भारतीय विदेश सचिव क्वात्रा काठमाडौंमा, यस्तो छ राजनीतिक भेटवार्ताको कार्यक्रम



काठमाडौं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएका छन् ।

दुई दिने नेपाल भ्रमणका क्रममा उनी आज (सोमवार) बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण भएका हुन् ।

त्रिभुवन विमानस्थलमा क्वात्राको स्वागतका लागि परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव लगायतको उपस्थिति थियो ।

सचिव पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका क्वात्राले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, राजनीतिक दलका प्रमुख र उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

आज र भोली उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ । सचिव क्वात्रा आज नै नेपाल—भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुने छन् ।

सो छलफल पछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित लञ्च कार्यक्रममा सहभागी हुने छन् । सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ ।

लञ्चपछि भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री विमला राईसँग द्वि–पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण हुने छ ।

उनले सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । विदेश सचिव क्ववत्राले मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट भेट गर्ने छन् भने मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


क्लिकमान्डु