७० अंक ल्याउँदा लाइसेन्स दिनु सट्टा एसईई पास गरेका सबैलाई दिए हुन्छ: सांसद पाण्डे



काठमाडौं । प्रतिनिधि सभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले यातायात व्यवस्था विभागले जारी गरेको सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ गलत भएको बताए ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद पाण्डेले विभागले जारी गरेको सो निर्देशिका अनुसार नेपालमा दुई खालका लाइसेन्स प्रयोगमा आउने भन्दै त्यसको बिरोध गरेका हुन् । यस निर्देशिका अनुसार मोटरसाइकल, स्कुटर, मोपेड, कार, जिप, डेलिभरी भ्यानका लागि ७० नम्बर ल्याउँदा चालक हुन पाउने र ट्रक, बस, ट्याङ्कर, स्काभेटर, डोजर आदिलाई १०० नम्बर ल्याउनुपर्ने प्रावधान हुँदा दुई खालको लाइसेन्स हुने उनको भनाइ छ । त्यसो हुनु गलत भएको सांसद पाण्डेको भनाइ छ ।
यस्तो प्रावधान हुनुले ४० प्रतिशत राजश्व घटाउने, कर्मचारीको तजबिजी अधिकार बढ्ने, परिक्षाका लागि कर्मचारी र लागत बढ्ने हुँदा खर्च बढ्दै जाने उनको भनाइ छ ।

‘यो कुराले सरकार गलत बाटोमा छ र यदी लाइसेन्स दिनै मन भए यो खालको मापदण्ड परिवर्तन गर्नुपर्छ । ७० नम्बरका लाई नै लाइसेन्स दिन मन भए पनि रातो बत्ति बाल्दाबाल्दै गाडी क्रस गर्न पाउने व्यवस्था हुनु हुँदैन’ उनले भने, ‘यदी यस्तै हुने हो भने गाउँमा नागरिकता टोली आउँदाखेरी टेबल राखेर नागरिकता बाँडेको झैँगरी बाँडिदिए भइगयो नि त । एसइई पास गरेको विद्यार्थीलाई एउटा लाइसेन्स पनि लिएर जाउँ सँगसँगै यो सर्टिफिकेट सँगसँगै लिएर जाउँ भने भइगयो नि । किन यो ट्रायल गर्नुपर्‍यो ? किन यो परीक्षा गर्नुपर्‍यो ?’

उनले यस प्रावधानले नेपालको लाइसेन्स अन्तर्राष्ट्रिय स्तरमा अमान्य हुनसक्ने बताए ।


क्लिकमान्डु