हरित उर्जाको बजार विस्तारीकरणका लागि इपानले चैतमा पावर समिट गर्ने



काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले पावर समिट २०२३ आयोजना गर्ने भएको छ । समिट आगामी चैत १४ र १५ गते आयोजना हुने छ ।

‘हरित उर्जाको बजार विस्तारीकरण’ भन्ने नाराका साथ काठमाडौंमा आयोजना हुने आठौं संस्करणको समिटमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरु, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण तथा वितरण कम्पनीहरू, परामर्शदाता कम्पनीहरू, विक्रेताहरू, थिंक ट्याङ्कहरू र अन्य ऊर्जा क्षेत्रका सरोकारवालाहरू गरी करिब ८०० जना सहभागी हुने इपानले जनाएको छ ।

हरित ऊर्जाको बजारका पक्षहरूमा ध्यान केन्द्रित गर्ने उपयुक्त र सही समय भएको भन्दै इपानले यसले हरित ऊर्जाको बजार फराकिलो बन्न सक्ने अपेक्षा गरेको जनाएको छ ।

‘नेपालमा कोइला वा पेट्रोलियम पदार्थको उपलब्धता छैन । तर जलबिद्युत, सौर्य, वायु र बायोमास लगायतका हरित ऊर्जाको ठूलो स्रोत छ । पछिल्लो दशकमा नेपालमा हरित ऊर्जाको उत्साहजनक उत्पादन भएको छ । उत्पादित ऊर्जाको लागि अव मागलाई तीब्र बनाउनु पर्ने अवस्थाको सिर्जना भएको छ । यसका लागि हामीले आन्तरिक खपत र बाह्य बिद्युत व्यापारमा ध्यान केन्द्रित गर्न जरुरी छ । यसले मात्र हरित ऊर्जाको बजार फराकिलो बन्न सक्छ’ इपानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

पेट्रोलियम पदार्थबाट हरित ऊर्जामा पूर्णरूपान्तरण गर्नु भनेको नेपाली अर्थतन्त्रलाई वास्तबिकरुपमा आत्मनिर्भर बनाउनु रहेको उल्लेख गर्दै इपानले यो समिटले उर्जा बरजारको लागि ढोका पहिचान गर्न र त्यसलाई खोल्न मार्ग प्रशस्त गर्ने अपेक्षा राखेको छ।

‘पावर समिट २०२३ हरित ऊर्जा क्षेत्रमा संलग्न सबैका लागि सन्जाल बनाउने र एक अर्काबाट सिक्ने र अनुभव आदान-प्रदान गर्ने ठूलो अवसर हो । यो प्लेटफर्मले ब्यापारिक र ब्यवसायिक सम्बन्त्रलाई प्रगाढ बनाउने, बिद्युत ऊर्जाको विकास र बजार निर्माणका लागि धेरै सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ भने ऊर्जाको व्यापार गर्ने अवसर मिल्नेछ । यो पावर समिटमा भएको छलफलले नेपालको हरित ऊर्जाको बजारका लागि ढोकाहरू पहिचान गर्न र त्यसलाई खोल्नको लागि मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ’ इपानको भनाइ छ ।


क्लिकमान्डु