई बैंकको आइतबारको अन्तिम सेयर मूल्य १ सय ९५ रुपैयाँ छ ।

समान प्रतिफल दिने कम्पनीको यी केही उदाहरण मात्र हुन् । दोस्रो बजारमा एभरेस्ट बैंकको साधारण सेयर ४ करोड ३६ लाख कित्ता छ भने डिप्रोक्स लघुवित्तको ६७ लाख ९८ हजार कित्ता छ । त्यस्तै ग्लोबल आईएमई बैंकको १७ करोड ४४ लाख कित्ता छ भने एनएमबी माइक्रोफाइनान्सको १९ लाख ६७ हजार कित्ता छ ।

सबैभन्दा कम प्रतिफल दिएको गुराँस लघुवित्तको आइतबारको अन्तिम सेयर मूल्य ७ सय ३२ रुपैयाँ प्रतिकित्ता छ । गुराँसले ४ प्रतिशत हाराहारी लाभांश दिएको छ । ४ प्रतिशत हाराहारी प्रतिफल दिने वाणिज्य बैंकको सेयर मूल्य अहिले २ सय हाराहारी मात्र छ ।

वाणिज्य बैंकहरुमध्ये अब्बल मानिने नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ३० प्रतिशत प्रतिफल दिएको छ । आइतबारको नबिल बैंकको अन्तिम सेयर मूल्य ६ सय ६३ रुपैयाँ प्रतिकित्ता छ । नबिलको साधारण सेयर १० करोड ८२ लाख कित्ता छ ।

तर, गत वर्षको नाफाबाट २० प्रतिशत हाराहारी मात्रै लाभांश बाँडेका साधना लघुवित्त, मेरो माइक्रोफाइनान्स, फस्र्ट माइक्रोफाइनान्स, नयाँ सारथि, इन्फिनिटी, ग्लोबल आईएमई, कालिका र लक्ष्मी लघुवित्तलगायतको सेयर मूल्य त्यही बराबर र त्योभन्दा पनि माथि छ ।

साधनाको ७ सय २७, मेरोको ६ सय ४८, फस्र्टको ६ सय १२, नयाँ सारथिको ७ सय ९५, इन्फिनिटीको ७ सय ८, ग्लोबल आईएमई १ हजार, कालिका ८ सय २७ र लक्ष्मी लघुवित्तको आइतबारको अन्तिम मूल्य ९ सय १९ रुपैयाँ प्रतिकित्ता थियो ।

साधनाको १२ लाख ४२ हजार, मेरोको ४० लाख ३९ हजार, फस्र्टको ५६ लाख २३ हजार, नयाँ सारथिको १४ लाख ८६ हजार, इन्फिनिटीको १६ लाख १६ हजार, ग्लोबल आईएमई १६ लाख ५७ हजार, कालिका ११ लाख १० हजार र लक्ष्मी लघुवित्तको साधारण सेयर ११ लाख ५२ हजार कित्ता छ ।

समान प्रतिफल दिएका, खराब कर्जा कम भएका र विश्वासिला कम्पनीको सेयर मूल्यभन्दा अस्वस्थ प्रतिस्पर्धाका कारण सबैभन्दा बढी आलोचित लघुवित्तको सेयर मूल्य उच्च हुनुले धेरै आशंका गर्ने प्रशस्त ठाउँ दिएको छ ।

लघुवित्तको सेयर मूल्य उच्च हुनुको कारण व्यवसाय र प्रतिफल मात्र नभएर सानो संख्यामा सेयर हुनु पनि हो । बजारमा अस्वाभाविक चलखेल गर्नेहरुका लागि लागि लघुवित्त राम्रो मैदान बनिरहेको छ ।

प्रतिकित्ता २ हजारभन्दा धेरै

सेयर बजार परिसूचक गत वर्ष २०७८ भदौ २ गतेको उच्च विन्दु ३१ सय ९८ बाट करिब ३७ प्रतिशत तल छ । बजार ४१ प्रतिशतसम्म घटेको थियो । तर, कतिपय लघुवित्त कम्पनीको सेयर अहिले पनि प्रतिकित्ता २ हजार रुपैयाँभन्दा माथि छ ।

जाल्पा सामुदायिक र नेस्डो समृद्धको सेयर प्रतिकित्ता २७ सयभन्दा धेरै छ । गत वर्षको नाफाबाट जाल्पाले लगानीकर्तालाई सर्वाधिक ७६.८५ प्रतिशत लाभांश दिएको थियो । तर, नेस्डोले लाभांश दिएकै छैन ।

दोस्रो बजारमा जाल्पाको ५ लाख २२ हजार कित्ता र नेस्डोको ८ लाख २८ हजार कित्ता मात्र सेयर छ । जाल्पाले बढी प्रतिफल दिएका कारण मूल्य उच्च भएको मान्ने हो भने अहिलेसम्म प्रतिफल नै नदिएको नेस्डोको सेयर मूल्य कसरी त्यति धेरै छ ?

यी केही तथ्यांकले प्रतिफलका आधारमा मात्र कम्पनीको सेयर किनबेच भइरहेको छैन भन्ने स्पष्ट पार्छ । पहिलो कम सेयर संख्या र दोस्रो धेरै लगानीकर्ताको हातमा छरिएको सेयरको माग बढ्दा मूल्य बढेको अनुमान गर्न गाह्रो छैन ।

त्यसबाहेक बजारमा अवाञ्छित चलखेल गरेर यस्ता कम्पनीको मूल्य उचाल्न सक्ने सम्भावना उत्तिकै हुन्छ । लगानीकर्ताले मूल्य उतारचढावको बहावसँगै हेलिन जानेन भने ठूलो नोक्सानी व्यहोर्ने सम्भावना रहन्छ ।


सोभित थपलिया