एनआइसी एशियालाई ५० करोड र हिमालयनलाई १२ करोड ब्याज फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआइसी एशिया बैंकलाई ५० करोड र हिमालयन बैंकलाई १२ करोड रुपैयाँ ग्राहकको खातामा फिर्ता गर्न निर्देशन दिएको छ ।

एनआइसी र हिमालयलले ऋण दिँदा गरेको सम्झौता विपरित असूल गरेको ब्याज ग्राहकको खातामा फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

एनआइसी एसिया र हिमालयल बैंकले नियमविपरित असूल गरेको ब्याज रकम फिर्ता गर्ने प्रक्रिया शुरु गरेपछि राष्ट्र बैंकले दुबै बैंकलाई साधारणसभा गर्ने अनुमति दिएको थियो ।

यसअघि राष्ट्र बैंकले १८ बैंकलाई नियम विपरित असूल गरेको ब्याज फिर्ता गर्न निर्देशन दिइसकेको छ ।

बैंकहरुले सम्झौता विपरित ब्याज असुल गरेको उद्योगी व्यवसायीको गुनासोपछि राष्ट्र बैंकले गत साउन २० गते बैंक तथा वित्तीय संस्थालाई २०७८ असारदेखि २०७९ असार मसान्तसम्म प्रवाह गरेको कर्जाको मासिक ब्याजदर सम्बन्धी विवरण १० दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको थियो ।

उक्त विवरण अध्ययनपछि राष्ट्र बैंकले गत असोज ११ गते बैंक तथा वित्तीय संस्थालाई नियम विपरित असूल गरेको ब्याज रकम ऋणीको खातामा फिर्ता गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले मंसिर १२ गते वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई पत्र लेख्दै गत कात्तिक मसान्तसम्म कति ऋणीको खाता नियम विपरित असुल गरिएको ब्याज फिर्ता गरियो र ब्याज फिर्ता गर्न के कति रकम छुट्याइएको छ ? भन्ने विषयमा १५ दिनभित्र विवरण पेश गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकले ऋणीको नाम, बढी असूल गरिएको ब्याज रकम, खाता नम्बर, कर्जाको प्रकार ब्याज फिर्ताका लागि छुट्याइएको रकम र गत आर्थिक वर्षमा ब्याज फिर्ता गरिएको रकम लगायतका विषयमा विवरण दिन बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई निर्देशन दिएको थियो ।

राष्ट्र बैंकका अनुसार नियम विपरित सबै भन्दा बढी ब्याज असूल गर्ने बैंक मध्य पहिलो स्थानमा एनआइसी एशिया बैंक रहेको छ । त्यसैगरी, दोस्रो धेरै रकम असुल गर्ने बैंक मध्य दोस्रो स्थानमा रहेको नबिल बैंकलाई नियम विपरित असुल गरेको ४६ करोड ५० लाख रुपैयाँ ऋणीको खातामा फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।

साधारणसभा गर्न स्वीकृति पाएका बैंकहरु मध्ये स्टयाण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम रकम फिर्ता गर्नु परेको छ । चार्टर्डले सहवित्तीयकरणको लगानीमा बढी ब्याज लिएको बैंकका एक अधिकारीले जानकारी दिए । उनकाअनुसार बैंकले गत वर्ष नियम विपरित असूल गरेको ४० लाख रुपैयाँ फिर्ता गर्नु परेको छ ।

धेरै रकम फिर्ता गर्नु पर्ने बैंकमध्ये तेस्रो नम्बरमा रहेको ग्लोबल आईएमई बैंकले ४५ करोड रुपैयाँ फिर्ता गर्न लागेको छ ।

यस्तै, सिद्धार्थ बैंकले ३२ करोड ५० लाख रुपैयाँ, बैंक अफ काठमाडौंले २६ करोड रुपैयाँ, कुमारी बैंकले २० करोड रुपैयाँ, सनराइज बैंकले १९ करोड रुपैयाँ, एनएमबी बैंकले १६ करोड रुपैयाँ, प्रभु बैंकले १५ करोड रुपैयाँ, एभरेष्ट बैंकले १५ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट बैंकले १२ करोड रुपैयाँ, सिटिजन्स बैंकले १२ करोड रुपैयाँ धमाधम फिर्ता गरिरहेका छन् ।

त्यसैगरी, मेगा बैंकले ११ करोड रुपैयाँ, सानिमा बैंकले ११ करोड रुपैयाँ, लक्ष्मी बैंकले ८ करोड रुपैयाँ, एनसीसी बैंकले ७ करोड ७० लाख रुपैयाँ, सेन्चुरी बैंकले ७ करोड रुपैयाँ र एसबीआई बैंकले ६ करोड ७५ लाख रुपैयाँ नियम विपरित असूली गरेको रकम धमाधम फिर्ता गरिरहेका छन् ।


क्लिकमान्डु