नेपालगञ्ज विमानस्थलमा ‘कन्भेयर बेल्ट’ प्रणाली लागू
नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा अत्याधुनिक ‘ब्यागेज ह्यान्डलिङ सिस्टम’ अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको छ ।
विमानस्थलको सेवा सुविधा वृद्धि गरेर यात्रुलाई बढीभन्दा बढी सहज सेवा प्रदान गर्ने उद्देश्यले नेपालगन्ज विमानस्थलमा यो प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख सुरेश खनालले बताए ।
उनका अनुसार अब विभिन्न ठाउँबाट नेपालगञ्ज आउने यात्रुको सामानलाई छिटोछरितो तरिकाले उपलब्ध गराउन सकिनेछ । दुई करोड रुपैयाँ बढीको लागतमा विमानस्थलको आगमन कक्षमा ‘कन्भेयर बेल्ट’ प्रणाली जडान गरिएको हो ।
यसअघि आगमन कक्षमा आएको यात्रुको सामानलाई कर्मचारीले हातले वितरण गर्दा निकै समय लाग्ने र झन्झटिलो समेत रहेको थियो । यो सेवा सञ्चालन भएपछि अब यात्रु र एयरलाइन्स दुवैलाई सामान लिन दिन सहज भएको छ ।
नेपालगञ्ज विमानस्थलको आगमन कक्षमा जडान गरिएको कन्भेयर बेल्टको लम्बाइ ४०.६ मिटर र लगेज हैन्डलिङ क्षमता प्रतिघण्टा दुई हजार चार सयदेखि तीन हजारसम्म रहेको छ ।
नेपालका विभिन्न आन्तरिक विमानस्थलमा यात्रुको सेवा सुविधा अभिवृद्धि गर्ने योजनाअनुरूप पहिलो चरणमा नेपालगञ्ज, विराटनगर र धनगढीमा ब्यागेज ‘ह्यान्डलिङ सिस्टम’अन्तर्गत ‘कन्भेयर बेल्ट’ प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।