‘उपकार’ ब्राण्डको खाद्यान्न बेच्ने कम्पनीले एकै वर्षमा गर्यो ३ अर्बको व्यापार



काठमाडौं । नेपाली बजारमा ‘उपकार’ ब्राण्डको खाद्यान्न बेच्ने कम्पनीले एकै वर्ष ३ अर्ब बढीको व्यापार गरेको छ ।

शिखर अर्गनाइजेशन प्रालिद्वारा सञ्चालित शिखर अर्गनाइजेशन लिमिटेड र शिव शिखर एग्रो प्रालिले सन् २०२२ मा ३ अर्ब १७ करोड ३० लाख रुपैयाँको व्यापार गरेको हो ।

शिखर अर्गनाइजेशनको दुई कम्पनीमध्ये एउटा कम्पनीले खाद्यान्न प्रशोधन गर्दै आएको छ भने अर्को कम्पनीले प्रशोधित खाद्यान्न तथा आयातित खाद्यान्न उपकार ब्राण्डबाट बजारमा बिक्री गर्दै आएको छ ।

कम्पनीअनुसार शिव शिखर एग्रो प्रालिले सन् २०२२ मा २ अर्ब ४६ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा २ अर्ब २७ करोड ८० लाख रुपैयाँ र सन् २०२० मा २ अर्ब ९ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१३ मा स्थापना भएको कम्पनीले चामल र कृषिजन्य वस्तु दाल, चिनी, पिठो, चिया, मसला, चकलेट र एग्रो मेसिनरी जस्तै टिल्लर, वाटर पम्पसहित अन्य विभिन्न प्रकारका मेशिन बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ४५ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १५ करोड ५४ लाख रुपैयाँ अर्थात् डबल बी र अल्पकालीन कर्जाका लागि १ अर्ब २९ करोड ४६ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ गरेको छ ।

विभिन्न प्रकारका खाद्यान्न बिक्री गर्दै आएको कम्पनीको व्यापार बजारको मागअनुसार हुन्छ । कम्पनीले विभिन्न देशबाट खाद्यान्न आयात गर्दै प्रशोधन गरी बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले भारत, क्यानाडा, टर्की र अर्जेन्टिनाबाट कच्चा खाद्यान्न आयात गरेको जनाएको छ ।

कम्पनीअनुसार सन् २०२२ मा सन् २०२१ को तुलनामा ८.०५ प्रतिशतले आम्दानी बढेको उल्लेख छ । त्यस्तै, कम्पनीले सन् २०२२ मा १ करोड १० लाख रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले सन् २०२१ मा ७० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको देशभर १६ वटा शाखा छ । कम्पनीको अध्यक्ष केदारनाथ शर्मा हुन् । उत्पादन र व्यापार क्षेत्रमा २७ वर्ष अनुभव भएका शर्मा नटराज एग्रो र गार्डेन मार्टका पनि अध्यक्ष हुन् ।

त्यसैगरी, शिखर अर्गनाइजेशनकै अर्को खाद्यान्न प्रशोधन गर्ने शिखर अर्गनाइजेशन कम्पनीले सन् २०२२ मा ७१ करोड १० लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको छ । कम्पनीले सन् २०२१ मा ४७ करोड ५० लाख रुपैयाँ र सन् २०२० मा ४२ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१७ मा स्थापना भएको कम्पनीले दाल, चामल, गहुँ र अन्य कृषिजन्य वस्तु प्रशोधन गर्दै आएको छ । उक्त कम्पनीबाट प्रशोधन गरेको वस्तु उपकार ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४२ करोड रुपैयाँ अर्थात् बी माइनस र अल्पकालीन कर्जाका लागि ५८ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

केदारनाथ शर्मासहित सात जना सञ्चालक समिति रहेको कम्पनीको व्यापार सन् २०२२ मा सन् २०२१ को तुलनामा ५० प्रतिशतले बढेको छ । कम्पनीले सन् २०२२ मा ०.८४ प्रतिशत नाफा कमाएको छ । सन् २०२१ मा ०.९३ प्रतिशतले नाफा कमाएको थियो ।

कम्पनीले प्रशोधन तथा आयातित खाद्यान्न आफ्नै शाखा र देशभर रहेको डिपार्टमेन्ट स्टोरहरुमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीले विशेषगरी क्यानाडा र म्यानमारबाट दाल आयात गर्दै आएको छ ।


क्लिकमान्डु